arrow

सुतिरहेका वृद्धलाई आक्रमण गरी मार्यो हात्तीले, दश घरमा क्षति 

logo
प्रकाशित २०७७ चैत १६ सोमबार
Elephant-1-750x500.jpeg

धनुषा । हात्तीको आक्रमणमा परी धनुषाको मिथिला नगरपालिका–७ खप्तरी टोलमा एकको मृत्यु भएको छ । आइतबार मध्यराति घरमा सुतिरहेका मगरलाई हात्तीले आक्रमण गर्दा खप्तरी टोल बस्ने ८० वर्षीय वृद्ध पदमबहादुर खप्तरी मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । 

उनको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर राति नै पठाइएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । खप्तरी टोलमा पूर्वी दिशाबाट एउटा हात्ती गाउँ पसेपछि सर्वसाधारण भागदौड मच्चिएको थियो । गाउँ पसेका हात्तीले घरमा भएको चामललगायत अन्न खानुको साथै १० घरमा क्षति पुर्याएको छ । 

गाउँलेहरुले जताततै आगो बालेर हो–हल्ला गरेपछि हात्ती पुनः जङ्गलतिर गएको थियो । गाउँ नजिकै सामुदायिक वन र राष्ट्रिय वन रहेको छ । 

यस ठाउँमा बर्सेनि जङ्गली हात्तीले क्षति पुर्याउँदै आएको छ । जङ्गली हात्तीको आक्रमण परी मृत्यु भएका पदमबहादुरको घर दुई वर्षअघि पनि हात्तीले आक्रमण गरी घर भत्काएको थियो ।



नयाँ