- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
मोरङ । प्रदेश नम्बर १ सरकारले शुक्रवार मन्त्रीमण्डल पुनर्गठन गरेको छ । मुख्यमन्त्री शेरधन राईले तेस्रो पटक मन्त्रीमण्डल पुनर्गठन गर्दै छ जना मन्त्री थप गरेका हुन् ।
प्रदेश-१ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले प्रदेशका मुख्यमन्त्री शेरधन राईको नेतृत्वमा विसं २०७४ फागुन ३ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानबमोजिम मुख्यमन्त्रीको सिफारिसमा मन्त्री तथा राज्यमन्त्री पदमा शुक्रवार नियुक्ति, हेरफेर कार्यविभाजन गरेका छन् ।
भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ सोही मन्त्रालयको ‘फुल मन्त्री’ बनेका छन् ।
त्यसै गरी पहिल्यै मन्त्रीको शपथ लिने तयारी भएर पनि भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीमा सीमित बनेका राम राना शुक्रवार सोही मन्त्रालयको ‘फुल मन्त्री’ बनेका छन् ।
यता माओवादी छाडेका टङ्क आङ्बुहाङले आर्थिक मामिला तथा योजना मन्त्रीका रूपमा शपथ लिए । खोटाङकी प्रदेश सांसद उषाकला राई सामाजिक विकास मन्त्री भएकी छन् ।
उदयपुरकी सांसद कला घले कृषि राज्यमन्त्री र मोरङका राजकुमार ओझा उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा शपथ लिएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शपथका लागि तयारी गर्न भनेपछि प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहणका लागि आवश्यक तयारी भइरहेको जनाइएको छ ।
शपथपछि प्रदेश १ सरकारको ६ वटै मन्त्रालयले ‘फुल मन्त्री’ पाएको छ । शपथपछि प्रदेश १ को मन्त्रिमण्डल ९ सदस्यीय भएको छ ।
सर्वोच्च अदालतको फैसलाले दल अलग भएपछि मुख्यमन्त्री शेरधन राई आफ्नो दल नेकपा एमालेभित्र बलियो बनेका हुन् ।
उनले आफू विरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका माधवकुमार नेपाल पक्षका सांसदहरूलाई हस्ताक्षर फिर्ता लिन लिखित निर्देशन दिइसकेका छन् ।