arrow

गुल्मीमा जेठ ४ गतेसम्म निषेधाज्ञा जारी

logo
रमेश विश्वकर्मा,
प्रकाशित २०७८ वैशाख २४ शुक्रबार
gulmi_district_map.png

गुल्मी। गुल्मी जिल्लामा जेठ ४ गतेसम्म थप निषेधाज्ञा जारी हुने भएको छ । जिल्लामा संक्रमणको अवस्था कायमै रहेकोले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको शुक्रवार बसेको बैठकले जेठ ४ गतेसम्म निषेधाज्ञाको समय थप गर्ने निर्णय गरेको हो । 

यस अघि जारी गरिएको निषेधाज्ञा शनिवार (भोलि) राती १२ बजे सकिँदै छ । थप गरिएको निषेधाज्ञा शनिवार राती १२ बजेदेखि जेठ ४ गतेसम्म रहने प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले जानकारी दिइन् ।

निषेधाज्ञा जारी गरिएको समय अब धिमा अति–आवश्यक बाहेक अन्य सेवाहरू सबै बन्द रहने छन् । जिल्लाका खाद्य सामग्री, दूध, फलफूल, तरकारी माछा मासु, पानी, ग्यास बिहान ७ बजेदेखि ९ बजे सम्म स्वास्थ्यका मापदण्डहरू पुरा गरी सञ्चालनमा रहने बताइएको छ । 

विवाह प्रयोजनका लागि शुभ विवाह लेखिएको ब्यानर सहित बढीमा दुई वटा गाडीमा १५ जना सम्मलाई नजिकैको प्रहरी चौकीबाट सहजीकरण गर्ने प्रशासनले जनाएको छ । थप गरिएको निषेधाज्ञालाई अघिको भन्दा कडाइका साथ लागु गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । त्यस्तै निषेधाज्ञा अवधिभर औषधी उपचार तथा अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घर बाहिर ननिस्कने प्रशासनले आग्रह गरेको छ । 

सबै प्रकारका गोष्ठी, तालिम, सभा, सम्मेलन, सेमिनार गर्न मानिसहरू जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस गर्न, जात्रा महोत्सव गर्न तथा कुनै पनि प्रकारको खेलकुद सञ्चालन गर्न निषेध गर्ने निर्णय गरिएको छ । विद्यालय, शिक्षालय, तालिम केन्द्र, सिनेमा हल, पार्टी प्यालेस, होटेल, रेस्टुरेन्ट, नाचघर, क्लब, फुटसल, जिम खाना, ब्युटी पार्लर, सैलुन, सुनचाँदी पसल, टेलरिङ्ग, फुटपाथ पसलहरू लगायतका सेवा एवं स्थलहरू नखोल्न एवम् सञ्चालन नगर्ने निर्णय गरिएको छ । 

मठ मन्दिरहरू तथा विभिन्न धार्मिक स्थलहरूमा परम्परागत रूपमा गरिने नित्य पूजा बाहेक अन्य सम्पूर्ण धार्मिक सांस्कृतिक गतिविधिहरू बन्द गर्ने । एम्बुलेन्स, दमकल, शव वाहन, अत्यावश्यक खाद्य सामग्री तथा पशुपक्षीका दाना, दूध, फलफूल, तरकारी, माछा, मासु, पानी, ग्याँस, पेट्रोलियम पदार्थ, निर्माण सामग्री बोकेका सवारी साधनहरू, औद्योगिक कच्चा पदार्थ बोकेका सवारी साधनहरू, चिकित्सक तथा स्वास्थकर्मीहरुले ड्युटी जान आउन प्रयोग गर्ने सवारी साधनहरू, औषधी तथा स्वास्थ्य सामग्री बोकेका सवारी साधनहरू, क्वारेनटिन तथा आइसोलेसनमा बिरामीको उपचारमा खटिएका सवारीसाधन, अत्यावश्यक सेवाका सवारी साधन, प्रेस पास तथा परिचयपत्र वाहक संचारकर्मीहरुले प्रयोग गरेका सवारी साधनहरू बाहेक गुल्मी जिल्लाभर यात्रुवाहक सार्वजनिक तथा निजी सवारी साधनहरूको सञ्चालनमा रोक लगाउने निर्णय गरिएको छ । 

गुल्मी जिल्ला भएर अन्य निषेधाज्ञा जारी नभएका जिल्ला जाने सवारी साधनहरू गुल्मी जिल्लामा यात्रु ओराल्न र चढाउन नपाउने गरी सञ्चालन गर्न दिने । निर्माण तथा खाद्य सामाग्रीका सवारी साधनमा चालक तथा सहचालक मात्र रहन पाउनेछन् । विवाह, व्रतबन्ध एवम् अन्य संस्कारजन्य कार्यक्रमहरु घरमै सञ्चालन गर्नुपर्ने र त्यस्ता कार्यक्रममा स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रूपमा अपनाई १५ जना भन्दा बढी सहभागी हुन नपाइने बताइएको छ । औषधी एवम् स्वास्थ्य सामग्रीका पसलहरू २४ सै घण्टा खुल्ला रहने बताइएको छ । 

स्वास्थ्य सुरक्षा, सञ्चार, विद्युत्, खानेपानी, दमकल बाहेक अन्य सरकारी तथा गैरसरकारी कार्यालय बाट प्रदान गरिने सबै प्रकारका सेवाहरू बन्द गर्ने । अत्यावश्यक बाहेकका कार्यालयमा न्यूनतम कर्मचारीबाट कामहरू गर्ने । अत्यावश्यकता तथा मानवीय कार्यका लागि बाहेक बैङ्क तथा वित्तीय संस्था (बिमा कम्पनी, सहकारी समेत) को सेवा बन्द गर्ने निर्णय गरिएको  छ । 

अत्यावश्यक उपभोग्य तथा खाद्यवस्तुको आपूर्तिको व्यवस्था गुल्मी उद्योग वाणिज्य सङ्घ तथा च्याम्बर्स अफ कमर्सले मिलाउने छन् । आयोजनामा काम गर्ने कामदारलाई कार्यस्थलमै रहने व्यवस्था मिलाई विकास निर्माणका आयोजना सुचारु गर्ने । जिल्लामा हाल उपलब्ध रहेका एम्बुलेन्सहरू सञ्चालनका लागि सम्बन्धित स्थानीय तह तथा निकायहरूले तयारी अवस्थामा राखी कुनै पनि अवरोध नहुने गरी सञ्चालनको व्यवस्था मिलाउने ।  निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवा बाहेक अन्य प्रयोजनको लागि सवारी पास जारी नहुने प्रशासनले जनाएको छ । 

औषधी तथा अत्यावश्यक उपभोग्य वस्तु तथा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने, लुकाउने, सहज आपूर्तिमा अवरोध गर्नेलाई कारबाही गरिने बताइएको छ । त्यस्तै जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा अवज्ञा गरे संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 जिल्लामा शुक्रवारसम्म ४ सय ७६ जना सक्रिय संक्रमित छन् । २३ जना निको भएर घर फकिएका छन् । संक्रमणका कारण हालसम्म १५ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ