arrow

म्यानमार कू

कम्तीमा ४३ बालबालिकाको गयो ज्यान

६ वर्षे बालिकालाई मारियो, नौ महिने बालिकाको आँखा फोडियो

logo
प्रकाशित २०७७ चैत १९ बिहिबार
myanmar-ku-strike.jpg

काठमाडौं । म्यानमारमा सैन्य कू भएको दुई महिनाको अवधिमा जारी हिंसामा परेर कम्तीमा ४३ जना बालबालिकाको मृत्यु भएको छ । फेब्रुअरी १ तारिखमा सेनाले आङ सान सूचीको नेतृत्वको सरकारलाई अपदस्त गरी सत्ता आफ्नो हातमा लिएपछि भइरहेका प्रदर्शनका क्रममा ती बालबालिका मारिएको सेभ द चिल्ड्रेनले बताएको बीबीसीले लेखेको छ । 

मृत्यु हुनेमा सबैभन्दा कम उमेरका ६ वर्षे बालिकाको पनि ज्यान गरेको जनाइएको छ । उनलाई घरमै रहेको अवस्थामा सुरक्षाकर्मीले गोली हानेर मारेको थियो । घरमा छापा मारिँदा उनी दौडेर आफ्नो बाबुको काखमा जाँदै थिइन् । 

निर्दयी सुरक्षाकर्मीले उनीमाथि गोली चलाएको थियो । एक नौ महिने बालिकाको आँखामा रबरको गोली हानिएको समेत जनाइएको छ । म्यानमारको यो घटनालाई दुःस्वप्नको रुपमा पनि ब्याख्या गरिएको छ । 

अहिलेसम्म दुई महिनाको अवधिमा सुरक्षाकर्मीले अत्याधिक बल प्रयोग गर्दा ५३६ जनाको ज्यान गइसकेको पनि जनाइएको छ ।  

सुरक्षाकर्मीको दमनका कारण घाइते हुनेहरुको संख्या पनि बढिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दाबी गरेका छन् । त्यसमा बालबालिका पनि अध्यधिक रहेका छन् । 

सैन्य सरकारले  सूची र उनका चार जना सहयोगीलाई विभिन्न मुद्दा लगाएको छ । उक्त मुद्दामा १४ वर्षसम्मको जेल सजाय हुने म्यानमारका अधिकारीहरुले जनाएका छन् । 

सूचीमाथि गत वर्षको निर्वाचनमा धाँधली गरेको र गैरकानुनीरुपमा सञ्चार सेटहरु राखेको लगायतका आरोप लगाइएको छ ।

म्यानमारका लागि संयुक्त राष्ट्रसंघका राजदूतले प्रजातन्त्रको पक्षमा भएको आन्दोलनमा भएको दमन निन्दनीय भएको प्रतिक्रिया दिएका छन् । बिहीबार मात्रै बेलायतले म्यानमारमा भएको दमन र नेताहरुमाथि गरिएको अत्याचारविरुद्ध कडा कदम चाल्ने बताएको छ । उसले आर्थिक सहायतामा पनि कटौती गरेको छ । 

साना साना बालबालिका पनि मारिन थालेपछि त्यहाँ मौन प्रदर्शन थालिएको छ । यसअघि एकैदिन ११४ जनाको समेत ज्यान गएको थियो । उक्त घटनाको अर्को दिन नै सैन्य प्रमुखले खुशीयालीमा डिनर पार्टी गरेका थिए । 



नयाँ