- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कावासोती । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीद्वारा जिल्लाका विभिन्न स्थानमा चोरी गर्दै हिडनेहरुलाई पक्राउ गरी मङ्गलवार सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा मङ्गलवार पत्रकार सम्मेलन गरेर विभिन्न स्थानमा चोरी गरेर फरार रहेका कावासोती-१ का कृष्ण बहादुर परियार र देवचुली-१६ का मोटे हरि भनिने हरिजन दर्जीलाई चोरी गरेका सामान सहित सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा उनीहरूले गत वैशाख-२३ गते कावासोती-३ को नारायण अर्यालको घरबाट नगद, गरगहना, टेलिभिजन, थाल, कचौरा समेत गरी अन्दाजी रु. ५ लाखको धनमाल, वैशाख २५ गते कावासोती-५ दशघरे चोक बस्ने मनमाया पाईजा मगरको घरबाट सामसुङ एल.ई.डि. टेलिभिजन, राईसकुकर, प्रेसर कुकर, मिक्सर, कराई, कप सेट, ग्यास चुलो, चक्कु, बल्याङकेट, कांसको थाल, कचौरा समेत गरी अन्दाजी रु. ८१,६०० बराबरको धनमाल चोरी गरेको जानकारी दिएको थियो ।
त्यस्तै गत जेठ १४ गते कावासोती-६ विष्णुनगर स्थित सरस्वती भुसालको घरमा भाडामा पसल सञ्चालन गरेका मणि न्यौपानेको पूजा सामग्री पसलबाट नगद, पुजामा प्रयोग हुने शंख, शिवलिङ्ग, गणेशको मूर्ति, तामाको थाली, पित्तलको थाली, छाता, घ्यु, तिलको तेल, अगरबत्ती समेत गरी कुल जम्मा अन्दाजी रु. २७,०७०, बराबरको धनमाल, जेठ १४ गते नै कावासोती-६ विष्णुनगर स्थित सरस्वती भुसालको घरमा भाडामा खिममाया रानाको कोठाबाट सामसुङ मोबाइल-१ थान, उनिको दोसल्ला, खानेतेल, लाईट, काँसको थाल, काँसको कचौरा, स्टिलको कचौरा, स्टिलको थाल, खाजा प्लेट, लसुन समेत गरी अन्दाजी रु.५७,८७०, बराबरको धनमाल र जेठ १५ गते कावासोती-६ प्रगति टोल बस्ने राजु रसाइलीको घरबाट जुत्ता, हाल्फ पाइन्ट,टिसर्ट लगायतका विभिन्न कपडाहरू, मोबाइल, नगद, चाँदी, सुन, सुन तौल गर्ने मेशिन, सुन सफा गर्ने फलामका दाना समेत गरी अन्दाजी रु. ६,७६,१०० बराबरको धनमाल चोरी गरेको प्रहरीले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।
प्रहरीले उनीहरूको साथबाट सुनका गरगहना, थाल, कचौरा, टेलिभिजन, मिक्सर, पूजा सामाग्री, तेल, धूप, सिरक, लाईट, राईस कुकर, प्लेट, काटा चम्चा, विभिन्न कम्पनीका मोबाइल, मोटरसाइकल समेत बरामद गरेको जनाएको छ ।
पक्राउ परेकाहरूलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २० चोरी सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाइएको पत्रकार सम्मेलनमा प्रहरीले जनाएको छ ।