- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । यस वर्षको शुक्ला साहित्य राष्ट्रिय पुरस्कार साहित्यकार एवं भाषाविद् मुकुन्द शरण उपाध्यायलाई अर्पण गरिएको छ ।
शुक्ला साहित्य प्रतिष्ठान बाटुलेचौरद्वारा स्थापित सो पुरस्कार भाषाविद् उपाध्यायलाई बिहीबार एक कार्यक्रमबीच प्रदान गरिएको हो ।
पुरस्कारको राशि ५५ हजार पाँच सय ५५ रुपैयाँ नगद र सम्मानपत्र रहेको छ । पुरस्कार गण्डकी प्रज्ञा प्रतिष्ठान कुलपति सूर्य खड्का विखर्ची, प्रतिष्ठानका अध्यक्ष हरिबहादुर वरुवालले अर्पण गरे ।
साहित्यकार उपाध्यायले यसअघि प्राकृत पोखरा कृतिका लागि मदन पुरस्कार प्राप्त गरेका थिए । सम्मानित भएपछि साहित्यकार उपाध्यायले पोखराको प्राकृत साहित्यलाई बचाई राख्न, नयाँ पुस्तालाई आग्रह गरे ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीले साहित्यमा दलगत राजनीति भित्रिएकोमा चिन्ता व्यक्त गर्दै साहित्य राजनीति भन्दा धेरै माथि रहेको स्पष्ट पारे ।
उनले साहित्य, समाजको दर्पण भएको भन्दै, समाज उपयोगी साहित्य लेखनमा लाग्न सुझाव दिए ।
प्रतिष्ठानका अध्यक्ष हरिबहादुर वरुवालले आफ्नै क्षेत्रका राष्ट्रिय व्यक्तित्वलाई सम्मान गर्न पाउँदा संस्थाको गरिमा बढेको बताए ।
राष्ट्रिय पुरस्कारबाट यसअघि मदनकृष्ण श्रेष्ठ हरिवंश आचार्य, डा रविलाल अधिकारी, साहित्यकार सरुभक्त श्रेष्ठ, वरिष्ठ कार्टुनिष्ट दुर्गा बराल वात्स्यायन, चेतमानसिंह भण्डारी, जनगायक जीवन शर्मा, लोकगायिका हरिदेवी कोइराला, साहित्यकार हंशपुरे सुवेदी, भाषाविद् चुडामणि बन्धु र संस्कृतिकर्मी प्राडा जगमान गुरुङलाई प्रदान गरिसकिएको छ ।
कार्यक्रममा प्रतिष्ठान संरक्षक कवि कुञ्जराज थापा, सल्लाहकार असफल गौतम, श्रष्टा छनोट समितिका संयोजक अग्नीधर शर्मा, साहित्यकार गेहेन्द्रश्वर पोखरेलीलगायतले साहित्य विकृत राजनीतिलाई सुधार गर्नतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए ।
प्रतिष्ठान अध्यक्ष वरुवालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष दुर्गादेवी गौतम वस्नेत र सञ्चालन सचिव दीपेन्द्र बानियाले गरेका थिए ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको तस्वीरमा माल्यार्पण गर्दै उनीप्रति समर्पित कविता वाचनसमेत गरिएको थियो ।