arrow

नेपाल र नेदरल्यान्ड्सबीच टक्कर, नेपाललाई फाइनल पुग्ने अवसर, दर्शक निषेध

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ७ मंगलबार
nepal-t20-cricket-2021.jpg

काठमाडौं । काठमाडौंमा भइरहेको त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालले मंगलबार नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल टियु क्रिकेट मैदानमा दिउँसो १ः१५ बजे शुरु हुनेछ ।

यसअघि खेलेका दुवै खेलमा जित निकालेको नेपाल यो खेलमा पनि विजयी हुँदै एक खेलअघि नै फाइनलमा पुग्न चाहन्छ । नेपाल दुई खेलमा शतप्रतिशत जितसहित ४ अंक जोड्दै शीर्ष स्थानमा छ । 

नेपालले नेदरल्यान्ड्स र मलेसियालाई समान ९ विकेटले हराइसकेको छ । नेदरल्यान्ड्सले २ खेलमा १ जितसहित २ अंक जोडेको छ । नेदरल्यान्ड्सले मलेसियालाई हराएको थियो । ।

आफ्ना दुवै खेल गुमाएको मलेसिया अंकविहीन छ । डबल राउण्ड रोबिनको आधारमा जारी सिरिजको शीर्ष दुई टोलीले शनिबार फाइनल खेल्ने छन् ।

मंगलबारको खेल रोमाञ्चक हुने अपेक्षा छ । क्रिकेट पंडितहरु पहिलो खेलमा पिचदेखि लिएर वर्षाले केही बिग्रिएको मैदान र पिचका कारण नेदरल्यान्ड्सले पहिले ब्याटिङ गर्दा अलमलमा परेको भए पनि मंगलबारको खेलमा भने खुलेर खेल्ने अनुमान गर्छन् । 

त्यसको उदाहरण नेदरल्यान्ड्सले मलेसियालाई हराएको खेलबाट पनि स्पष्ट हुने दाबी पंडितहरुको छ । 

यो अर्थमा भने नेपाललाई नेदरल्यान्ड्सले कडा टक्कर दिनेछ । 

अर्कातिर कोरोना भाइरसको महामारीका कारण नेपाली दर्शक मैदानमा जाने छैनन् । जसले गर्दा पनि नेपाललाई केही दबाब हुन सक्छ । 

त्रिवि क्रिकेट मैदानमा दर्शकलाई निषेध
त्रिदेशीय क्रिकेट सिरिजमा दर्शकलाई मैदान प्रवेशमा निषेध गरिएको छ । टी–२० क्रिकेट सिरिजका बाँकी खेलमा दर्शकलाई प्रवेश निषेध गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा मंगलबारदेखि सञ्चालन हुने बाँकी खेलमा दर्शकलाई मैदान प्रवेशमा निषेध गरिएको क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए ।

क्यानले विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को बैठकले सार्वजनिक कार्यक्रममा २५ जनाभन्दा बढी जम्मा हुन नपाउने निर्णय गरेकाले त्रिदेशीय टी–२० क्रिकेटको बाँकी खेलमा दर्शकलाई प्रवेश निषेध गरिएको जनाएको छ ।

यस निर्णयसँगै नेपाली क्रिकेट समर्थकलाई परेको असुविधाप्रति क्यानले क्षमा मागेको छ ।

यसअघिका खेलमा भने दर्शकले १५० रुपैयाँ शुल्क तिरेर खेल हेर्न अनुमति पाएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ