मेलम्ची खानेपानीको कथा: यसरी तयार भयो पहिलो समाचार 

युवराज गौतम
प्रकाशित २०७७ चैत १६ सोमबार

मेलम्ची खानेपानी आयोजनाको कथा मात्र पुरानो छैन, किस्सा पनि प्रशस्त बनेका छन् । हरेक सरकार बन्नसाथ मन्त्रीहरू मेलम्चीको पानी ल्याउने भनी पहिलो बाचा गर्न भुल्दैन थिए । तर ती बाचाहरू पछि किस्सामा परिणत हुने गरेका थिए । किनकि तीन दशक अघि शुरु भएको मेलम्ची खानेपानी परियोजना बल्लतल्ल सफल हुने तरखरमा छ । उपत्यकाका केही धाराहरूमा मेलम्चीको पानी आएको छ ।

हुन त यो परियोजना नेपालको व्यवस्थापकीय कमजोरी, ढिलासुस्ती र भ्रष्टाचारको चिनारी बन्न पुग्यो । दलीय र दातृ निकायको स्वार्थका कारण मेलम्ची बर्षौंसम्म अलमलमा पर्‍यो । अन्ततः मेलम्ची आंशिक सफल भयो । अब यसको वितरण प्रणाली र व्यवस्थापकीय पक्ष हेर्न बाँकी छ ।

यद्यपि, मेलम्ची खानेपानी आयोजनाको पहिलो समाचार लेखेर इतिहासका साक्षी बनेका वरिष्ठ पत्रकार तारानाथ दाहालसँग मेलम्चीको पुरानो साइनो छ । उस बेला आयोजनाको सम्भाव्यता अध्ययनको प्रतिवेदन सार्वजनिक नहुँदै पहिलो समाचार लेखेर मेलम्चीसँग साइनो गाँसेका दाहालले पछिल्लो समयमा काठमाडौंबासीले पानीको प्यास मेट्न पाउँछन् भन्ने विश्वास गर्न छाडिसकेका थिए । धारामा पानी आए पनि वितरण प्रणालीमा समस्या आउन सक्ने उनको बुझाइ छ ।

फागुन १० गते प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्दरीजल पुगेर फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेर ‘युगान्तकारी सफलता’को संज्ञा दिँदै मेलम्चीको पानी सुन्दरीजलमा खसाए पनि वरिष्ठ पत्रकार दाहाललाई मेलम्चीको खानेपानी काठमाडौंका धाराहरूमा नियमित आउनेमा विश्वास लागेको छैन ।

उनी भन्छन्, ‘३२ वर्षअघि मैले मेलम्ची परियोजनाको पहिलो समाचार लेख्दा चाँडै परियोजना सफल हुन्छ, काठमाडौँवासी काकाकुल बन्नुपर्दैन भन्ने लाग्दथ्यो तर सुन्दरीजलसम्म पानी ल्याउनै मात्र ३२ वर्ष कुर्नुपर्‍यो, अब वितरण प्रणाली मजबुत बनाएर घरघरमा पानी ल्याउन त्यति सहज देखिदैन ।’

समाचारको कहानी

तारानाथ दाहाल सिन्धुपाल्चोकको मेलम्चीबाट वि।स।२०४३ सालको अन्तिमतिर आइएल ९ कानुन संकाय, प्रमाण पत्र तह ० पढ्न काठमाडौं ओर्ले । त्यस बेला नेपाली पत्रकारिता बिस्तारै बामे सर्दै थियो । साप्ताहिक पत्रिका औंलामा गन्न सकिन्थ्यो । नेपाल ल क्याम्पसमा भर्ना भएका उनी विद्यार्थी राजनीतिमा चासो राख्थे । राजनीतिसँग पत्रकारितालाई जोडेर अघि बढ्न त्यति समस्या थिएन ।

‘०४३ सालको अन्तिमतिर आइएलको परीक्षा सकेर विएल ९कानुन संकाय, स्नातक तह० पढ्न शुरु गर्दा मलाई पत्रकारिता गर्न इच्छा जागेको हो । गाउँमा छँदा पनि हुलाकमार्फत अखबारहरूमा सिर्जनाहरू पठाउने गर्थेँ, भित्ते पत्रिका सम्पादन गरेको अनुभव पनि थियो,’ उनले विगत सुनाउँदै भने, ‘त्यस बेलाका दिनारम्भ साप्ताहिक, छलफल साप्ताहिक, विमर्श साप्ताहिक, जनादेश साप्ताहिकमा छिटपुट समाचार तथा अन्य सिर्जनाहरू लेख्ने गर्थेँ, हो सोही बेला काठमाडौंमा खानेपानीको समस्याका बारेमा विभिन्न अध्ययनहरू भइरहेका थिए । मैले मानव जीवनसँग प्रत्यक्ष जोडिएको खानेपानी समस्याको विषय उठाउने अठोट गरेको हुँ ।’

हुन त काठमाडौंमा खानेपानी योजनाका लागि विभिन्न स्थानहरूको सम्भाव्यता अध्ययनहरू भइरहेका थिए । पञ्चायतकालमा पनि खानेपानीको समस्या हल गर्ने विषयमा धेरै चर्चा भएको थियो ।

‘काठमाडौंमा खानेपानीको समस्या समाधानका लागि भइरहेको अध्ययनका विषयमा मैले नेपाल खानेपानी संस्थानका एक उच्च पदस्थ कर्मचारीबाट पहिलो पटक सूचना लिएको हुँ, जापानी दातृ संस्था जाइकाले गरेको एक अध्ययन प्रतिवेदन मैले उहाँबाटै प्राप्त गरेको हुँ, जुन प्रतिवेदन समाचार तयार गर्न गतिलो खुराक बन्यो र आज सर्वाधिक चर्चा साथै ठुलो परियोजना बनेर स्थापित बन्यो,’ दाहालले भने, ‘मेलम्ची मेरो घर गाउँ पनि भएकाले चासोको विषय भयो, मलाई लेख्न रुचि जागेर आउँथ्यो र खोजेर समाचार तयार गरेको हुँ ।’

मेलम्ची कि मिल्चे ?

समाचार लेखेर सम्पादककहाँ पुग्दा दाहाल विभिन्न प्रश्नहरूको सामना गर्नुपरेको अनुभव सुनाउँछन् । जापानी सहयोग नियोग ‘जाइका’ले तयार पारेको अध्ययन प्रतिवेदनमा विभिन्न विकल्पहरूसहित मेलम्चीलाई पनि खानेपानीको महत्त्वपूर्ण स्रोतका रूपमा उल्लेख गरेको पाएपछि उनले मेलम्चीलाई महत्त्वपूर्ण आयोजनाका रूपमा अघि बढाउन सकिने आधार लिएर समाचार तयार पारेका थिए ।

उक्त समाचार लिएर उनी विमर्श साप्ताहिकका प्रधान सम्पादक केशवराज पीडालीकहाँ पुगे । ‘त्यस बेला मेलम्चीको चर्चा खासै थिएन, काठमाडौंमा खानेपानीको समस्या समाधानका लागि विभिन्न विकल्पहरू सार्वजनिक भएका थिए । त्यसमध्ये मेलम्चीबारे समाचार लेखेर विमर्श साप्ताहिकमा पुग्दा प्रधान सम्पादक पीडाली र सम्पादक हरिहर विरहीले मेलम्ची कि मिल्चे रु भनेर प्रश्न गर्नुभयो,’ दाहाल भन्छन्,‘मेलम्ची नै हो भनेर बुझाएर मैले विमर्शलगायत अन्य थुप्रै साप्ताहिकहरूमा एकैसाथ मेलम्ची सम्भावनाबारे समाचार छपाएको थिएँ, त्यसपछि बिस्तारै मेलम्ची नै उपयुक्त स्रोत हो भन्ने अवधारणा विकास हुँदै गएको हो ।’

मेलम्चीको विकल्प

समाचार सङ्कलनका क्रममा दाहालले विभिन्न प्रतिवेदनहरूको विस्तृत अध्ययन गरेका थिए । ती मध्ये जाइका र  खानेपानी समस्याको दिगो समाधान गर्न सरकारले राष्ट्रिय पञ्चायत सदस्य तथा इन्जिनियर वीरेन्द्र केशरी पोखरेल संयोजक रहेको टास्क फोर्सले तयार पारेको प्रतिवेदन पनि अध्ययन गरेका थिए । ‘पोखरेल कमिसन’ र जाइकाले सुनकोसीबाट लिफ्ट गरेर तान्ने, त्रिशूलीबाट पनि लिफ्ट गरेर ल्याउने, नुवाकोटको लिखु खोलाबाट पनि पानी ल्याउने अध्ययनमा उल्लेख थियो ।

पनौतीको रोशी खोला पानी ल्याउने पनि चर्चा थियो । सोही बेला इन्द्रावतीको एक हाँगोको रूपमा रहेको मेलम्ची उपयुक्त भयो । सुरुङ खनेर ल्याउने भन्नेमा चर्चा सुरु भयो । सोही बेला विभिन्न तहमा छलफल र नीति नियममा बहस भयो । मेलम्चीको पानी बाग्मतीमा ल्याएर मिसाउने भन्ने थियो । पोखरेल कमिसनमा रहेका तत्कालीन सरकारका सहसचिव अर्थात् विकासविद् विहारीकृष्ण श्रेष्ठ, दीपक ज्ञवालीको टिमले पनि काठमाडौंको ढल निकास र खानेपानीमा अध्ययन गरिरहेका थिए । उनीहरूले पनि विभिन्न विकल्पहरू दिएका थिए ।

त्रिशूली, सुनकोसी, मेलम्ची भन्दा अन्य विकल्पहरू पनि रहेको प्रतिवेदनहरू आएका थिए । तर मेलम्ची निर्विकल्प अघि बढिसकेको थियो । २७ किलोमिटर सुरुङ खन्ने, सुन्दरीजलमा पानी ल्याएर ४५ मेगावाटको बिजुली निकाल्ने भन्ने थियो । लार्के र याङग्री खोलाको पानी पनि ल्याउने र बिजुली उत्पादन गर्ने साथै काठमाडौंका सबै धारामा पानी झार्ने लक्ष्य थियो । तर २०४४ तिर मेलम्ची परियोजना अघि बढेको कुरा पत्रकार दाहाल स्मरण गर्छन् । उनी भन्छन्, ‘कृष्ण प्रसाद भट्टराईको नेतृत्वमा बनेको संयुक्त अन्तरिम सरकारले नै २०४७ सालमा तत्कालीन भौतिक योजना मन्त्री अच्युतराज रेग्मीले जापान भ्रमण नै गरेर जाइकासँग मेलम्ची परियोजनाको सम्झौता गरेका हुन् ।’

किशुनजीको भाषण

मेलम्ची परियोजना सुरुवात गर्ने श्रेय नेपाली कांग्रेसका नेता तथा तत्कालीन सरकारका प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराई अर्थात् किशुनजीलाई जान्छ । त्यसैले मेलम्चीबारे किशुनजीको भाषणको चर्चा अहिले पनि उत्तिकै हुने गर्छ । हरेक चुनावी सभा र अन्य समारोहहरूमा उनले भन्ने गर्थे रे–‘मेलम्चीको पानी ल्याएर काठमाडौंका सडक पखालिदिन्छु’ । यी सबै भाषणका साक्षी वरिष्ठ पत्रकार दाहाल स्वयम छन् ।

किशुनजीकै पहलमा शुरु भएको जनमञ्च पत्रिकामा पोखरेल कमिसनको प्रतिवेदनलाई आधार बनाएर दाहालले लेखेको विश्लेषणात्मक कभर स्टोरी ‘मेलम्ची सेतो हात्ती हुने’ अहिले पनि चर्चा हुने गर्छ । दाहाल भन्छन्,‘जनमञ्च पत्रिका गोपाल प्रसाद भट्टराई, मुकुन्द पराजुली, हरि अधिकारी, योगेश उपाध्याय लगायतको पहलमा निस्केको थियो । त्यसमा छापिएको उक्त स्टोरीले खुबै चर्चा बटुलेको थियो ।

हुन त दाहालले २०४८ सालमा किशुनजी काठमाडौं क्षेत्र न.१ बाट निर्वाचनमा भाग लिँदा मेलम्चीको खुबै चर्चा गरेको कुरा स्मरण गर्छन् । त्यसपछिको उपचुनावका क्रममा पनि किशुनजीले काठमाडौंमा मेलम्चीको पानी ल्याएरै छाड्ने अठोट गरेका  थिए । दाहाल भन्छन्, ‘दुइटै चुनावमा किशुनजीले मेलम्चीको खुबै चर्चा गर्नुभयो, ठुलो अठोट गर्नुभयो तर विविध कारणले योजना उहाँ जीवित रहँदासम्म सफल हुन नसक्नु दुर्भाग्य बन्यो ।’

मेलम्ची समाचार लेख्ने र खोज्ने पत्रकारहरू मध्येका केदार सुवेदी भन्छन्,‘हुन त काठमाडौंमा खानेपानी समस्या हल गर्ने विषयमा २०२० सालदेखि नै पहलहरू भएको पाइन्छ । २०४४ सालपछि विभिन्न विकल्पहरू मध्ये मेलम्ची प्राथमिकतामा परेको मेरो बुझाइ हो’, उनले भने,‘दरबारमा पनि मेलम्चीका बारेमा चर्चा भएको सुनिन्थ्यो उस बेला तर किशुनजीले २०४८ सालको चुनावी सभाहरूमा अत्यन्तै चर्चा गर्नु भएको हो ।’ किशुनजीकै पालामा सम्झौता भएको र चुनावी सभाहरूमा उहाँले गर्नुभएको भाषणका कारण मेलम्चीले धेरै चर्चा पाएको सुवेदी स्मरण गर्छन् ।



नयाँ