- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
डोटी । डोटीमा मूल्य वृद्धि र अखाद्य वस्तुको बिक्री वितरण भएको व्यापक गुनासोसँगै बजार अनुगमनमा सक्रियता देखाइएको छ । जिल्ला प्रशासन कार्यालय डोटीको नेतृत्वमा जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिपायल, एयरपोर्ट, राजपुर र पिपल्ला बजारमा अनुगमन गरिएको हो ।
दिपायल सिलगढी नगरपालिका वडा नं. २, ३ र ४ का बजार क्षेत्रमा लगातार दुई दिन देखि अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय डोटी जनाएको छ । अनुगमनका क्रममा भेटिएका हजारौँ मूल्य बराबरका अखाद्य वस्तुहरू जफत गर्नुका साथै पहिलो पटकलाई लिखित रूपमा सुझाव दिइएको सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताइन् ।
‘धेरै पसल तथा डिलरहरूमा मूल्य सूची नै नटाँसिएको देखियो उनले भनिन्,‘सबैलाई तत्काल अनिवार्य मूल्य सूची टाँस्न भनेका छौँ । देखिएका कमजोरीहरू सुधार गर्न निर्देशन दिएका छौँ । अर्को पटक दोहरिए कानुन अनुसार कारबाही अगाडी बढाइने छ ।’उनले थपिन् ,'अबका दिनमा जिल्ला प्रशासनले पटक–पटक गुप्त रूपमा छड्के र सामूहिक अनुगमन गर्ने छौँ ।' व्यापारीहरूलाई नियम कानुन र मापदण्ड अनुरूप मात्रै व्यवसाय सञ्चालन गर्न आग्रह गरिन् ।
मूल्य सूची नटाँस्ने, सामानको बिल दिन नमान्ने, प्रिन्ट रेट भन्दा बढी मूल्य लिने, मूल्यवृद्धि गर्ने, कालो बजारी गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने र म्याद सकिएका अखाद्य वस्तुहरूको विक्रि वितरण गर्ने व्यापारीहरूलाई कडा कारबाही गरिने प्रशासनले जनाएको छ । प्रशासनले उपभोक्ताहरूलाई सामान खरिद गर्दा अनिवार्य बिल लिन आग्रह गर्दै बिलमा शङ्का लागे उजुरी गर्न अनुरोध गरेको छ ।
डोटीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको नेतृत्वमा सरोकारवालाहरूको उपस्थितिमा अनुगमन गरिएको हो।