arrow

च्याम्पियन्स लिगको उपाधिका लागि चेल्सी र म्यानचेस्टर सिटी भिड्ने, रियाल मड्रिड बाहिरियो 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २३ बिहिबार
chelsea-1620267682.jpg

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि दुई इङ्गलिश क्लबहरु चेल्सी र म्यानचेस्टर सिटी भिड्ने भएका छन् । पहिलो सेमिफाइनलमा सिटीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई समग्रमा ४–१ गोल अन्तरले हरायो । 

दोस्रो सेमिफाइनलमा चेल्सीले स्पेनिश क्लब रियाल मड्रिडलाई ३–१ गोल अन्तरले हरायो । सेमिफाइनलको पहिलो लेगमा रियालको मैदानमा १–१ गोलको बराबरी खेलेको चेल्सीले दोस्रो लेगमा बुधबार राति घरेलु मैदानमा भएको खेलमा २–० गोल अन्तरको स्पष्ट जित निकाल्यो । 

दोस्रो लेगको खेलमा चेल्सीलाई जित दिलाउन टिमो वार्नर र मिसन माउण्टले एक एक गोल गरे । 

फाइनल भिडन्त 
फाइनल खेल टर्कीको इस्तानबुलमा मे २९ तारिखको राति १२ः४५ बजे हुनेछ । दुई इङ्गलिश क्लब भिड्दै गर्दा यसको संयोग गजबको छ । 

चेल्सीले तेस्रो पटक च्याम्पियन्स लिगको फाइनल खेल्दैछ । चेल्सीले अहिलेसम्म एउटा उपाधि जितेको छ । सन् २००८ मा पहिलो पटक फाइनल खेलेको चेल्सी अर्को इङ्गलिश क्लब म्यानचेस्टर युनाइटेडसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो । 

सन् २०१२ मा भएको दोस्रो फाइनल भिडन्तमा भने चेल्सीले बाजी मार्यो । चेल्सीले फाइनलमा जर्मन क्लब बार्यन म्युनिखलाई हराएर उपाधि जितेको थियो ।

चेल्सी यो वर्ष कम्तिमा दुई वटा उपाधि जित्न चाहन्छ । प्रिमियर लिगको उपाधि गुमाइसकेको चेल्सीले च्याम्पियन्स लिग जित्न चाहन्छ । 

त्यसअघि चेल्सीले एफए कपको उपाधि उचाल्न चाहन्छ । एफए कपको फाइनल मे १५ मा हुँदैछ । चेल्सीले लेस्टर सिटीसंग खेल्दैछ । 

म्यानचेस्टर सिटी भने पहिलो पटक फाइनल पुगेको हो । सिटी निकै फर्ममा छ । उसले इङ्गलिश प्रिमियर लिगको उपाधि जित्ने पक्का छ । यसै वर्ष उसले काराबाओ कपको पनि उपाधि उचालिसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ