arrow

असार छ र त हतार छ 

logo
हिक्मत शाही, 
प्रकाशित २०७८ असार १४ सोमबार
hikmat-sahi.JPG

बजेट पर्छ कतै 
पारिन्छ कतै 
कमिसन झर्छ कतै
झारिन्छ  कतै ,
यस्तै यस्तैमा : 
बिचौलियाको चाल त्यस्तै
दलालको सल्बलाहट त्यस्तै 
र त 
मनसुन सुरु भएसँगै
भनसुन सुरु भएपछि 
कतै सेटिङ गरेर खाइन्छ 
कतै डेटिङ गरेर खाइन्छ ,
त्यसैले त 
जतासुकै तँछाडमछाड छ
के नेता
के कार्यकर्ता
असार छ र त 
सबलाई हतार छ !

भत्काउनु छ बाटो  
बनाउनु छ फेरि
उधिन्नु छ अलकत्रा 
टाल्नु छ फेरि ,
यस्तै यस्तैमा :
मालिकलाई 
रिझाउनु पनि छ 
थैलो भरेर दस्तुर
बुझाउनु पनि छ ,
र त
कतै नयाँ मार्ग खानु छ
कतै थोत्रा राजमार्ग खानु छ 
कतै सिमेन्टमा मुछेर 
अलकत्रा खानु छ ,
त्यसैले त 
जतासुकै लतारपतार छ
के ठेकेदार
के पेटीदार
असार छ र त
सबलाई हतार छ !

सेमिनार त्यस्तै 
गोष्ठी त्यस्तै 
जालिमहरूका 
तालिम त्यस्तै ,
यस्तै यस्तैमा : 
कतै बिल मिलाएर खानु छ
कतै भर्पाई मिलाएर खानु छ 
कतै रिझाएर अनि 
कतै थर्काएर खानु छ ,
त्यसैले त
जतासुकै तँछाडमछाड छ
के हाकिम
के कारिन्दा
असार छ र त
सबलाई हतार छ !

ठेकेदारका कोठा चोटा
धाउनु पनि छ 
कागजमा प्रक्रिया 
मिलाउनु पनि छ ,
र त 
न गुणस्तरको 
नाप जाँच हुन्छ
न गल्ती गरे 
अपराध हुन्छ ,
यस्तै यस्तैमा :
उपाय अनेक 
काइदा अनेक
लुटेराहरूलाई 
फाइदा अनेक ,
त्यसैले त 
जतासुकै लतारपतार छ
के प्राविधिक 
के अप्राविधिक 
असार छ र त
सबलाई हतार छ !

टेन्डर कतै  
निर्माण कतै 
पुनर्निर्माण कतै
मर्मत सम्भार कतै 
यस्तै यस्तैमा : 
कहिल्यै 
भाग मिलाएर खानु छ 
कहिल्यै 
भाग लगाएर खानु छ , 
त्यसैले त
जतासुकै लतारपतार छ
के प्रशासक 
के व्यवस्थापक 
असार छ र त
सबलाई हतार छ !

सहकाल कतै
अनिकाल कतै
मिलेमतो कतै 
बबाल कतै ,
यस्तै यस्तैमा :
कुलो खानु छ 
कुलेसो खानु छ
पुल खानु छ 
पुलेसो खानु छ ,
असार नसकिँदै :
लायकु खानु छ 
सदन खानु छ 
भत्काएर अस्पताल 
विद्यालय भवन खानु छ ,
त्यसैले त
जतासुकै तँछाडमछाड छ
के सत्तापक्ष
के प्रतिपक्ष 
असार छ र त
सबलाई हतार छ !



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ