- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
ओखलढुङ्गा। जिल्ला प्रवेशद्वारमा हुनसक्ने विभिन्न आपराधिक गतिविधि नियन्त्रण प्रयोजनका लागि मानेभञ्ज्याङ गाउँपालिका–७ हर्कपुरमा सिसिटिभी जडान गरिएको छ। जिल्ला प्रहरी कार्यालय र मानेभञ्ज्याङ गाउँपालिकाको साझेदारीमा सिसिटिभी जडान गरिएको हो।
समुदाय –प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत समाजमा शान्ति सुरक्षा कायम गर्दै अपराध अनुसन्धानलाई सहजता तुल्याउन सिसिटिभी जडान गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्द राज काफ्लेले बताए। आवश्यक विद्युत् जडान, फर्निचर लगायत भौतिक संरचना व्यवस्थापन तथा सिसिटिभी जडान सहयोगका लागि गाउँपालिकाले ४ लाख ९९ हजार रकम उपलब्ध गराएको काफ्लेले जानकारी दिए।
ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु जिल्लाको प्रवेशद्वार हर्कपुर नाकामा हुन सक्ने आपराधिक घटना न्यूनीकरण तथा घटनाको अनुसन्धानलाई सहज र सरल बनाउने उद्देश्यका साथ सिसिटिभी जडान गरे सँगै सुरक्षा चुनौती घट्ने अपेक्षा गरिएको छ। हर्कपुर प्रवेश नाकाको सुनकोसी पुलको मुखमा बीच सडक, हर्कपुर गेटमा गरी ४ वटा सिसिटिभी जडान गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ।
सरकारको नीतिअनुसार अपराध अनुसन्धानलाई प्रविधियुक्त बनाउँदै लैजाने कामको थालनी भएको प्रमुख जिल्ला अधिकारी वन्दना राईले बताइन। सिसिटिभी जडानले यस क्षेत्रको शान्ति सु–व्यवस्थालाई मजबुत बनाउने भएकाले असल कार्यको थालनी गर्ने जिल्ला प्रहरी कार्यालय र मानेभञ्ज्याङ गाउँपालिकालाई राईले धन्यवाद दिइन्।
सिसिटिभी जडान तथा हस्तान्तरण कार्यक्रममा मानेभञ्ज्याङ गाउँपालिका प्रमुख मोतीराज राईले समाजमा शान्ति कायम गर्न र आपराधिक घटना न्यूनीकरणका लागि प्रहरी मात्र नभई सबै नागरिक उत्तिकै भूमिका हुने भएको भन्दै सिसिटिभी जडानका लागि गाउँसभाबाट पारित गरेर उक्त रकम विनियोजन गरेको बताए।
सिसिटिभी जडान भएपछि यस भेगका सम्पूर्ण गतिविधिहरू क्यामेरामा कैद हुने भएकाले अवाञ्छित गतिविधि घट्ने गाउँपालिका प्रमुख राईले अपेक्षा गरेका छन्।
सिसिटिभी मार्फत हर्कपुर क्षेत्रका सबै गतिविधिहरू इलाका प्रहरी कार्यालय हर्कपुर र जिल्ला प्रहरी कार्यालयले नियमित निगरानी गर्ने र त्यस्ता अवाञ्छित गतिविधि भएको पाइएका प्रविधिको प्रयोगले तत्काल कारबाही गर्न सजिलो हुने जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रनाउ गोविन्द राज काफ्लेले बताए।