arrow

कृष्णचन्द्र नेपाली तीन दिनभित्रै गण्डकीको मुख्यमन्त्री बन्ने

logo
हरि पन्त
प्रकाशित २०७८ वैशाख २६ आइतबार
prithivi-subba-krishnachandra-nepali.jpg

पोखरा । गण्डकी प्रदेशमा तीन दिनभित्र नयाँ सरकार गठन हुने भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट दिएको राजीनामा स्वीकृत भएसंगै नयाँ सरकारका लागि आह्वान भएको हो ।

प्रदेश प्रमुख सीता कुमारी पौडेलले संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम गुरुङले दिएको राजीनामा स्वीकृत गर्दै तीन दिनभित्र  नयाँ सरकार गठन गर्न आह्वान समेत गरेकी हुन् ।

प्रदेश प्रमुखको कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा अर्को सरकार गठन नहुँदासम्म संविधानको धारा १६९ को उपधारा ३ बमोजिम मौजुदा मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने जिम्मेवारी गुरुङ नेतृत्वको सरकारलाई नै दिएको उल्लेख छ ।

मुख्यमन्त्री गुरुङमाथि प्रदेशसभामा अविश्वास प्रस्ताव पेस भएको थियो भने सो प्रस्तावमाथि सोमबार मतदान हुने कार्यसूची रहेकै बेला उनले अकस्मात राजीनामा दिएका हुन् ।

यसअघि अविश्वास प्रस्तावमा १५ वैशाखमा मतदान हुने कार्यसूची थियो । तर संसद चलिरहेको अवस्थामा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही बेपत्ता भएकाले बैठक स्थगित गरी खोजी गरिदिन सांसद प्यारी थापाले निवेदन दिएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो । त्यसपछि दलहरुबीच असन्तुष्टि बढेपछि प्रदेशसभा बस्न सकेको थिएन ।

यही बीचमा वैशाख २३ मा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले २७ गते बिहान ११ बजे बैठक बस्ने निर्णय गरेको थियो । प्रदेशसभामा २ वैशाखमा अविश्वास दर्ता भएको थियो ।

विपक्षी गठबन्धनका दाउ

गण्डकीमा विपक्षी गठबन्धनले प्रदेश प्रमुख समक्ष बहुमत सांसदको हस्ताक्षरसहित सरकार गठनका लागि दावी गर्ने भएको छ । नेपाली काँग्रेसका एक सांसदका अनुसार सम्भवतः सोमबार नै विपक्षी गठबन्धनले सरकार बनाउन दावी पेश गर्नेछ।

मुख्यमन्त्रीले राजीनामा दिएसंगै विपक्षीहरुले नयाँ सरकारका लागि छलफल शुरु गरेका छन् । सोमबार प्रदेश प्रमुखलाई भेटेर बहुमतसहित सरकारको दावी गर्ने उनीहरुको तयारी छ ।

विपक्षी गठबन्धनले अब स्वाभाविक रुपमा सरकारमा दावी गर्ने ती सांसद बताउँछन् । ‘मुख्यमन्त्री संसदमा फेस गर्न डराउनुभयो,’ उनले भने, ‘अविश्वास प्रस्तावमाथि मतदान हुने पूर्वसन्ध्यामा उहाँले राजीनामा दिनुभयो । स्वाभाविक रुपमा अब विपक्षी गठबन्धनले सरकारमा दावी गर्दछ ।’

विपक्षी गठबन्धनलाई तोड्न सरकारले अनेक प्रयास गरे पनि अन्ततः त्यो सफल हुन नसकेपछि मुख्यमन्त्रीले राजीनामा दिएको उनको भनाइ थियो । ‘गठबन्धनका साथीहरुसहित प्रदेश प्रमुखकोमा बहुमतको सरकार बनाउन जान्छौं,’ उनले भने, ‘सम्भवतः भोलि नै हामी प्रदेश प्रमुखलाई भेट्छौँ ।’

अबको मुख्यमन्त्री को ?

वैशाख २ गते पेश भएको अविश्वासको प्रस्तावमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई हटाएर नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीलाई प्रस्ताव गरिएको थियो । तर अब अविश्वास प्रस्ताव निणायार्थ पेश नहुने भएपछि कृष्णचन्द्र पोखरेल नेपाली मुख्यमन्त्रीका दावेदार मात्र रहे ।

तर माओवादी केन्द्रका एक सांसदका अनुसार स्वभाविकरुपले नेपाली नै मुख्यमन्त्रीका प्रमुख दाबेदार रहेको बताए । उनले अबको मुख्यमन्त्री नेपाली नै हुने दावी समेत गरे । उनले भने, ‘विपक्षी गठवन्धनको ठूलो दलको नेताको हैसियतमा उहाँ नै भावी मुख्यमन्त्री हो । हामी उहाँलाई नै मुख्यमन्त्री बनाउन लाग्नेछौं ।’ उनको दावी अनुसार अबको २४ घण्टामा कुनै राजनीतिक चलखेल नभएमा नेपाली मुख्यमन्त्री बन्ने पक्का छ । 

विपक्षीलाई जनमोर्चाको समर्थन कायमै

गण्डकीमा नयाँ सरकार गठनका लागि निर्णायक भूमिकामा रहेको राष्ट्रिय जनमोर्चाले विपक्षी गठबन्धनलाई नै साथ दिने भएको छ । त्यसका लागि सोमबार सांसदहरूको हस्ताक्षर संकलन गर्न लागिएको बताइएको छ । नयाँ सरकार बनाउन सक्रिय विपक्षी गठबन्धनलाई सहयोग गर्न हस्ताक्षर संकलन गर्न लागिएको बताइन्छ ।

विपक्षी गठबन्धनसँग कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका २८ सांसदको हस्ताक्षर छ । जनमोर्चाको साथ पाउने भएपछि सरकार बनाउन ३१ सांसद पुग्ने निश्चित छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ