arrow

जनता समाजवादी न यता, न उता

शीर्ष नेताहरूको बैठक निष्कर्षविहीन

logo
आकाश शर्मा,
प्रकाशित २०७७ चैत ३ मंगलबार
jaspa-janta-samajbadi-party.jpg

काठमाडौँ। नयाँ सरकार निर्माणको विषयमा जनता समाजवादी पार्टी न यता न उताको भएको छ। पार्टीको लाइन तय गर्न सोमबारदेखि शीर्ष नेताहरूको बैठक बसिरहेको छ । तर, बैठक निष्कर्षमा पुग्न सकेको छैन।

आगामी ५ गते कार्यकारिणी समितिको बैठक बोलाइएको छ। उक्त बैठकले पार्टीको संस्थागत लाइन तय गर्ने पार्टी अध्यक्ष उपेन्द्र यादवले बताए। पार्टी दुई कित्तामा बाँडिए पछि सम्भावित फुटलाई रोक्न पार्टीको दोस्रो तहका सांसदहरू सक्रिय भएका छन्। आइतार १३ जना युवा सांसदहरूले छुट्टै भेला गरी पार्टीलाई सम्भावित फुटबाट रोक्नु पर्ने बताए। पार्टीले संस्थागत लाइन लिइसकेकोमा पार्टीका दोस्रो तहका नेताहरू चिन्तित भएका छन्। ‘पार्टीले जे लाइन लिन्छ, त्यो संस्थागत होस भन्ने हाम्रो चासो र चिन्त हो’१३ जना सांसदको भेलाको अगुवाइ गरेको प्रमोद साहले बताए।

पार्टी अहिले दुई कित्तामा बाँडिएको छ। एउटा कित्ताको नेतृत्व महन्थ ठाकुर, र राजेन्द्र महतोले गरेका छन्। उनी प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट मानिन्छन्। अर्को कित्ताको नेतृत्व उपेन्द्र यादवले गरेका छन् । उनी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग निकट मानिन्छन्। उपेन्द्रलाई बाबुराम भट्टराई ले साथ दिएका छन् । बाबुराम र उपेन्द्र कुनै पनि अवस्थामा ओलीसँग मिल्ने पक्षमा छैनन् । तर महन्थले दाहाललाई मन पराउँदैनन्।

जसपाका धेरैजसो नेताहरूले यस पटक सरकारको नेतृत्व आफैले गर्नु पर्ने दाबी गर्दै आएका छन् । नेतृत्व गर्ने अवसर आएमा कसले गर्ने भन्ने विषयमा भने नेताहरू दुई लाइनमा बाँडिएका छन् । धेरैजसोले महन्थको नाम लिने गर्छन् तर महन्थलाई रोक्न यादव र भट्टराई लागिपरेका छन्।

सरकारको नेतृत्व गर्न अवसर जसपाले पाएन भने कसको नेतृत्वमा सरकारमा जाने भन्ने विषयमा पनि जसपाका नेताहरू दुई कित्तामा बाँडिएका छन्। महन्थ र राजेन्द्र महतो निकट नेताहरू नेपाली काँग्रेस र एमालेसँग मिलेर सरकार बनाउनु पर्ने पक्षमा छन् भने बाबुराम र उपेन्द्र निकट नेताहरू नेपाली काँग्रेस,माओवादी केन्द्र र जसपा मिलेर सरकार बनाउनु पर्ने अडानमा छन् ।  दुवै पक्षले जसपालाई मनाउने प्रयास गरेका छन्।

यता, नयाँ समीकरण बनाउन प्रधानमन्त्रीले जसपालाई मनाउन निरन्तर प्रयास गरिरहेका छन्। यसकोलागि प्रधानमन्त्रीले जसपाका अध्यक्ष ठाकुरसँग पटक पटक भेट गरेका छन्। जसपाका स्रोतका अनुसार यस बिचमा ठाकुरले एक्लै र सामूहिक रूपमा प्रधानमन्त्रीलाई धेरै पटक भेटेका छन्। यसअघि, ठाकुरले पार्टीलाई समेत थाहा नदिई नयाँ समीकरण बनाउन प्रधानमन्त्री पक्षसँग कार्यदल गठन गरेका छन्। कार्यदलमा ठाकुरले आफू निकट दुई नेता सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई राखेका छन्।

जसपासँग हाल ३४ सांसद छन्। तीमध्ये दुई जना सांसद हरिनारायण रौनियार र रेसम चौधरी निलम्बनमा परेका छन्। एमाले र जसपा मिलेमा नयाँ सरकार बनाउनको लागि पर्याप्त सङ्ख्या पुग्छ। त्यसैले प्रधानमन्त्रीले ठाकुरलाई मनाउन प्रयास सुरु गरेका हुन्–स्रोतले भन्यो। जसपा स्रोतका अनुसार जसपाले राख्दै आएको मागमा प्रधानमन्त्री सकारात्मक र  लचिलो छन्।

रेसम चौधरीलाई रिहाइ गर्न वातावरण बनाउनु पर्ने, लाल आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु पर्ने, संविधान संशोधन गर्नु पर्ने, मधेस आन्दोलनको क्रममा लगाइएका झुटा मुद्दा खारेज हुनु पर्ने, घाइतेहरूको उपचार गर्नु पर्ने लगायतका मुद्दा जसपाले उठाउँदै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ