arrow

गण्डकीमा संक्रमित ह्वात्तै बढे, मङ्गलवार मात्रै १५ सय ४९ जना थपिए

logo
हरि पन्त,
प्रकाशित २०७८ जेठ ११ मंगलबार
gandaki-province-corona.jpg

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या ह्वात्तै बढेको छ । सोमबारको तुलनामा मङ्गलवार डब्बल संक्रमित थपिएका हुन् ।

सोमबार गण्डकीमा ७४४ जना संक्रमित भेटिएकामा मङ्गलवार बढेर एकै दिन १५ सय ४९ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा कास्कीका मात्रै ४४० जना छन् । 

मङ्गलवार भेटिएका संक्रमितमध्ये ६९३ जना महिला र ८५५ जना पुरुष छन् । योसहित गण्डकी प्रदेशमा कूल संक्रमितको सङ्ख्या ३६ हजार ८७५ जना पुगेको छ । 

मङ्गलवार मुस्ताङमा ४४ जना, म्याग्दीमा ५१ जना, पर्वतका ९२ जना, गोरखाका २२३ जना, लमजुङमा २३९ जना, तनहुँमा ६२ जना संक्रमित भेटिएका हुन् ।

यसै गरी बागलुङका दुई जना, स्याङ्जाका २४० जना, नवलपरासी पूर्वका १५६ जना संक्रमित भेटिएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए । 

मङ्गलवार भेटिएका संक्रमितसहित गण्डकीमा कूल संक्रमितको सङ्ख्या ३६ हजार ८७५ जना पुगेको डा. शर्माले बताए । 

थप १९ जनाको मृत्यु

कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशका थप १९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये कास्कीका नौ जना छन् । 

यस्तै मुस्ताङमा एक, पर्वतमा एक, गोरखामा एक, लमजुङमा एक, तनहुँमा दुई, बागलुङमा एक, स्याङ्जामा दुई र नवलपरासी पूर्वमा एक जनाको मृत्यु भएको डा. शर्माले जानकारी दिए । 

योसँगै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५७० जना पुगेको छ ।

१० हजार बढी सक्रिय संक्रमित

गण्डकीमा १० हजार ६०८ जना सक्रिय संक्रमित रहेका छन् । गण्डकीमा कूल ३६ हजार ८७५ जना संक्रमित भेटिएकोमा २५ हजार ६९७ जना निको भएका छन् । सक्रिय संक्रमितमध्ये ९७ सय सात जना होम आइसोलेसनमा छन् ।

यस्तै मङ्गलवार १२ सय ७७ जना संक्रमित निको भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ३३ सय ६८ जनाको परीक्षण गरिएकोमा १८ सय १९ जनाको रिपोर्ट नेगेटिभ आएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ