- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । सर्वोच्च अदालतले सत्ताधारी दल नेकपा एमालेलाई भाटभटेनी सुपर मार्केटका मालिक उद्यमी मीनबहादुर गुरुङले दिने जग्गा कानून विपरीत भएको बताएको छ ।
सर्वोच्चले सोमबार हक हस्तान्तरण नगर्न अल्पकालीन अन्तरिम आदेशसमेत जारी गरेको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले जग्गा र पार्टी कार्यालय बनाइदिने काम राजनीतिक दल सम्बन्धी ऐन विपरीत भएको भन्दै तत्कालका लागि हस्तान्तरण नगर्न आदेश गरेको हो ।
आदेशमा निर्वाचन आयोगमा दर्ता भई क्रियाशील रहेको र सरकारमा रहेको दलले राजनीतिक दल सम्बन्धी ऐनविपरीत काम गरेको उल्लेख छ।
सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि कार्तिक २६ का लागि पेसीसमेत तोक्न आदेश गरेको छ। जग्गा लेनदेन कसरी भएको हो भन्ने विषयमा एमाले र मीनबहादुर गुरुङले १५ दिनभित्र लिखित जवाफ पनि पेस गर्नुपर्नेसमेत आदेशमा उल्लेख छ ।
एमालेले दान लिएको भनिएको १० रोपनी १४ आना जग्गा हक हस्तान्तरणको काम तत्काललाई रोकिएको भए पनि यसको फैसला भने हुन बाँकी नै छ ।
गत साता बुधबार अधिवक्ता ज्ञानबहादुर बस्नेतलगायतले कुनै व्यवसायीले राजनीतिक दललाई दिएको चन्दा, जग्गा, भवनको विषय गैरकानूनी भएको दाबीसहित रिट दर्ता गरेका थिए ।
यसलाई शुरुआतमा सर्वोच्चले रिट दर्ता गर्नसमेत मानेको थिएन । गत कार्तिक १ गते रिट निवेदन दर्ता गर्न खोज्दा रजिस्ट्रार भद्रकाली पोखरेलले सार्वजनिक सरोकारको विषयभित्र नपरेको भन्दै दरपिठ गरिदिएका थिए । सर्वोच्च प्रशासनले दरपिठविरुद्ध इजलासमा निवेदन पेस गरिएको थियो ।
न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले रिट निवेदन दर्ताका लागि मंगलबार अनुमति दिएपछि दर्ता भएको थियो ।
गत असोज २५ गते प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा निर्माण हुने पार्टी केन्द्रीय कार्यालयको शिलान्यास गरेका थिए । मीनबहादुर गुरुङ र उनकी पत्नी सावित्री गुरुङले प्रदान गरेको १० रोपनी १४ आना (एक रोपनीमा १६ आना) जग्गामा भवन निर्माण हुने एमालेका महासचिव शङ्कर पोखरेलले बताएका थिए । हालको पार्टी कार्यालय बाढीबाट क्षति भएपछि मैत्रीनगरमा नयाँ भवन निर्माण हुन लागेकोे हो ।
यसैबीच व्यवसायी गुरुङले आफूले अन्य राजनीतिक दललाई पनि सहयोग गर्दै आएको र एमालेलाई पनि मद्दत गरेको बताए । एक वर्षभित्र भवन निर्माण गर्ने उनले बताए ।
दान लिएको जग्गाको विरोध भएपछि एमालेले स्पष्टीकरण दिँदै मीनबहादुर एमालेकै कार्यकर्ता भएको बताएको थियो ।