arrow

पुनर्जीवन पाएको अनुभूति गरेको छु: खिलध्वज पन्थी 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १८ मंगलबार
kil-dhose-panthi.jpg

गुल्मी । नेपाली काँग्रेस गुल्मीका सचिव खिलध्वज पन्थी झण्डै एक महिनाको होम आइसोलेसनको बसाइपछि कोरोनामुक्त भएका छन्। विश्वलाई नै आक्रान्त बनाइरहेको कोरोना भाइरस सङ्क्रमणबाट पन्थी पनि अछुतो रहेनन्। निरन्तर जनताका काममा खटिने पन्थीमा गत वैशाख १६ गते कोरोना सङ्क्रमण पुष्टि भयो। 

आफू परिवारको अभिभावक भएकाले अन्य सदस्यहरूको हेरचाह गर्नुपर्ने थियो। तर पन्थी आफै सङ्क्रमित भएपछि मानसिक तनावको सिकार बन्नुपर्‍यो। यही बीचमा नयाँ भेरियन्ट सहितको कोरोना भाइरस सङ्क्रमणका कारण गुल्मीका मात्र ७८ जनाले ज्यान गुमाए। 

पन्थी होम आइसोलेसनबाटै सबै कुरा समाचारमा हेर्थे र पढ्थे। त्यस समयमा उनलाई कोरोनाबाट कसरी पुनर्जीवन प्राप्त गर्ने, सिङ्गो परिवारलाई महामारीबाटमुक्त गरी कसरी नयाँ जीवन प्रदान गर्ने भन्ने पिरले खुब पिरोल्थ्यो। जनता कोरोनाको आहालमा एक मुठी सासका लागि सङ्घर्ष गरिरहेका बेला पन्थी उनीहरूको सारथि बन्न चाहन्थे। 

कोरोनाको आहालमा डुबिरहेका परिवारहरूलाई सहयोग र हौसला बाँड्न चाहन्थे। तर विडम्बना ! गरिब, दुःखीका सारथि पन्थी आफै कोरोनासंग पैठे जोरी खेलिरहेका थिए। तर हार भने खाएनन्। पन्थी उच्च मनोबलका साथ अन्ततः २७ दिनको अत्यास लाग्दो होम आइसोलेसनको बसाइपछि घरका सबै सदस्यहरू सहित कोरोना सङ्क्रमणमुक्त भएका छन्।   

४६ वर्षीय पन्थी भर्खर कोरोनामुक्त भएका हुन्। झण्डै एक महिनाको लामो आइसोलेसनको बसाइलाई सम्झिदै पन्थीले भने, ‘रेडियो, टेलिभिजन र सामाजिक सञ्जालमा आइरहने आफ्नो प्रियजनको मृत्युको खबरले निकै भाव विह्वल बनाउँथ्यो। त्यस समयमा आफू सङ्क्रमित भए पनि कतै जुरुक्कै उठेर उनीहरूको उपचार र उद्धारमा जुट्न मन लाग्थ्यो।’ 

कोभिड–१९ को महामारीसँग जुध्न सरकारको तयारी राम्रो नभएकै कारण धेरैले अकालमा ज्यान गुमाउनु परेको पन्थीको भनाई छ। ‘जनता कोरोनाबाट थला परिरहेका छन्। देश धुरु–धुरु रोइरहेको छ।’ उनले भने,‘जनताले सरकार पुकारी रहेका छन्। गरिब र मजदुरका घरमा छाक अड्किने अवस्था आएको छ। तर सरकार कहीँ भेटिन्न। कहीँ देखिन्न।’ 

सचिव पन्थीले यति बेला जनताको घर–घरमा गएर एन्टीजेन परीक्षण गरिनुपर्ने सुझाव दिए। ‘सरकार अहिले कोरोना सङ्क्रमितको डाटा बनाइरहेको छ। डाटामा रमाइरहेको छ।’ उनले भने,‘ सरकार तिमि कहाँ भेटिन्छौँ ?, यी आँसुहरू कसले देख्ने ? यो छटपटाहट कसले सुन्ने ?’ 

कोरोना सङ्क्रमणका कारण पछिल्लो समय समाजप्रतिको दायित्व र सेवामा आफू निरन्तर खट्न नसके पनि अब भने जनताको सेवाका लागि आफू तत्पर रहेको बताए। साथै उनले राष्ट्रिय दलित पत्रकार सङ्घ नेपाल गुल्मीले सञ्चालन गरेको ‘कोभिड–१९ मजदुर राहत अभियान’ का लागि आफ्नो तर्फबाट आवश्यक खाद्यान्न सहयोग गर्ने उद्घोष समेत गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ