- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपालका प्रधानमन्त्री वीपी कोइराला र शोभियत युनियनका मन्त्रिपरिषद् अध्यक्ष निकिता ख्रुश्चेभको यो संयुक्त तस्वीर २८ सेप्टेम्बर १९६० को हो। निकै दुर्लभ यो तस्वीरको गुणस्तर भने त्यति राम्रो छैन त्यस्तै तस्वीरमा ती दुवै नेताका पछाडि देखिने अर्को तेस्रो ब्यक्ति कुनै शोभियत अधिकारी होलान्।
यो तस्वीर न्यूयोर्कको पार्क एभिन्युस्थित राष्ट्रसंघका लागि शोभियत प्रतिनिधिको कार्यालयमा लिइएको हो भन्ने अनुमान गर्न सकिन्छ । सन् १९६० मा सम्पन्न संयुक्त राष्ट्रसंघको १५ औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क पुगेका प्रधानमन्त्री कोइराला सोही दिन ख्रुश्चेभसंग शिष्टाचार भेट गर्नका लागि त्यहाँ पुगेका थिए।
प्रधानमन्त्रीको साथमा अमेरिका र संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि हृषिकेश शाह समेत थिए। सोही बर्ष सन् १९६० को जनवरीमा शोभियत युनियनका राष्ट्रपति मार्सल क्लिमेन्ट भोरोशिलोभले नेपाल भ्रमण गरेका थिए।
कोइराला र शाहको संस्मरण अनुसार करिव ४५ मिनेटसम्म चलेको त्यस भेटघाटमा ख्रुश्चेभले अधिकांश समय कोइरालाका अगाडी हृषिकेश शाहका विरुद्ध आरोप लगाउनमा खर्चिएका थिए।
संयुक्त राष्ट्रसंघमा शोभियत युनियनद्वारा प्रस्तुत एजेन्डालाई नेपालले समर्थन नगरेको र अमेरिका लगायतको पश्चिमा एजेन्डालाई भने नेपालले समर्थन गरेको भन्ने आरोप थियो शोभियत पक्षधरको। हंगेरीदेखि कंगोसम्मको मुद्दामा संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव ड्याग ह्यामर्शोल्डको भूमिकामाथि शोभियत पक्षले प्रश्न उठाउँथ्यो। त्यस्तै परमाणु निशस्त्रीकरण आयोगको भूमिकामा समेत प्रश्न उठाउँथ्यो। ती मुद्दामा शोभियत युनियनलाई बाँकी मुलुकले घेर्ने प्रयास गर्दा नेपाल समेत अरु मुलुकसंगै उसको बिपक्षमा उत्रिएको थियो।
त्यसैले ख्रुश्चेभले प्रधानमन्त्री कोइरालाका अगाडी हृषिकेश शाहलाई अमेरिकी सहितका पश्चिमा मुलुकसंग पैसामा बिकेर उनीहरुका पक्षमा बोलेको भन्ने आरोप लगाउन भ्याएका थिए। तर कोइरालाले आफ्ना राजदूतको बचाउ गर्दै ख्रुश्चेभलाई भने राजदूतले यहाँ रहेर जे जति काम गरेका छन् त्यो नेपाल सरकारको निर्देशन पालना गर्ने सिलसिलामा गरेका हुन। कोइरालाले त्यसरी आफ्नो बचाउ गरेको सन्दर्भलाई शाहले बडो कृतज्ञताका साथ स्मरण गरेका गरेका छन्।
त्यतिबेला शोभियत युनियनले संयुक्त राष्ट्रसंघमा तीन जना महासचिव राख्ने ‘ट्रोयका योजना’ अगाडी सारेको थियो। एउटा पस्चिमा विश्व ,अर्को पूर्वी विश्व र बाँकी अर्को तेस्रो बिश्वबाट तर नेपाल यो योजनामा कहिल्यै सकारात्मक थिएन। कोइरालासंगको त्यही भेटमा ख्रुश्चेभले आफ्नो ‘ट्रोयका योजना’को बिषय उठाउँदा कोइरालाले सकारात्मक ढंगबाट त्यसलाई लिएका थिएनन्। अर्को दिन २९ सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको १५ औं महासभालाई सम्बोधन गरेका कोइरालाले त्यही मंचबाटै ‘ट्रोयका योजना’ खारेज गरिदिएका थिए। त्यस योजनामा हृषिकेश शाह समेत सहमत थिएनन्।
ख्रुश्चेभले त्यस बर्ष संयुक्त राष्ट्रसंघको अधिवेशनमा बितण्डा नै मच्चाए भन्दा हुन्छ। पछि त महाधिवेशन बैठकमा उनले त्यहाँ जुत्ता फ्याँक्नेदेखि ग्याभेल फाल्नेसम्मका हर्कत गरे। जसमा नेपालका प्रतिनिधिले ख्रुश्चेभको व्यबहार संसदीय मान्यता विपरीत भएको भनी आलोचना नै गर्न पर्यो। कोइरालाका अगाडी त्यस घटना भएपछिका दिनमा हृषिकेश शाह महासभा बैठकमा ख्रुश्चेभले प्रदर्शन गरेका व्यबहारप्रति खरो आलोचक नै भए। उक्त घटनाको ३ महिना भित्रमा नेपालमा राजनीतिक परिवर्तन भयो। राजा महेन्द्रले संसद बिघटन गरि सत्ता आफ्नो हातमा लिएपछि गठन गरेको नयाँ मन्त्रीपरिषदमा हृषिकेश शाह अर्थ तथा योजना मामिला मन्त्रीका रुपमा नेपाल बोलाइए।
शोभियत पक्ष राष्ट्रसंघका लागि नेपाली राजदूत हृषिकेश शाहसंग शुरुदेखि नै रुष्ट थिए। राणाकालीन नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता लागि सन् १९४९ मा शुरु गरेको प्रयासलाई बारम्बारको शोभियत भिटोले परास्त गरेको थियो। सन् १९५५ डिसेम्बर १४ मा राष्ट्रसंघको सदस्यता हासिल गरेपछि नेपालले सन् १९५६ सेप्टेम्बरमा राष्ट्रसंघका लागि पहिलो स्थायी प्रतिनिधिमा हृषिकेश शाहलाई नियुक्त गरेको थियो।
शाहको नियुक्ति हुनासाथ हंगेरीमा व्यवस्था परिवर्तनका लागि भएको आन्तरिक आन्दोलनमा शोभियत युनियनको अधिक बल प्रयोगको मुद्दा थियो। उक्त मुद्दा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदबाट सुल्झिन नसकेपछि (०४–१ नोभेम्बर) संयुक्त राष्ट्रसंघको आपतकालीन सत्र आह्वान गरिएको थियो। त्यसमा भारत तटस्थ बस्दा पनि नेपालले शोभियत युनियनको बिरुद्धमा मतदान गरेको थियो। त्यतिबेलैदेखि शोभियत युनियनले हृषिकेश शाहलाई मन पराउन छाडेको थियो। तस्वीरः इन्टरनेट संजाल(लेख साभार :सन्तोष खडेरीको फेसबुकबाट)