arrow

होली मेलामा झडप हुँदा दुईको मृत्यु, केही युवाको हताहती भएको आशङ्का

logo
प्रकाशित २०७७ चैत १५ आइतबार
Holi-Fagu-purnima.jpg

बलेवा। बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाबीच भएको झडपमा केही व्यक्तिको हताहती भएको बताइएको छ। दर्लिङको बल्देधुरीमा दुई युवा समूहबिच झडप हुँदा हताहती भएको वडा नं. ९ का अध्यक्ष कृष्णबहादुर खत्रीले बताए।

गुल्मी, बागलुङ र प्युठानको सिमाना बल्देधुरीमा होली मनाउन गएका युवाबीच झडप हुँदा दुईको मृत्यु र केही युवा घाइते भएको हुनसक्ने खत्रीले आशङ्का गरे। मृत्यु हुनेमा वर्ष ३६ का प्रकाश कुँवर र ३४ वर्षका दीपक दमाईं रहेका छन्। उनीहरूको शव बल्देधुरी भीरबाट ५०० मिटर तल खसेको अवस्थामा भेटिएको प्रहरी नायब उपनिरीक्षक इग्वाल हवारीले जानकारी दिए। घटनास्थल मानव बस्तीभन्दा केही टाढा रहेको र त्यहाँ प्रहरी तथा जनप्रतिनिधि पुग्न समय लागेकाले घटनाको विवरण आउन समय लागेको हो।

आज दिउँसो बडिगाड–१० बल्देधुरीमा तीन जिल्लाका करिब ६०० जना उपस्थित भएका थिए। स्थानीयवासीको अनुसार झडपपछि बागलुङकै निसीखोला गाउँपालिका–७ र बडिगाड–१० का केही युवा बेपत्ता भएको आशङ्का गरिएको छ। घटनामा १० देखि १५ जनासम्म हताहती भएको हुनसक्ने स्थानीयवासीले बताएका छन्। घटनापछि प्रहरी घटनास्थलतर्फ जाँदै गरेको इलाका प्रहरी कार्यालय भीमगिठेले जनाएको छ। विस्तृत विवरण आउन बाँकी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ