arrow

ट्राई नेसन्स टि-२०: नेदरल्याण्ड्सलाई पराजित गर्दै उपाधि नेपाललाई

logo
हाम्राकुरा संवाददाता
प्रकाशित २०७८ वैशाख ११ शनिबार
Nepal-neitherlands-cricket-.jpg

काठमाडौं। ट्राई नेसन्स टि-२० अन्तर्राष्ट्रिय सिरिजको उपाधि नेपालले जितेको छ। फाइनल खेलमा नेदरल्याण्डलाई १ सय ४२ रनले पराजित गर्दै नेपालले उपाधि उचालेको हो। टि-२० अन्तराष्ट्रियमा नेपालका लागि यो पहिलो उपाधि हो। यसअघि नेपालले दक्षिण एसियाली खेलकुदमा कांस्य पदक प्राप्त गरेको थियो भने सन् २०१४मा विश्वकप समेत खेलिसकेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेटको नोक्सानीमा २ सय ३८ रन बनाएको थियो। टि-२० अन्तर्राष्ट्रिय खेलमा यो नेपालको सर्वाधिक ठुलो योगफल रहेको छ। यसअघि नेपालले भुटान विरुद्ध २ सय ३६ रनको योगफल बनाएको थियो।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ७७ रन बनाएका थिए। प्रतियोगिताको चौथो अर्ध शतक बनाउने क्रममा भुर्तेलले ५३ बलमा ३ छक्का ८ चौका प्रहार गरेका थिए। त्यसैगरि कुशल मल्लले २४ बलमा ५ छक्का र २ चौकाको मदतले ५० रन बनाएका थिए।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले बिष्फोटक ब्याटिङ गरेका थिए। उनले १८ बलमा ३ छक्का र ५ चौकाको मदतले आउट नभई ४८ रन बनाएका थिए। कप्तान ज्ञानेन्द्र मल्लले १९ बलमा २ छक्का र तीन चौकाको मदतले ३३ रन बनाएका थिए। नेदरल्याण्ड्सका लागि फिलिप बोईजेभनले २ विकेट लिएका थिए।

नेपाली ब्याटरहरुले प्रतियोगिताभर सकारात्मक एवं आक्रामक खेल खेलेका थिए। यही आक्रामक खेलले नै नेपाली टोलीको खेल सुधारिएको आम दर्शक एवं समर्थकहरूको बुझाइ रहेको छ। नयाँ कोच डेव व्हाटमोर आएपछि नेपाली खेलाडीहरूको खेलमा परिवर्तन देख्न थालिएको छ।

जवाफ ब्याटिङ गर्न ओर्लेको नेदरल्याण्ड्स नेपाली बलर र फिल्डरहरु समक्ष निरीह देखिएको थियो। नेदरल्याण्ड्सले १७.२ ओभरमा ९६ रनमा सबै विकेट गुमाएको थियो।   नेदरल्याण्डका प्रमुख ब्याटरहरुमा तोबियास भिसे र बास दे लिड रनआउट भएका थिए। भिसेलाई आशिफ शेखले आउट गरेका थिए भने लिडलाई कुशल भुर्तेलले आउट गरेका थिए। दुवै रनआउट सिधा स्टम्प्समा लागेर भएको थियो।

नेपालको जितमा करण केसीले तीन विकेट लिएका थिए । नेपाली बलरहरुको कसिलो बलिङ सामु डच खेलाडीहरु खुल्न सकेका थिएनन्। अरु बलरहरुमा सन्दीप लामिछाने र कमलसिंह ऐरीले २-२ विकेट लिएका थिए भने सोमपाल कामी र अविनास बोहोराले १-१ विकेट लिएका थिए।

नेदरल्याण्ड्सका म्याक्स ओ डोडले २० रन बनाएका थिए भने कप्तान पिटर सेलरले १३ रनको योगदान दिएका थिए। त्यसैगरि सेवस्टियन ब्राटले २६ रन बनाएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ