arrow

एमाले विवाद

एमालेलाई एक बनाउने दोस्रो पुस्ताको खाका ओली र नेपालको हातमा

एमालेको पुराना कमिटी ब्युँताउने ओलीको तयारी

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ असार १३ आइतबार
oli-nepal-singhadurbar-meet.jpg
फाइल तस्बिर

काठमाडौँ। नेकपा एमालेले माधव नेपाल समूहलाई पार्टीमै फर्काउनु पर्छ भनेर प्रधानमन्त्री ओली पक्षका केही नेताहरूले रातदिन कसरत गरेपछि अहिले सकारात्मक बनेका छन्। चर्को दबाबमा रहेका ओलीले अन्तिम प्रयास गर्ने भन्दै नेपाल पक्षले राखेका माग पूरा गर्ने गरी पुरानो कमिटी ब्युँताउने घोषणाको तयारी गरेका छन्।

आइतबार बसेको ओली पक्षीय स्थायी कमिटी बैठकले माधव नेपाल आए पनि नआए पनि पुरानो कमिटी ब्युँताएर जाँदा एमालेका लागि आगामी दिनमा फाइदा हुने र नेपाल पक्षले पार्टी नै फुटाउने अवस्था आए पनि थोरै सङ्ख्यामा मात्रै नेता कार्यकर्ता पार्टी विभाजनमा लाग्ने आङ्कलनसहित ओली पक्षले पुरानो कमिटी ब्युँताउने तयारी गरेको हो। त्यसको लागि दसौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकबाट पार्टीका सबै संरचनाहरू २०७५ जेठ २ मा फर्किएको औपचारिक निर्णय गरिने भएको छ।

माधव नेपाल एमालेमा नफर्किए पनि अरू नेता कार्यकर्तालाई रोक्नका लागि नेपाल पक्षले माग गरे बमोजिम जेठ २ मा फर्किने निर्णयसहित औपचारिक आह्वान गर्ने तयारी गर्न लागेको ओली निकट स्रोतले जनाएको छ। तर यसो गर्नु अघि सुवास नेम्वांङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, भीम आचार्यले विवाद समाधानका लागि तयार पारेको कार्य तालिका सहितको मस्यौदा भने ओली–नेपाल दुवैलाई पठाइसकिएको छ। उनीहरूको बीचमा एक प्रकारको सहमति भएको सो मस्यौदा अनुमोदनका लागि ओली–नेपाल दुवैलाई दिइएको एमाले उच्च स्रोतले जानकारी दियो।

दुवै पक्षका नेताहरूबीच तीन दिनसम्म गहन छलफल गरिएको सो प्रस्तावमा पार्टी विवाद निरूपण गर्ने खाका तयार पारिएको छ। सो मस्यौदा हात परेपछि ओलीले आइतबार स्थायी कमिटीको बैठक बोलाएका थिए। आइतबार बसेको एमाले स्थायी कमिटी बैठकले असार १६ गते आयोजक कमिटीको बैठक बोलाउने निर्णय गर्दे सो बैठकले फागुन २८ अघिका सबै निर्णयहरू खारेज गर्ने तयारी गरेको हो।

नेपालले विपक्षी गठबन्धनको पत्रकार सम्मेलनमा आफू अझ बलियो भएको सङ्केत दिँदै जुनसुकै अफर आए पनि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता नलिने घोषणा गरेका थिए। नेपाल आफैले शनिवार पत्रकारहरूसँग आफूलाई प्रधानमन्त्रीको अफर आइसकेको बताउँदै विपक्षी गठबन्धन छाडेर ओलीसँग मिल्न नजाने प्रस्ट पारे पनि नेपाल पक्षका नेताहरूले नेपाललाई एमालेभित्रै राख्न गरी सहमतिको खाका तयार पारेर ओली–नेपाललाई दिइसकेका छन्।

‘जेठ २ मा फर्काएर सबै संरचना क्रियाशील गराउने औपचारिक निर्णय गर्दा नेपाल नै नआए पनि धेरै मान्छेको जिम्मेवारी फर्किने भएकाले उनीहरू रोकिन सक्छन् भनेर अन्तिम आह्वान गर्न लागिएको हो,’ ओली पक्षका एक नेताले भने। बैठकमा केही नेताले एकताका लागि र माधव नेपाललाई एमालेमा राख्नका लागि अधिकतम लचिलो बन्न अध्यक्ष ओलीलाई सुझाव दिएपछि ओलीले नै अब सबै कुरा गर्न तयार रहेको बताएका थिए।

आइतबारको बैठकले जेठ २ मा फर्कने आधार तयार गर्दै नवौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई कायम गर्ने गरी महाधिवेशन आयोजक कमिटीको बैठक बोलाइएको ओली पक्षको दाबी छ। एमालेमा एक अध्यक्ष, एक वरिष्ठ नेता, पाँच उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, पाँच सचिव पदाधिकारी रहने व्यवस्था थियो। अहिलेको लडाई २ जेठको बैठक राख्ने कि नराख्ने भन्ने विषय आउँदा ओलीले बैठक बोलाए नेपाल पक्षको नीतिगत जीत हुने बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ