- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
वीरगन्ज। नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले सरकार र निजी क्षेत्र बीचको सहकार्यले मुलुकमा छोटो समयमै समृद्धि हासिल हुने बताएका छन्।
वीरगन्ज उद्योग वाणिज्य सङ्घको नवनिर्वाचित कार्यसमितिलाई कार्यभार हस्तान्तरण समारोहलाई शुक्रवार वीरगन्जमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले तीन वटै तहका सरकारले निजी क्षेत्रसँग सघन रूपमा सहकार्य गर्नु आवश्यक रहेको धारणा राखे।
ढकालले प्रदेश-२ मा लगानीको अवसर पनि भएको र वातावरण पनि बन्दै गएको उल्लेख गर्दै यसमा निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्न प्रदेश-२ सरकार र वीरगन्ज उपमहानगरपालिकालाई आग्रह गरे।
वीरगन्ज लगायत कतिपय स्थानीय तहका जनप्रतिनिधिको पृष्ठभूमि उद्योग व्यवसाय नै रहेको स्मरण गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रका समस्या बुझ्न सक्ने राजनीतिक नेतृत्व नै सफल हुने बताए।
नेपाल उद्योग वाणिज्य महासङ्घले भिजन पेपर २०३० ल्याउन लागेको र त्यसमा आउँदो १० वर्षभित्र २२ लाख नयाँ रोजगारी सिर्जना गर्दै अर्थतन्त्रको आकार १ सय खर्ब पुर्याउने लक्ष्य राखिएको जानकारी दिँदै यसको कार्यान्वयनका लागि वीरगन्ज उद्योग वाणिज्य सङ्घजस्ता संस्थाको भूमिका महत्त्वपूर्ण हुने बताए।
व्यावसायिक मुद्दामा वीरगन्ज उद्योग वाणिज्य सङ्घले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा लिएको उनले बताए।