arrow

कोरोना संक्रमणको असर : देवघाटमा दोब्बरले बढ्यो शव

logo
नारायण अधिकारी,
प्रकाशित २०७८ वैशाख २२ बुधबार
chita.jpg

चितवन । देशैभर कोरोनाको संक्रमण बढिरहेको बेला पवित्र तीर्थस्थल देवघाटधाममा अन्तिम संस्कारका लागि ल्यााउने शवको सङ्ख्या दोब्बरभन्दा बढी भएको छ । संक्रमितको शव बागेश्वरीमा र अन्यको देवघाटमा अन्तिम संस्कार गरिँदै आएको छ ।
 
देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेका अनुसार दैनिक सात-आठवटा शव दाहसंस्कारका लागि आउने गरेकामा अहिले यो सङ्ख्या बढेर एकै दिन १९ सम्म पुगेको छ । यसअघि धेरै शव आएका दिन १० वटासम्म हुने गरेको भन्दै उनले एकाएक शव बढेपछि दाउराको व्यवस्थापन जटिल बन्ने बताए ।
 
कोरोनाबाट मृत्यु भएकाहरुको नेपाली सेनाको सहयोगमा बागेश्वरीस्थित नारायणी नदी किनारमा अन्तिम संस्कार गरिन्छ । कतिपयलाई जलाइन्छ भने कतिपयको धार्मिक विधिअनुसार पुर्ने गरिन्छ । जलाउनका लागि देवघाटबाटै दाउरा लैजाने गरिन्छ ।
 
घिमिरेको भनाइमा विगतका तुलनामा दोब्बरभन्दा बढी शव आउन थालेपछि थप दाउरा व्यवस्थापनको तयारी थालिएको छ । शवको व्यवस्थापनमा सहयोग गर्दै आएको कालीबहादुर गण भरतपुरका प्रमुख सेनानी विज्ञानराज खनालका अनुसार संक्रमण भएका दैनिक तीन-चारवटा शव सेनाले व्यवस्थापनमा सहयोग गर्दै आएको छ । अन्य शव देवघाटमा अन्त्येष्टि गरिन्छ ।
 
गत वर्ष यही समयमा पहिलो पटक लकडाउन हुँदा देवघाटमा शवको सङ्ख्या पनि घटेको थियो । उक्त समयमा दैनिक ५-६ वटा मात्रै शव आउने गरेको बताइन्छ । तर यस पटक शवको सङ्ख्या बढ्नुलाई संक्रमणको कारण होम आइसोलेशनमा मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । होम आइसोलेशनमा मृत्यु भएकाहरुको शव आफन्तले नै अन्त्येष्टि गर्ने गरेको हुन सक्ने देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष टङ्कनाथ पौडेलले बताए ।
 
सामान्य अवस्थामा टाढाटाढाबाट समेत शव ल्याइने भए पनि लकडाउनका कारण अहिले अन्यत्रबाट शव देवघाट ल्याइँदैन । स्थानीय खोला नदीहरुमा नै अन्त्येष्टि गरिँदै आएको छ । देवघाट क्षेत्रमा वृद्धवृद्धाहरुको बसोबास धेरै भएकाले समितिले थोरै सङ्ख्यामा मात्रै मलामी आइदिन र अन्त्येष्टिस्थलबाट सोझै फर्किन आग्रह गर्दै आएको छ ।

चितवनका दुई अस्पतालमा १८ घण्टामा आठ जनाको मृत्यु
 चितवनका दुईवटा अस्पतालमा १८ घण्टामा आठजना कोरोना संक्रमितको मृत्यु भएको छ । मङ्गलबार मध्याह्न ३:३० देखि बुधबार बिहान ९:२६ बजेसम्म आठ जनाको मृत्यु भएको हो । मृत्यु भएकामध्ये पाँचजना ४० देखि ४५ वर्ष उमेर समूहका रहेका छन् ।
 
चितवन मेडिकल कलेजमा चार र भरतपुर अस्पतालमा चार जनाको मृत्यु भएको छ । मृत्यु हुने अधिकांश ५० वर्ष मुनिका रहेका छन् । चितवन मेडिकल कलेजका सूचना अधिकारी डा किशोर अधिकारीका अनुसार रुपन्देहीको बुटवल उपमहानगरपालिकाका ४२ वर्षीय पुरुष, रुपन्देहीकै शुद्धोधन नगरपालिकाका ४२ वर्षीय पुरुष, नवलपपरासीको गैँडाकोट नगरपालिकाका ५८ वर्षीय पुरुष र रुपन्देहीको तिलोत्तमा नगरपालिकाका ५८ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । मृत्यु भएकाहरुमा कोभिडबाहेक अन्य जटिल समस्या नरहेको अधिकारीले जानकारी दिए ।
 
यस्तै भरतपुर अस्पतालका मेडिकल रेकर्डर नारायण रिजालका अनुसार भरतपुर–४ का ६२ वर्षीय पुरुष र बुटवलका ४० वर्षीय पुरुषको मङ्गलबार दिउँसो, साँझ मकवानपुरको हेटौँडा नगरपालिकाका ४३ वर्षीय पुरुषको र आज बिहान भरतपुर महानगरपालिकाका ४५ वर्षीय पुरुषको मृत्यु भएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ