- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इङ्गलिश प्रिमियर लिग क्लब चेल्सीले च्याम्पियन्स लिग फुटबलमा ठूलो यात्रा तय गरेको छ । लामो समयको खडेरी तोड्दै चेल्सी क्वार्टरफाइनलमा पुगेको हो ।
बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगको खेलमा स्पेनिश क्लब एथ्लेटिको मड्रिडलाई २–० गोल अन्तरले पराजित गर्दै समग्रमा ३–० गोल अन्तरको जितसहित अन्तिम आठमा पुगेको हो ।
चेल्सीले पहिलो लेगमा १–० गोल अन्तरको जित निकालेको थियो । दोस्रो लेगमा घरेलु मैदानमा भएको खेलमा चेल्सीलाई जित दिलाउन हाकिम जिएच र इमर्सनले एक एक गोल गरे ।
खेलको ३४ औं मिनेटमा जिएचले र इन्जुरी समयमा इमर्सनले गोल गर्दै चेल्सीलाई जिताएका हुन् ।
यसअघि खेलको ८२ औं मिनेटमा स्टेफान साभिकले रातो कार्ड पाएपछि एट्लेटिको १० खेलाडीमा समेटिएको थियो ।
यो जित चेल्सीका लागि ठूलो सफलता हो । च्याम्पियन्स लिगको खडेरी पनि तोडिएको छ । चेल्सी सात वर्षपछि च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको हो । यसअघि चेल्सी सन् २०१३–१४ को सिजनपछि पहिलो पटक क्वार्टरफाइनलमा पुगेको हो ।
थोमस टुचेलले चेल्सी सम्हालेपछि टिमले अपराजित यात्रालाई १३ खेलसम्म पुर्याएका छन् । इङ्गलिश प्रिमियर लिगमा पनि चेल्सी शीर्षभित्र रहने स्थिति बलियो बनेको छ ।
बायर्न म्युनिख पनि पुग्यो क्वार्टरफाइनलमा
डिफेन्डिङ च्याम्पियन जर्मन क्लब बायर्न म्युनिख पनि क्वार्टरफाइनलमा पुगेको छ । बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा इटालियन क्लब लाजियोलाई २–१ गोल अन्तरले पराजित गर्दै बायर्न अन्तिम आठको यात्रा तय गर्न सफल भएको हो ।
योसँगै बायर्नले समग्रमा ६–२ गोल अन्तरको जित निकाल्यो । बायर्नले पहिलो लेगमा ४–१ को जित निकालेको थियो ।
घरेलु मैदानमा भएको दोस्रो लेगमा बायर्नका लागि रोबर्ट लेवान्डोस्की र एरिक म्याक्सिमले एक एक गोल गरे । लाजियोका मार्को पारालोले एक गोल फर्काए ।
लिगको क्वार्टरफाइनल ड्र शुक्रबार राति हुनेछ ।