arrow

आगामी बजेटमा कोभिड प्रभावित उद्योग व्यवसायलाई उकास्ने कार्यक्रमहरू ल्याउनुपर्छ : वरिष्ठ उपाध्यक्ष ढकाल

logo
प्रकाशित २०७७ चैत ८ आइतबार
fncci-chandra-dhakal-itahari.jpg

इटहरी। नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउँदा कोभिड–१९ को महामारीबाट प्रभावित उद्योग व्यवसायलाई उकास्ने गरी कार्यक्रमहरू ल्याउनुपर्ने बताएका छन्।

शनिवार उद्योग वाणिज्य सङ्घ इटहरीको २२औँ वार्षिक साधारण सभालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड-१९ को महामारीका कारण मुलुकको अर्थतन्त्रले धेरै ठुलो क्षति बेहोर्नुपरेको र गत वर्षको बजेट तथा मौद्रिक नीतिले समेट्न बाँकी क्षेत्रलाई समेट्ने गरी आगामी वर्षको बजेट आउनुपर्ने बताएका हुन्।

“गत वर्षको बजेट तथा मौद्रिक नीतिले केही हदसम्म भए पनि कोभिड प्रभावित उद्योग व्यवसायलाई राहत दिन खोजिएको थियो। तर पनि यसले धेरै क्षेत्रलाई समेट्न सकेको छैन। यस वर्ष बजेट बनाउँदा कोभिड प्रभावित उद्योग व्यवसायलाई उकास्ने खालका थप नीति तथा कार्यक्रमहरू बनाउनु जरुरी छ,” उनले भने।

प्रादेशिक संरचनामा गइसकेपछि मुलुकमा लगानीको वातावरण बन्दै गएको बताउँदै ढकालले अझै पनि केन्द्र, प्रदेश तथा स्थानीय तहबाट एकै प्रकारका करहरू लिने गरेको हुँदा व्यवसायीहरू दोहोरो करको मारमा परेको बताएका छन्।

“नयाँ संविधानको निर्माणसँगै मुलुकमा धेरै हदसम्म शान्ति, स्थिरता र विकासको वातावरण बनेको छ। सङ्घीय संरचनामा स्थानीय तहहरू बीच विकासका लागि हुने प्रतिस्पर्धाले हामीलाई उत्साहित पारेको छ। तर पनि केही पुराना संरचना तथा नीतिका कारण अझै पनि हामीले खोजेजस्तो लगानीको वातावरण बन्न सकेको छैन। यसका लागि महासङ्घले सरकार तथा सरोकारवाला निकायलाई घच्घचाउने नै छ,” उनले भने।

उनले अहिले बजेटको निर्माणको प्रक्रिया सुरु भएकोले यससम्बन्धी हुने छलफलमा निजीको तर्फबाट आफ्ना एजेन्डाहरू राख्न उद्योगी व्यवसायीहरूलाई आग्रह समेत गरे।

वरिष्ठ उपाध्यक्ष ढकालले अहिले बैङ्कको व्याज दर एकल अङ्कमा आएको र कोभिड–१९ को प्रकोप पनि बिस्तारै कम हुँदै गएकोले मुलुकमा लगानीको लागि उपयुक्त वातावरण तयार भएको बताएका छन्।

जिल्ला नगरका साना व्यवसायीहरूका समस्या समाधानमा जिल्ला नगरका नेतृत्वमा रहेका व्यवसायी साथीहरू आफैमा पनि सक्षम रहेको बताउँदै उनले जिल्ला-नगरका उद्योगी, व्यवसायीहरूका समस्या समाधानका लागि जिल्ला नगरका व्यवसायीहरूसँग होस्टेमा हैँसे गर्न महासङ्घको नयाँ नेतृत्व सधैँ तत्पर रहेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ