- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । पोखरा विश्वविद्यालयमा लामो समयपछि डीन तथा परीक्षा नियन्त्रक नियुक्ति भएका छन् । पोविविको कार्यकारी परिषद्ले करिब डेढ वर्षसम्म खाली रहेका पदमा डीन र नियन्त्रक नियुक्ति गरेको हो ।
परिषद्ले सोमबारदेखि लागु हुने गरी सहप्राध्यापक राजेशकुमार ठगुराठीलाई विज्ञान तथा प्रविधि संकायको डीन पदमा नियुक्त गरेको हो । उनी पोविविकै स्कुल अफ इन्जिनियरिङमा कार्यरत थिए ।
यसै गरी स्कुल अफ हेल्थ एन्ड एलाइड साइन्सेजका सहप्राध्यापक डा. अमर नागिलालाई स्वास्थ्य विज्ञान संकायको डीन पदमा नियुक्त गरिएको पोखरा विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिए ।
यस्तै, पोविवि स्कुल अफ डेभलपमेन्ट एन्ड सोसल ईञ्जिनियरिङ्गका सहप्राध्यापक डा. अजय थापालाई मानविकी तथा सामाजिक शास्त्र संकायको डीन पदमा नियुक्त गरिएको छ ।
यसै गरी, पोखरा विश्वविद्यालयको रिक्त परीक्षा नियन्त्रक पदमा स्कुल अफ हेल्थ एन्ड एलाईड साइन्सेजका सह–प्राध्यापक डा. तुलसीराम भण्डारीलाई नियुक्ति गरिएको बताइएको छ ।
पोखरा विश्वविद्यालय ऐन २०५३ को दफा २७ (२)ले दिएको अधिकार प्रयोग गरी सोही ऐनको दफा २७ (३) बमोजिम चार वर्षका लागि नियुक्त गरिएको ढकालले जानकारी दिए ।
पोविविमा लामो समयसम्म पदाधिकारी तथा महत्त्वपूर्ण पदमा कर्मचारी नियुक्त हुन नसक्दा परीक्षा, परीक्षाफल प्रकाशन लगायतका काम प्रभावित भएको थियो । जसले गर्दा विद्यार्थीहरू मारमा परेका थिए । पदाधिकारी तथा कर्मचारी नियुक्तिको माग राख्दै विद्यार्थीले लामो आन्दोलन गरेका थिए ।