arrow

सत्ताको उन्माद

मन्त्री दीपक मनाङ्गेलाई मध्यरातमा पक्राउ गर्ने प्रहरीका दुई वटा प्रयास असफल

मन्त्री नै हराएपछि खोज्न गएका छौं – प्रहरी

logo
हरि पन्त, 
प्रकाशित २०७८ जेठ २८ शुक्रबार
dipak-manage.jpeg

पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकूद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङ्गेलाई मध्यरातमा पक्राउ गर्ने कास्की प्रहरीका दुई वटा प्रयास असफल भएका छन् । बिहीबार राति करिब १० बजे मन्त्री मनाङ्गेलाई पक्राउ गर्न प्रहरी उनी बसेको रिसोर्टमा पुगेको थियो ।

कास्की प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक डीएसपी सुवास हमालको कमाण्डमा प्रहरी टोली खहरेस्थित मन्त्री मनाङ्गे बसेको रिसोर्ट बुटिकमा पुगेको थियो । मनाङ्गेलाई पक्राउ गर्ने क्रममा नेपाली कांग्रेसका करिब १० जना सांसदहरु पुगेर रोकेको सांसद कुमार खड्काले जानकारी दिए । 

आफूहरुको धेरै अनुनय, विनय र कास्की प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठसँग धेरै पटक आग्रह गरेपछि मात्रै प्रहरी टोली मनाङ्गेलाई छाडेर त्यहाँबाट हिंडेको सांसद खड्काले बताए । 

त्यसपछि मन्त्री मनाङ्गे बुटिकमा बस्न असुरक्षित हुने भन्दै सांग्रिला होटलमा गएर बसे । उनी होटल पुटेको केही बेरमै कास्की प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठ आफै सांग्रिला होटल पुगेका थिए । 

एसपी श्रेष्ठले होटल बाहिर रहेका सांसद मेखलाल श्रेष्ठलाई धकेल्दै मन्त्री मनाङ्गे बसेको ठाउँमा पुगेको सांसद खड्काले आरोप लगाए ।

खड्काका अनुसार एसपी श्रेष्ठले मन्त्री मनाङ्गेलाई लिएरै जाने भन्दै कड्किएपछि कांग्रेसका सांसदहरु निकै आक्रोशित भएका थिए । त्यही बीचमा डिआइजीसंग फोनमा कुरा गर्दा डिआइजीले निकै अभद्र व्यवहार गरेको सांसद खड्काले आरोप लगाए । 

त्यसपछि मन्त्री मनाङ्गे र डीआइजीसंँग कुरा भएपछि मात्रै एसपी श्रेष्ठ त्यहाँबाट निस्किएको उनले बताए । सांसद खड्काले सत्ताको दुरुपयोग गरेर एमालेले नांगो नाच देखाएको आरोप लगाए ।

उनले मुख्यमन्त्रीलाई मत नदिएकै कारण यस्तो गरिनु निकै लज्जास्पद विषय भएको बताए । सत्ता र शक्तिको दुरुपयोग गरेर यस्तो गरिनु निकै विडम्वना भएको उनले स्पष्ट पारे ।

यस विषयमा बुझ्न मन्त्री मनाङ्गेसंग कुरा बुझ्न प्रयास गर्दा फोन अफ थियो । 

मन्त्री नै हराएपछि खोज्न गएका छौं – प्रहरी

जिल्ला प्रहरी कार्यालय कास्कीले मन्त्री राजीव गुरुङ बेपत्ता भएपछि खोज्न गएको जनाएको छ । प्रहरी प्रवक्ता सुवास हमालले मन्त्रीलाई खोज्दै जानेक्रममा बुटिक रिसोर्टमा पुगेको स्वीकार गरे । 

बिहीबार राति ११ः३० बजे कुरा गर्दै डीएसपी हमालले भने, ‘जेसुकै आरोप लगाए पनि मन्त्री नै हराएपछि खोज्नु हाम्रो दायित्व हो । खोज्दै जाँदा बुटिमा रहेको भन्ने सूचना पाएर त्यहाँ पुगेका हौं ।’

उनले अगाडि भने,  ‘मन्त्रीज्यूले म आफ्नै सुरले यहाँ आएर बसेको हुँ, मेरो केही चिन्ता लिनु पर्दैन भनेपछि हामी फर्किएका हौं’, उनले भने । 

मन्त्री जस्तो व्यक्ति प्रदेशसभा बैठकमा पनि नहुने र फोन पनि अफ भएपछि प्रहरीले दिउँसैदेखि खोजिरहेको र राति अबेरमात्र भेटिएको डिएसपी हमालले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ