- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। आफ्नो जीवनको उत्तरार्धमा पुगेका जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले किर्ते र जालसाजीको आरोप खेपेका छन् । ठाकुरमाथि पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवले किर्ते, नक्कली र जालसाजी गरी निर्वाचन आयोगमा कागजात पठाएको आरोप लगाएका छन्।
यादवले प्रेस विज्ञप्ति निकालेरै ठाकुरको यस्तो हर्कत गैरकानुनी र दण्डनीय भएको बताएका छन् । यता, यादव निकट कानुन व्यवसायीहरुले ठाकुरविरुद्ध जिल्ला अदालत ललितपुरमा किर्ते कागजात बनाएको अभियोगमा मुद्दा दायर गर्नेसम्म घोषणा गरेका छन् ।
यादव पक्षका सबै नेताहरू अहिले ठाकुरविरुद्ध खनिएका छन् । तर ठाकुर पक्षीय नेताहरू भने मौन बसेका छन् । बोले पनि नाम खुलाउन चाहन्नन् ।
ठाकुरले गत असार १ गते निर्वाचन आयोगमा १२ वटा कागजात बुझाए । आयोगमा उनले पार्टीको माइन्युटिङको प्रतिलिपि समेत बुझाए । यी कागजातहरुलाई यादव पक्षले किर्ते भनेको छ।
२०७७ पुस ७ गते पार्टीको कार्याकारिणी समितिको बैठकले निर्णय गरेको माइन्युटिङको फोटाकपि नै किर्ते र जालसाजी भएको यादव पक्षको भनाइ छ । उक्त माइन्युटिङमा केन्द्रीय कार्यकारिणी समिति फेरबदल, पुनगर्ठन तथा हेरफेर गर्ने अधिकार उपेन्द्र यादवकै सहमतिमा ठाकुरलाई दिइएको छ । यसैगरी अर्को निर्णयमा पार्टीको आधिकारिक पत्राचार गर्ने र पार्टीको निर्णय प्रमाणिकरण गर्ने अधिकार पनि ठाकुरलाई दिइएको छ ।
ठाकुरले आयोगमा बुझाएको अर्को कागजातमा २०७७ पुस ७मा दिइएको अधिकार प्रयोग गर्दै २०७८ जेठ ३गते कार्यकारिणी समिति फेरबदल गरिएको जानकारी गराइएको छ । फेरबदल गरिएको कार्यकारिणी समितिको सूचि पनि ठाकुरले आयोगमा पठाएका छन् ।
फेरबदल गरिएको कार्यकारिणीमा ठाकुरले यादवको तर्फबाट अध्यक्ष यादव, संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राइको मात्र नाम राखेका छन् । यादव निकट २० जना कार्यकारिणी समितिका सदस्यहरूलाई उनले हटाएका छन् । त्यसको ठाउँमा आफू निकट २० जना कार्यकारिणी सदस्य मनोनयन गरेका छन् । आफूले मनोनय गरेका २० जना कार्यकारिणी सदस्य समेत जोड्दा कार्यकारिणीमा ठाकुरको अत्यधिक बहुमत हुन्छ ।
तर यादव पक्षका नेताहरू कार्यकारिणीमा अल्पमत परे पछि ठाकुरले जालसाँजी गरेको बताउछन् । ‘ठाकुरजीले निर्वाचन आयोगमा पठाएको कागजात नक्कली, किर्ते र जालसाजी रहेको प्रष्ट भइसकेको छ ’यादव पक्षका नेता इस्तियाक राइले भने ‘यसमा थप ब्याख्या गर्न आवश्यक छैन ।’ ठाकुरले पक्षले आयोगमा बुझाएको कागजात नक्कली भएको दावी गर्दै यादव पक्षले निर्वाचन आयोगमा अर्को निबेदन दिएको छ ।
ठाकुर पक्षले निर्वाचन आयोगमा बुझाएको कागजात नक्कली नभएको ठाकुर पक्षका एक कार्यकारिणी समितिका सदस्य बताउछन् । तर उनले आफ्नो नाम खुलाउन चाहन्नन । उनले भने,‘पार्टीले गरेको सबै निर्णय बाहिर आउदैनन । तत्काालिन अवस्थामा आवश्यक देखिएको निर्णय मात्र बाहिर ल्याएका हौ । कार्यकारिणी फेरबदल गर्ने निर्णय बाहिर ल्याएका थिएनौ ।’
यादव पक्षले भने २०७७पुस ७ गत बसेको कार्यकारिणी समितिको बैठकले गरेका सबै निर्णय बाहिर ल्याएको र परिपत्रको रुपमा केन्द्रीय सदस्य र मातहतका समितिलाई निर्देशन गरिएको स्पष्टिकरण दिदै आएको छ ।
निर्वाचन आयोगमा आधिकारिकतकोलागि दुबै पक्षले दावी गरेको छ । आधिकारिकता पाउनकोलागि ठाकुर पक्ष बहुमत जुटाउन प्रयास गरीरहेको छ । बहुमत जुटाउनकोलागि ठाकुरले आयोगमा नक्कली काजजात बनाएको यादव पक्षको भनाइ छ ।
यता निर्वाचन आयोगले सोमबार ठाकुर पक्षलाई चिठी पठाइ १५ दिन भित्र जवाफ पठाउन निर्देशन गरेको छ । यादव पक्षले आधिकारिकताको दावी गर्दै आयोगमा निबेदन दिए पछि आयोगले ठाकुर पक्षलाई १५ दिनको समय सीमा राखेको हो । दुई कित्तामा बाडिएको जसपा अहिले फुटकोलागि कानुनी प्रक्रिया पर्खेर बसेको छ । निर्वाचन आयोगले भने निर्णय सुनाउन ढिलो गरेको छ ।