arrow

च्याम्पियन्स लिग फुटबलः रियाल मड्रिड र म्यानचेस्टर सिटी क्वार्टरफाइनलमा

logo
प्रकाशित २०७७ चैत ४ बुधबार
real-city.jpg

काठमाडौं । स्पेनिश क्लब रियाल मड्रिड र इङ्गलिश प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी क्वार्टरफाइनलमा पुगेका छन् । मंगलबार राति भएका अन्तिम १६ को दोस्रो लेगको नतिजापछि मड्रिड र सिटी क्वार्टरफाइनलमा पुगेका हुन् । 

रियालले मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा इटालियन क्लब एट्लान्टालाई ३–१ गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा पुगेको हो ।

घरेलु मैदानको जितसँगै रियाल समग्रमा ४–१ को जितसहित अन्तिम आठमा पुगेको हो । पहिलो लेगमा रियालले १–० को जित निकालेको थियो ।

दोस्रो लेगमा रियाललाई जित दिलाउन करिम बेन्जिमा, सर्जियो रामोस र मार्को एसेन्सियोले एक एक गोल गरे । एट्लान्टाका लुइस मुरिएलले एक गोल फर्काए ।
खेलको ३४ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियाललाई १(० को अग्रता दिलाएका थिए । उनको यो ७० औं च्याम्पियन्स लिग गोल हो ।

योसँगै रियाल ३६ औं पटक च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुग्न सफल भएको छ । च्याम्पियन्स लिगको सर्वाधिक सफल टिम रियाल अघिल्ला दुई सिजन अन्तिम आठमा पुग्न असफल भएको थियो । 

सिटी पनि क्वार्टरफाइनलमा 
म्यानचेस्टर सिटीले मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा जर्मन क्लब बोरुसिया मन्छेनग्लाडबाखलाई २–० गोल अन्तरले पराजित गर्यो । 

जर्मन क्लबविरुद्ध  सिटी समग्रमा ४–० गोल अन्तरको जितसहित अन्तिम आठमा पुगेको हो । पहिलो लेगमा सिटीले २–० कै जित निकालेको थियो ।

दोस्रो लेगमा सिटीलाई जित दिलाउन केभिन डी ब्रुएन र इल्के गुन्डोगानले एक एक गोल गरे ।

यससँगै सिटी लगातार चौंथो सिजन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्न सफल भएको छ ।
 



नयाँ