arrow

अन्तर्राष्ट्रिय चार्टर उडानका नाममा ब्रम्हलुट, मन्त्रीदेखि कर्मचारीसम्म कमिसनको खेलमा

नियमित फ्लाइट खोल्दा पनि केही एयरलाइन्स र एजेन्सीको चार्टरमा मनपरी

logo
युवराज गौतम,
प्रकाशित २०७८ जेठ २६ बुधबार
charter-flight-ministry.jpg

काठमाडौं । करिब १६ महिनादेखि नेपाल कोरोना भाइरसको महामारीसँग जुधिरहेको छ । शुरुवातमै पर्याप्त सावधानी अपनाउन नसक्दा भाइरस गाउँ गाउँसम्म फैलिएको छ । महामारीका कारण सबै क्षेत्र अस्तव्यस्त भइरहेको बेला अन्तर्राष्ट्रिय चार्टर उडानका नाममा कमाउधन्दा मौलाएको पाइएको छ ।
    
चार्टर फ्लाइटका नाममा पर्यटन मन्त्रालयका निवर्तमान मन्त्री भानुभक्त ढकाल, सचिव, सहसचिव, एयरवेज कम्पनीका कन्ट्री मेनेजर र ट्राभल्स एजेन्सीका साहुहरुबीचको आपसी सेटिङमा कमाउधन्दा मौलाएको पाइएको हो। चार्टर फ्लाइटमा टिकट लिएका यात्रुहरुले पनि तोकिएकै मितिमा उड्न पाएका छैनन् । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल उड्डयन प्राधिकरण, परराष्ट्र मन्त्रालय सबैतिर सेटिङ मिलाएर केही ट्राभल एजेन्सीले चार्टर फ्लाइटको नाममा तीन गुणादेखि ८गुणा महंगो भाडा असुली गरेर ब्रम्हलुट मच्चाएका छन् ।

गत वर्ष पनि चार्टर फ्लाइटका नाममा मनपरी भाडा असुल गरेर आलोचना खेपेका एयरवेज र ट्राभल्स एजेन्सीहरूले यसबर्ष पनि नयाँ भेरिअन्ट भित्रिए यता लगाइएको निषेधाज्ञाको मौकामा तोकिएको मूल्यभन्दा कैयौँ गुणा बढी भाडा असुलेका छन् । नेपालदेखि लन्डनसम्मको भाडादर सामान्यतः ७० देखि ९० हजार प्रतिव्यक्ति भए पनि निषेधाज्ञाका बेला चार्टर विमानमा एक लाख ४० हजार तिर्नुपरेको ललितपुर नखिपोटको रेनुका राईले बताइन । ‘हाम्रो परिवारबाट १५ जनाको टोली नेपाल–लन्डन यात्रा गर्दा १ लाख ४० हजारसम्म बुझाएका हौं, त्यो पनि धेरै बिन्ती गर्दा मात्र टिकट पाएका हौं,’ उनले भनिन् ।

सरकारले कोभिड–१९ को सङ्क्रमण नियन्त्रण गर्नको यही वैशाख १६ गते देखि देशभर निषेधाज्ञा जारी राखेको छ । वैशाख २० गते राती १२ बजे देखि राष्ट्रिय तथा २३ गते राती १२ बजेदेखि अन्तर्राष्ट्रिय नियमित उडानहरू बन्द गरे पनि चार्टर उडानहरूका लागी भने अनुमति दिइरहेको छ । जुन १बाट भारत, चीन, कतार र टर्की गरी ४ वटा सेक्टरमा नियमित उडान गर्ने सरकारले निर्णय गरे पनि चार्टर उडान जारी छ।

यो अवधिमा नेपालबाट भारत, युरोप, अमेरिका जाने यात्रुहरूको सङ्ख्या बढी भएकाले केही विमान कम्पनीले मन्त्रालयसम्म सेटिङ मिलाएर अनुमति लिने र सीमित ट्राभल्स एजेन्सीलाई टिकट बेच्ने अनुमति दिएर एकाधिकार जमाउँदै मनपरी शुल्क असुल गरिरहेका छन् । अहिले दुई एयरलाइन्स कतार एयरवेज र टर्कीस एयरवेज, मन्त्रालय र उड्डयन प्राधिकरणका कर्मचारीसँग मिलेमतो गरी केही सीमित एजेन्सीहरूले मनपरी शुल्क असुलिरहेका छन् ।

यसैबीच ट्राभल्स, सरकार र बिचौलियाको कमिसनको चक्करमा एयरलाईन्सका हाकिमहरू पनि रमाइरहेको टिकेटिङ व्यवसाय गरिरहेकाहरूको आरोप रहेको छ। गतवर्ष लागेको बानी यसपालि पनि कायमै रहेको आरोप लागेको छ। एयरलाईन्सहरुले आफ्ना कर्मचारीहरूलाई नियमन गर्न नसक्दा यस्तो स्थिति आएको भन्ने आरोप टिकट व्यवसायीहरूको रहेको छ। 

प्रेसिडेन्ट ट्राभल्सका सञ्चालक भोला थापाले कतार एयरलाइन्सका विमान चार्टरका लागि अनुमति लिएका छन् । टर्किस एयरको चार्टर फ्लाइटका लागि मेगावाइट ट्राभलका चित्र गुरुङले अनुमति लिएका छन् । उनीहरूले एकलौटी रूपमा विमान चार्टर गरी मनपरी भाडा असुली गर्न छुट पाएका छन् । बाध्यतामा परेका नेपाली र विदेशी यात्रुहरूलाई ती एजेन्सीहरूले जति पनि भाडा असुलिरहेका छन् । कतार एयरलाइन्सका कन्ट्री मेनेजर सरिक बोगटीसँग सेटिङमा प्रेसिडेन्ट ट्राभल्सका थापाले कतार एयरको चार्टरमा एकाधिकार जमाएका छन् । बोगटी र थापाको यो सेटिङको लाभ मन्त्रालयका मन्त्रीदेखि अनुमति दिने सहसचिवसम्मले उठाएका छन्। 

टर्किस एयरसँगको मिलेमतोमा मेगावाइट ट्राभल्सका सञ्चालक चित्र गुरुङले एकलौटी गरिरहेका छन्। त्यस्तै अर्को सि लिंक ट्राभल्सले पनि एकाधिकार जमाएर यात्रुहरूलाई लुट मच्चाइरहेको छ । उनीहरूले नियमित उडानको भन्दा तीन गुणा बढी भाडा असुलिरहेको पीडितहरूले बताएका छन् । एयर कम्पनीहरूले नेपालबाट जाँदा यात्रु पुरा पाउने भए पनि फर्किदा रित्तै फर्किनुपर्ने भन्दै दुखेसो पोख्ने गरेका छन् । ती एयर कम्पनीहरूले प्रतिफ्लाइट २५ देखि ५० लाखसम्म कमिसन मन्त्रालयदेखि, उड्डयन प्राधिकरणका कर्मचारीलाई बुझाउने गरेको स्रोतले बताएको छ ।

तर पर्यटन मन्त्रालयले भइरहेको अनियमितताको अनुगमन गर्ने र कारबाहीको दायरमा ल्याउनुको सट्टा विज्ञप्ति नै जारी गरी यात्रुहरूबाट भाडा बढी असुलेको कुरालाई झुटो भनेको छ । मन्त्रालयले २०७८ जेठ ५ गते एक विज्ञप्ति जारी गर्दै चर्को भाडा असुलेको उजुरी परेमा व्यक्ति वा कम्पनीलाई कारबाही गर्ने जनाउँदै चर्को भाडा असुलिरहेको समाचारलाई भ्रामक भनेर अनियमिततालाई ढाकछोप गर्ने प्रयास गरेको थियो ।

हुन त चार्टर उडानमार्फत यात्रा गर्नु भनेको अत्यावश्यक, भिषाको म्याद समाप्त हुन लागेका, घरायसी समस्या भएका यात्रुहरूलाई सहज होस भनेर अनुमति दिइएको कुरा सरकारले बताइरहे पनि आफन्तको निधन भई काजक्रिया गर्न आउन टिकटका लागि अनुरोध गर्दा पनि एजेन्टहरूले टिकट लुकाउने गरेका छन् ।

प्राप्त हुने टिकट पनि नियमित उडान हुँदा युरोपका लागि चारसय डलर भए पनि चार्टरका नाममा १२ सय ९५ डलर प्रतियात्रुको असुल्दै आएको पाइएको छ । त्यस्तै अमेरिका र क्यानाडाका लागि नियमित उडान गर्दा ६ सय डलर भए पनि अहिले १८ सय ९५ डलरसम्म बुझाउनु परेको यात्रुहरूको भनाइ छ ।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्टस् (नाट्टा)का अध्यक्ष अच्युत गुरागाइँ राज्य संयन्त्रकै कमजोरीका कारण एकाधिकार बढेको बताउँछन् । उनले भने, ‘एकाधिकार र सेटिङका भरमा छिटो कमाउने दाउमा एजेन्सी व्यवसायलाई दीर्घकालीन बदनाम गराउने प्रयास भइरहेको छ,’उनले भने,‘हामीले पटक पटक मन्त्रालय र क्यानका सम्बन्धित व्यक्तिहरूसँग यो अनियमिततालाई रोकौं, सीमित व्यक्तिहरूलाई कमाउने र यात्रुलाई ठग्ने क्रम रोकौं भनेका हौं तर सुनुवाइ हुँदैन ।’ गतबर्ष भन्दा यसबर्ष एकाधिकार र मनपरी भाडा असुली केही कम भए पनि रोकिन भने नसकेको उनले स्वीकारे ।
 
सेटिङको नालीबेली
हुन त सरकारी कर्मचारीतन्त्र नै सबैभन्दा ठुलो बिचौलिया बनिदिँदा निजी व्यवसायीहरूले मनपरी गर्न पाइरहेका छन् । मन्त्रीहरुलाई पनि कर्मचारीहरूले नै घुमाइदिने र मन्त्रीहरूले आफ्नो दल निकटका व्यवसायीहरूलाई काखी च्याप्दा ब्रम्हलुट व्यापक बनिरहेको छ ।

चार्टर उडानका विषयमा पनि विधि, पद्धति सरकारी नीति र नियमलाई आँखा चिम्लिने र आर्थिक लेनदेनका आधारमा काम अघि बढाइदिने परिपाटीले मनपरी बढेको कर्मचारीहरू नै स्विकारिरहेका छन् ।

‘पर्यटन मन्त्रालयले चार्टर उडानको अनुमति दिँदा एयरलाइन्सहरुबीच प्रतिस्पर्धा गराएर सस्तोमा यात्रुलाई उडाउने व्यवस्था मिलाउनुको साटो आर्थिक प्रलोभनमा जुनसुकै एयरवेज कम्पनीलाई अनुमति दिइएको पाइएको छ ।

यसमा पर्यटन मन्त्रालय मात्र होइन परराष्ट्र मन्त्रालय र स्वास्थ्य मन्त्रालयको पनि मिलेमतो हुने गरेको छ । कोरोनाको महामारीमा अन्य मन्त्रालयको निर्णय पनि विमान उडानको विषयमा आएर जोडिने गरेको छ ।

यसबाट अपारदर्शी ढंगले केही ट्राभल्सलाई मात्र चार्टर टिकेटिङको अनुमति दिनुले पनि कमिसनको खेल सहजै अनुमान लगाउन सकिन्छ ।विमान चार्टरको अनुमति परराष्ट्र मन्त्रालय हुँदै पर्यटन मन्त्रालयका सचिवले दिने व्यवस्था छ ।

गतवर्ष पर्यटन मन्त्री योगेश भट्टराई रहेका बेला मात्र होइन त्यसपछि भानुभक्त ढकाल र परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले समेत आफ्ना दल निकटका एजेन्सी मालिकहरूलाई च्याप्ने नाममा यात्रुहरूबाट चर्को शुल्क उठाएको ट्राभल्स व्यवसायीहरूको गुनासो छ ।

‘मोटो रकममा घुस बुझाउन सक्ने र आफ्ना दल निकटका व्यवसायीलाई हालीमुहाली गर्न दिने अरू सयौँ एजेन्सी र व्यवसायीहरू ऋणमा डुबिरहनुपर्ने यो कस्तो विधि र सरकारी नियम हो ?’ व्यवसायीहरूको प्रश्न छ ।

गतवर्ष पनि लकडाउनको तीन महिनाको अवधिमा विभिन्न देशमा चार्टर फ्लाइट गरी प्रतिफ्लाइट ३५ लाखसम्म कमिसन मन्त्री योगेश भट्टराईको नाममा उठाइएको खबर सार्वजनिक भएको थियो । चार्टर उडानमा ट्राभल्स एजेन्सीसँग मिलेर मन्त्री भट्टराईको टिमले करोडौं उठाएको आरोप छ ।

पर्यटन मन्त्रालयभित्रका नेकपा समर्थक कर्मचारी नै मन्त्री भट्टराईले चार्टर उडानमा देखाएको व्यवहारबाट लज्जित भएको खबर बाहिरिएको थियो ।

नेपालमा अड्किएका विदेशी र लकडाउनका कारण जान रोकिएका नेपाली यात्रुसँग मौकाको फाइदा उठाउँदै तीन गुणा बढी मूल्यमा टिकट बिक्री गर्ने कार्य मन्त्री भट्टराईका निकट ट्राभल्सका सञ्चालकहरूको डिजाइनमा काम भएको थियो ।

त्यसताका तीन वटा ट्राभल्सले तीन गुणा महँगोमा टिकट बिक्री गरेका थिए । जापान, हङकङ र अष्ट्रेलियाको चार्टर फ्लाइटमा एक फ्लाइट बराबर ७० लाख रुपैयाँसम्म ट्राभल एजेन्सीले फाइदा लिएका थिए ।

चार्टर विमानका लागि टिकेटिङको जिम्मा लिएका केही कम्पनीहरूले गतबर्ष पनि चर्को शुल्क लिएपछि सरकारले छानविनको दायरामा ल्याएको थियो । तर छानबिनकै लागि ल्याइएका एजेन्सीहरूलाई सरकारले फेरि अनुमति प्रदान गरेको थियो ।

नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पनि मन्त्रालयको सिफारिसमा आफूहरूले अनुमति प्रदान गर्ने जनाउँदै आएको छ ।चार्टर फ्लाइटको अनुमति परराष्ट्र मन्त्रालयको सिफारिस र पर्यटन मन्त्रालयको निर्देशन अनुसार क्यानले दिने गर्छ ।

मेगाबाइट ट्राभल्स एजेन्सीका सञ्चालक चित्र गुरुङले टिकट शुल्कका बारेमा बोल्नै चाहेनन् । आफूहरूले अमेरिका र युरोपका विदेशीहरूका लागि मात्र टिकेटिङ गरिरहेको र विस्तृतमा टिकट दरबारे बोल्न आधिकारिक इमेल पठाउन भन्दै पन्छिए ।

‘हाम्रा कुरा सुनुवाइ नै भएन’
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्डस् (नाट्टा)का अध्यक्ष अच्युत गुरागाइँ आफूहरूले मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणमा गएर अनियमितता र एकाधिकारलाई हल गर्न पटक पटक सुझाव दिए पनि सुनुवाइ नभएको दुखेसो गर्छन् ।

गुरागाँई भन्छन्,‘यहाँ चार्टर अनुमति पनि टर्कीस र कतार एयरवेजलाई मात्र दिनु र टिकेटिकङमा पनि सीमित एजेन्सीलाई दिनु नै एकाधिकार हो । एक थरी कमाइरहने अन्य एजेन्सी हेरेर बस्नुपर्ने अवस्था आएकाले हामीले सरकारलाई धेरै पटक सुझाव दिए पनि सुनुवाइ भएन।'   आफूहरूले लिखित र मौखिक रूपमा पनि मन्त्रालय र प्राधिकरणलाई सुझाव दिएको उनले बताए ।सरकारी संयन्त्र नै फितलो भइदिँदा बिचौलियाहरूले मनोमानी गरेको उनको आरोप लगाए ।महाविपत्तिका बेला एकाधिकारपूर्ण काम गर्नाले व्यवसायमाथिको विश्वास घटेको उनले बताए ।आफूहरूलाई चाँडै सेड्युल खोल्ने भन्दै आश्वासन दिने गरेको उनले बताए । नियमन गर्ने राज्य संयन्त्र फितलो हुने अनि कमिसनको खेलमा अनुमति दिने प्रक्रियाले गलत काम भइरहेको उनको बुझाइ छ ।

नेपाल एयरलाइन्स पनि यस विषयमा गम्भीर छैन ।कसैलाई एयरलाइन्स बचाउने, राम्रो बनाउने र सहुलियत दरमा चार्टर गर्न नसक्दा समस्या भइरहेको छ ।आयटाबाट अनुमति पाएका सयौँ एजेन्सीले अनुमति नपाउने तर एकाधिकार र पहुँचका भरमा कमिसन खुवाएर अनुमति लिने प्रक्रियाले सिङ्गो एजेन्सी व्यवसायको बदनाम गराएको उनको भनाइ छ ।

मन्त्रालय सचेत छ !
कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले वैशाख मसान्तसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान स्थगन गर्ने निर्णय हुँदा नेपाल र भारतबीच एयर बबल सम्झौता अनुरूप देशबीच सातामा दुई उडान कायम राख्ने गरी सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द भएको थियो ।तर त्यस अवधिमा नेपाल एयरलायन्स साथै एयर इन्डिया, टर्कीस एयर र कतार एयरवेजले पनि चार्टर अनुमति पाए ।

वास्तवमा ती कम्पनीलाई मात्र अनुमति दिनु र खुल्ला प्रतिस्पर्धा नगराइनुलाई व्यवसायीहरूले अचम्म मानेका छन् । हुन त विदेशी नागरिकलाई आफ्नो मुलुक वा गन्तव्य स्थानमा प्रस्थान गर्न सहजीकरण गरिदिन सम्बन्धित देशका दूतावासको अनुरोधलाई आत्मसाथ गर्दै उडानका लागि सहजीकरण गरिदिएको मन्त्रालयको भनाइ छ ।

पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर बस्याल टिकट महँगो भएको भन्ने गुनासो नेपालको मात्र होइन विश्वभरको समस्या हो भन्छन् । ‘सेड्युल र चार्टरको उडान नै बेग्लै हो, सेड्युल नियमित हुँदा पनि टिकटको क्याटोगरी धेरै किसिमका हुने भएकाले कुनै सस्तो र कुनै महँगो पर्ने नै रहेछ अहिले चार्टरमा महँगो भन्नु अस्वाभाविक होइन’, उनले भने ।

विश्वभरि नै अवस्था भयावह भएकाले अत्यावश्यक पर्दा मात्र यात्रा गर्नु राम्रो हुने उनले सुझाव दिए ।टिकट बुकिङका लागि पनि सबै एजेन्सीहरूलाई अनुमति दिंदा झनै मनपरी र अनियमितता बढेको र यात्रुहरूलाई मार परेकाले सीमित एजेन्सीहरूलाई अनुमति दिइएको उनले बताए । ‘धेरैलाई अनुमति दिंदा गतबर्षको हिमालय एयरलाइन्समा देखिको अवस्था तपाइँलाई थाहा नै छ’ उनले भने ।

तर बस्यालको कुरामा अन्य व्यवसायीहरू सहमत छैनन्। चार्टर फ्लाइटको कन्फर्मेशन दिने कुरामा संलग्न उनी पनि यो महँगो भाडा दर बनाउने सेटिङको हिस्सा भएको व्यवसायीहरू ठोकुवा गर्छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ