- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। देशमा शान्ति होस् भन्ने कामनाले लिच्छविकालदेखि पशुपति क्षेत्रमा शुरु गरिएको देशोद्वार पूजा एवं जात्रा आजदेखि सामाजिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर गरिने भएको छ ।
प्रत्येक वर्ष चैत्र कृष्ण अष्टमीदेखि १० दिनसम्म यो जात्रा गरिन्छ । पशुपति क्षेत्रमा बज्रेश्वरी, वत्सलेश्वरी र आकाशभैरवको रथयात्रा गरी हुने यो जात्रापछि नै उपत्यकामा अरू जात्रा गर्ने परम्परा छ । जात्राको पहिलो दिन आज पशुपतिनाथ मन्दिरमा पूजा आराधना गरी उपत्यकाका प्रमुख देवी देवतालाई जात्रा हेर्न आउनु भनी निमन्त्रणा गरिन्छ ।
आज बेलुकी ५ बजे पशुपतिनाथ मन्दिरमा भट्ट रामकान्त भट्टले पूजा आराधना गरेपछि उनकै नेतृत्वमा उपत्यकाको भित्री भागका देवीदेवतालाई निमन्त्रणा गरिने पशुपति क्षेत्र विकास कोष अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलले जानकारी दिए । निमन्त्रणादेखि जात्राका सबै कार्यक्रम भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर गरिने छ ।
निमन्त्रणा यात्रा पशुपति पश्चिममूलढोकाबाट जयवागेश्वरी–ताम्रेश्वर–भण्डारेश्वर–ज्ञानेश्वर–नक्साल भगवती–कमलाक्षी–असन–हनुमानढोका–कुमारीघर–जैसीदेवल–लगन डबली–पचलीभैरव–यङ्गाल–मरु गणेश–नरदेवी–टेबहाल हुँदै पशुपतिस्थित वत्सलेश्वरी मन्दिरमा आएर निमन्त्रणा सकिने कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए ।
जात्रा सम्पन्न गर्न कोषले सञ्चालक परिषद् सदस्य आशा पाण्डेको संयोजकत्वमा समिति गठन गरेको छ । समितिले कोरोना महामारीलाई ध्यान दिँदै व्यवस्थित जात्रा गर्ने तयारी गरेको उनले बताइन् । आज निमन्त्रणा गरेपछि भोलि पशुपति क्षेत्रमा सबै देवताको निमन्त्रणा पूजा गरिन्छ । आजको निमन्त्रणालाई दुदु च्याँ च्याँ भनिन्छ ।
आज निम्ता गरेपछि ती देवीदेवताका साथै त्यस क्षेत्रका स्थानीयवासी पनि पशुपतिमा जात्रा हेर्न आउँछन् । जात्राको मुख्य दिन चैत २९ गते बज्रेश्वरी, वत्सलेश्वरी र आकाशभैरवको रथ निकालिन्छ । रथलाई पशुपति क्षेत्रका विभिन्न स्थानमा घुमाइन्छ ।
यो जात्रामा पशुपति क्षेत्रमा बसोबास गर्ने नौवटै जातिका मानिस उपस्थित हुनुपर्ने प्राचीनकालदेखिको भनाइ छ । तीमध्ये एउटा जातिमात्र उपस्थित नभए पनि जात्रा नहुने नियम छ । गत वर्ष पनि कोरोना महामारीका कारण दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर जात्रा सम्पन्न गरिएको थियो ।