arrow

रसुवामा पर्यटकको चहलपहल बढ्दै

logo
रासस,
प्रकाशित २०७७ चैत २८ शनिबार
gosaikunda_1618028948.jpg

रसुवा। वसन्त ऋतुको आगमनसँगै हिमाली प्राकृतिक छटाको अवलोकनका लागि यस क्षेत्रमा पर्यटक आउन थालेका छन्। लाङटाङ, गोसाईंकुण्ड एवं तामाङ सम्पदा मार्गबाट नजिकै देखिने हिमाल, प्राकृतिक छटा, लालीगुराँसका फुल, परम्परागत भेसभुसा तथा पदमार्गकै छेउमा पाइने चराचुरुङ्गी अवलोकनको उपयुक्त समय भएकाले पर्यटकको आगमन बढ्न थालेको हो।

पदयात्राको लागि दैनिक जसो सरदरमा २०-२५ जना आन्तरिक पर्यटकको आगमन भइरहेको र आगन्तुकमा प्रायजसो युवा देखिएको प्रहरीले जनाएको छ। चिसोले पुस तथा माघ महिनामा जमेको पवित्र तीर्थ गोसाईंकुण्ड दहको पानी यथास्थानमा परिणत भई स्नान गर्न सहज वातावरण  भइसकेकाले गोसाईंकुण्ड तर्फ  बढी मात्रामा  पर्यटक केन्द्रित हुन थालेका छन्।

भगवान् शङ्कर विराजमान रहेको र कुण्डमाथिका अल्का हिमालले थप मनमोहक बनाउने भएका कारण नेपाली मात्र होइन विदेशी पर्यटकको भ्रमण गोसाईंकुण्ड तर्फ हुन थालेको छ। विदेशी पर्यटकको हिमाली पदयात्राको पहिलो रोजाई गोसाईंकुण्ड रहेको पथप्रदर्शक राजु गुरुङले जानकारी दिए। एक वर्षपछि पहिलो पटक गोसाईंकुण्ड आएका रसियन पर्यटकको समूह धुन्चेमा भेटेपछि फोटो खिच्नेको लर्को लागेको थियो। गत हप्ता ती पर्यटक गोसाईंकुण्ड गएका थिए। उनीहरूलाई पिसीआर परीक्षण गराइ भ्रमणमा ल्याएको बताउँदै नेपाल कैलाश ट्रेकका प्रबन्धक मैपी गुरुङले आगामी दिनमा पनि भ्रमणका लागि विदेशी पर्यटकले बुकिङ गर्न थाली सकेको जानकारी दिए।

धार्मिक यात्रु एवं पर्यटकलाई सर्वसुलभ तवरले खान बस्ने व्यवस्था मिलाउन लाङटाङ राष्ट्रिय निकुञ्जले होटेल तथा लजमा खाना बस्नको लागि शुल्क निर्धारण गरी सकेको, सुरक्षाका लागि आवश्यक स्थानमा पर्यटक प्रहरी र नेपाल प्रहरी परिचालन भइरहेको र रसुवाको भ्रमणमा खान बस्न कुनै समस्या नपर्ने  होटेल व्यवसायी सङ्घ रसुवाका अध्यक्ष निसान उपनामले परिचित रामशरण गजुरेलले जानकारी दिए।

नेपालको तेस्रो गन्तव्य मानिएको लाङटाङ पदमार्गमा पनि थोर बहुत पर्यटक ओहोरदोहोर भइरहेको र पर्यटकको आगमन सङ्ख्या बढ्ने अपेक्षाका साथ पदमार्गका सबै होटेल सञ्चालनमा आइसकेको होटेल व्यवसायी सङ्घले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ