arrow

स्वास्थ्यमन्त्रीले पत्रकारलाई खोप दिन रोकेपछि सर्वोच्चमा रिट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ४ शुक्रबार
supreme-court-long.jpg

काठमाडौँ । अग्रमोर्चामा खटिएर काम गरिरहेका पत्रकारका लागि कोभिड १९ विरुद्धको खोप दिन स्वास्थ्य मन्त्री शेरबहादुर तामाङको दबाबमा स्वास्थ्य मन्त्रालयका अधिकारीले नमानेपछि खोप उपलब्ध गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।

स्वास्थ्य मन्त्री, स्वास्थ्य सेवा विभागका प्रमुख, खोप शाखाका प्रमुख लगायत सरोकारवाला पक्षसँग फ्रन्टलाइनमा खटिएका पत्रकारहरूका लागि खोप उपलब्ध गराइदिन महासङ्घले पटक पटक आग्रह गर्दा पनि खोप उपलब्ध गराउन मन्त्री तामाङले अवरोध गरेपछि सर्वोच्च अदालतमा रिट दायर गरिएको हो।

पत्रकार तथा अधिवक्ता द्वय लीलानाथ घिमिरे र विष्णु गिरी निश्चलले यसअघि खोप लगाउन छुटेका सबै पत्रकारहरूलाई प्राथमिकताका आधारमा कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग राख्दै रिट दायर गरेका हुन् ।

रिटको सुनुवाइ आइतबारको लागि तोकिएको छ । यसअघि पहिलो र दोस्रो चरणको खोप अभियानमा केही पत्रकारहरूले कोरोनाको खोप लगाएको भए पनि अझै धेरै पत्रकारहरू कोरोनाविरुद्धको खोप लगाउनबाट वञ्चित छन् ।

नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले गत जेठ २७ मा शाखासहित एसोसिएट शाखा र प्रतिष्ठान शाखाका २२ सय पत्रकारहरूका लागि स्वास्थ्य सेवा विभागका महानिर्देशकलाई पत्र लेख्दै पत्रकारहरूका लागि खोप उपलब्ध गराइदिन आग्रह गरेको थियो ।

त्यस बखत स्वास्थ्य सेवा विभागका महानिर्देशक दिपेन्द्ररमण सिंहले सुरुमा पत्रमा तोक लगाएर प्रक्रिया अघि बढाए पछि विभागले मन्त्रालयको दबाबमा खोप दिन रोक लगाएका थिए । सो प्रक्रियामा जाँदासमेत सम्वन्धित निकायले पत्रकारका लागि खोप उपलब्ध नगराएपछि पत्रकार महासङ्घ काठमाडौँ शाखाको अग्रसरतामा मुद्दा दायर गरिएको हो । 

पत्रकार महासङ्घ काठमाडौँ शाखाका अध्यक्ष सूर्य सुवेदीले राज्यले पत्रकारहरूलाई फरक व्यवहार गरेकाले अदालत धाउनु पर्ने बाध्यता परेको बताए । शाखाका सचिव महेश्वर गौतमले खोपका लागि सरकार पक्षबाट विलम्ब भइरहेकाले सर्वोच्च अदालतले पत्रकारसहित सबै नागरिकलाई तत्काल खोप उपलब्ध गराउन ताकेता गर्ने विश्वास व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ