arrow

नेपालमा अक्सिजनको अभाव हुँदैन, २५ भन्दा बढी उद्योग निरन्तर उत्पादनमा 

मानिसहरूलाई अत्याउने काम भयो

logo
प्रकाशचन्द्र जोशी,
प्रकाशित २०७८ वैशाख १४ मंगलबार
oxygen-cylinder.jpg
फाइल तस्विर।

काठमाडौं । नेपालमा अक्सिजनको अभाव नहुने भन्दै कसैलाई पनि नआत्तिन अक्सिजन उद्योग सञ्चालकहरूले बताएका छन् ।काठमाडौं उपत्यकामा मात्रै ८ वटा अक्सिजन उद्योग रहेका छन् । जसले निरन्तर अक्सिजन उत्पादन गरिरहेका छन् ।

त्यस्तै काठमाडौं उपत्यका बाहिर कम्तीमा १५ देखि १८ अक्सिजन उद्योगहरू रहेका छन् । यसरी देशभर २५ भन्दा बढी अक्सिजन उद्योगहरूले निरन्तर अक्सिजन उत्पादन गरिरहेका छन् ।

नेपालमा यी सबै उद्योगहरूबाट गरेर दैनिक ८ हजारभन्दा बढी सिलिण्डर अक्सिजन उत्पादन भइरहेको छ । यसरी नेपालमा अक्सिजनको अभाव नुहुने शङ्कर अक्सिजन उद्योगका प्रबन्धक शम्भु भण्डारीले बताए । शङ्कर ग्यास उद्योगसँग मात्रै १२ हजारभन्दा बढी अक्सिजन सिलिण्डर रहेका छन् ।

अक्सिजनको अभाव हुँदैन: स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिर अधिकारीले अक्सिजनको अभाव नहुने बताएका छन् ।नेपालमा उद्योगहरूसँग उत्पादन क्षमता भएको र अक्सिजनको अभाव नहुने उनले बताए । ‘अहिले अक्सिजनको अभाव हुने अवस्था छैन, यहाँ कै उत्पादनले पनि पर्याप्त पुग्छ,’ उनले भने । 

यसबाहेक उद्योग वाणिज्य संघ र सरोकारवालाहरूसँग यसको कालोबजारी रोक्नका लागि समेत मन्त्रालयले सूचना जारी गरेको सह प्रवक्ता डा. अधिकारीले बताएका छन् ।

डा अधिकारीका अनुसार देशभरिका ३० अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएका छन् । ती अस्पतालबाट दैनिक दुई हजार ५ सय ४९ सिलिण्डर अक्सिजन भर्न सक्ने क्षमता छ । केही अस्पतालमा लिक्विड अक्सिजन ट्याङ्कसमेत छन् । 

मानिसहरूलाई अत्याउने काम भयो
अक्सिजनको अभाव हुन्छ भनेर मानिसहरूलाई अत्तयाउने काम भएको प्रबन्धक भण्डारी बताउँछन् । भारतको अवस्था देखेर नेपालमा पनि त्यस्तै समस्या आउँछ भनेर मानिसहरूलाई लागेको उनको भनाइ छ ।

तर, गलत समाचार भ्रमको पछि नलाग्न प्रबन्धक भण्डारी बताउँछन् । ‘अक्सिजनको उत्पादन पर्याप्त छ, जसलाई आवश्यक्ता पर्‍यो उसले पाउँछ, बाँकी आत्तिनुपर्ने जरुरी छैन,’ उनले भने ।

भारतको स्थिती सहज बन्दै
भारतीय अधिकारीहरूले एकदुई हप्तामा अवस्था केही सहज हुने बताएका छन् । भारतमा अहिले अक्सिजन ढुवानी र उत्पादन क्षमता बढाइँदै गएको छ ।

यसो हुँदा त्यहाँको अवस्था केही सहज हुँदै गएपछि भारतबाट नेपाल आउने अक्सिजन आपूर्ति हुने देखिएको छ ।

भारतबाट आयात गर्ने अक्सिजन भनेको तरल अक्सिजन हो । अक्सिजनलाई झण्डै माइनस १८० डिग्रिसम्म चिसो बनाएपछि अक्सिजन ग्यास तरल हुने गर्छ ।

सिलिण्डरमा भरिने भनेको अक्सिजन ग्यास नै हो । नेपालमा सबै प्लान्टले अक्सिजन ग्यास उत्पादन गरिरहेका छन् । सिलिण्डरमा भरेर यो ग्यास सोझै अस्पतालहरूलाई दिन सक्ने क्षमता नेपाली उद्योगहरूसँग रहेका छ । 

त्यस कारण भारतबाट नआए पनि नेपालमै अक्सिजन पर्याप्त हुने अक्सिजन उद्योगीहरूले बताएका छन् । भारतमा दैनिक झण्डै साढे तीन लाख सङ्क्रमित थपिइरहेका छन् । नेपालमा आजसम्म कुल सङ्क्रमित संख्या साढे ३ लाख पुगेको छैन ।

भारतमा ढुवानी र अन्य केही कारणले केही समयका लागि अक्सिजनको अभाव भएको छ । सोही अवस्था देखेर नेपालमा पनि अभाव हुने हो कि भन्ने चिन्ता धेरैमा देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ