arrow

झापाको पाँच पालिकामा सेना, सशस्त्रको फरवार्ड पोस्ट ४४ स्थानमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १८ शनिबार
jhapa.jpg.png

झापा। कोभिड–१९ को सङ्क्रमणविरुद्ध सचेतना फैलाउन जिल्लाको पाँच स्थानमा नेपाली सेनाको टोली परिचालन गरिएको छ। मेचीनगर र भद्रपुर नगरपालिकासहित कचनकबल, गौरीगञ्ज र झापा गाउँपालिकामा सेनाको टोली परिचालन गरिएको नेपाली सेनाका चारआलीस्थित श्रीनाथ गणका प्रमुख सेनानी अमरजङ्ग थापाले बताए। गत वर्षसमेत कोभिड–१९ को महामारी तीव्र गतिमा फैलिएका बेला नेपाली सेनाको टोली दक्षिण झापाको कचनकबल गाउँपालिकामा परिचालन गरिएको थियो।

सेनाले बनाउन थाल्यो होर्डिङ सेन्टर
नेपाली सेनाले काँकडभिट्टा नाकामा होर्डिङ सेन्टर निर्माण गर्न थालेको छ। श्रीनाथ गणबाट क्याप्टेन विजय निरौलाको कमान्डमा गएको टोलीले काँकडभिट्टा खेलमैदानमा शुक्रवारदेखि होर्डिङ सेन्टरको पूर्वाधार निर्माणको काम सुरु गरेको हो। पहिलो दिन सेनाको टोलीले खेलमैदानको आधा भाग ओगट्ने गरी रेखाङ्कन गरेको छ भने बाँसलगायत सामग्री किनेर घेराबेरा बनाउन थालेको छ । यहाँ एक हजार क्षमताको होर्डिङ सेन्टर बन्न लागेको हो।

सीमामा सशस्त्रको ४४ वटा फरवार्ड पोस्ट
यसैबिच झापामा भारतसँगको १४४ दशमलव दुई किलोमिटर सीमा क्षेत्रमा सशस्त्र प्रहरीले ४४ वटा फरवार्ड पोस्ट स्थापना गरेको जनाएको छ। सशस्त्र प्रहरी बल २ नं गणका सूचना अधिकारी प्रेम भण्डारीका अनुसार सीमा सुरक्षा र अपराध नियन्त्रणका लागि गत वर्ष १३ वटा फरवार्ड पोस्ट स्थापना गरिएका थिए। यसपालि ३१ वटा पोस्ट सीमा क्षेत्रमा स्थापना गरिएका छन्।

कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर तीव्र रूपमा फैलिन थालेपछि सीमाबाट अवाञ्छित आवागमन हुन नदिन सशस्त्र प्रहरीले फरवार्ड पोस्ट स्थापना गरेको उनले बताए। झापाका सीमावर्ती क्षेत्रमा हाल १८ वटा बोर्डर आउट पोस्ट रहेका छन्। सशस्त्र प्रहरीको परिचालन र पोस्टको बढोत्तरीपछि सीमा क्षेत्रमा नेपाली सुरक्षा व्यवस्था कसिलो भएको छ।

झापामा आइतबारदेखि निषेधाज्ञा
कोभिड–१९ को बढ्दो सङ्क्रमण रोक्न झापामा आइतबारदेखि लागू हुने गरी निषेधाज्ञा जारी भएको छ। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले शुक्रवार जारी गर्नुभएको आदेशमा अत्यावश्यक कामबाहेक सर्वसाधारणले घर बाहिर निस्कन नपाइने उल्लेख छ।

आदेशमा हाटबजार, भेला, जुलुस, सभा, मेला, भोजभतेर आदि गर्न नपाइने भनिएको छ। निषेधाज्ञा आइतबार राति १२ बजेबाट सुरु हुने र वैशाख २६ गते राति १२ बजे समापन हुने भएको छ। सिनेमा हल, स्विमिङ पुल, सामूहिक खेलकुद, पुस्तकालय, जिम खाना, पार्टी प्यालेस, सैलुन र ब्युटी पार्लर सो अवधिमा बन्द गरिनुपर्ने निषेधाज्ञामा जनाइएको छ।

निषेधाज्ञामा यातायातमा जोर बिजोर लगाउने र सरकारी कार्यालयसहित बैङ्क र वित्तीय संस्थामा आलोपालो प्रणाली लागू गराउने भनिएको छ। शुक्रवार कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठक बसेको थियो। बैठक लगत्तै निषेधाज्ञा जारी गरिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ