arrow

स्याङ्जामा दैवी प्रकोपबाट ६ जनाको मृत्यु

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७८ असार १८ शुक्रबार
aadikhola waling.jpg

स्याङ्जा । स्याङ्जामा असारको दुई सातामा ६ जनाले ज्यान गुमाएका छन् भने एक जना अझै बेपत्ता छन् । मनसुन सुरु भएयता दैवी प्रकोपबाट विभिन्न घट्नामा परेर आधा दर्जन नागरिकले ज्यान गुमाएका हुन् भने एक जना बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार खोलाले बगाएर ४, भीरबाट लडेर १, चट्याङ लागेर १ गरी ६ जनाले दुई सातामा ज्यान गुमाएको तथ्याङ्कले देखाएको छ । बाढी पहिरोका कारण १४ घरधुरीका ६८ जना विस्थापित भएका छन् भने ९७ घर पहिरोको जोखिममा हुँदा ५ सय ३३ जना नागरिक प्रभावित भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक(डिएसपी) राजेन्द्र अधिकारीका अनुसार आँधी खोला गाउँपालिका ६ का ६० वर्षीय घनश्याम शर्मा, पुतलीबजार नगरपालिका ४ का ५१ वर्षीय टेकबहादुर थापाको खोलाले बगाएर मृत्यु पश्चात् सनाखत भएको बताए । अन्दाजी ३० वर्षीय र ४० वर्षीय पुरुष खोलाले बगाएर मृत अवस्थामा फेला परे पनि अहिले सम्म सनाखत हुन नसकेको प्रहरी प्रवक्ता अधिकारीले बताए । त्यसै गरी बाँदर धपाउने क्रममा पुतलीबजार नगरपालिका २ का ३५ वर्षीय तिलक कुँवरको भिरबाट लडेर मृत्यु भएको छ भने अर्जुनचौपारी गाउँपालिका २ का १५ वर्षीय रोहित कुँवरको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

गल्याङ नगरपालिका ४ का १८ वर्षीय सन्दीप न्यौपाने आँधी खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका छन् । उनको खोजी कार्य भए पनि अझै फेला पर्न नसकेको प्रहरीले जनाएको छ । यस्तै विपद् घट्नामा बाटो हिँड्दै गर्दा पहिरो आएर बगाउँदा हरिनास गाउँपालिकाका ४८ वर्षीय कृष्ण थापा घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको छ । मनसुन सुरु भए देखी जिल्ला प्रहरी कार्यालय मातहातमा रहेका सबै युनिटहरूलाई सचेत पूर्वक विपद्का लागि तैनाथ अवस्थामा राखिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता अधिकारीले बताए । स्थानीय तह सँग समन्वय गरी विपद्को सामना गर्न सबै युनिटलाई निर्देशन दिएका छौँ प्रवक्ता अधिकारीले भने,‘सीमित साधन श्रोतको उच्चतम प्रयोग गरी विपद्मा खटेका छौँ ।’ सबै नागरिकलाई सचेत पूर्वक रहन पनि अनुरोध गर्दै आएका छौ उनले भने ।

सिद्धार्थ राजमार्ग देखि ग्रामीण सडकहरूमा पनि बाढीले क्षति पुर्‍याएको छ । पहिरो जाने बित्तिकै डोजर प्रयोग गरी सडक खुलाउने व्यवस्था भएकाले आवागमनमा लामो समय अवरुद्ध भने हुन पाएको छैन । यस विषयमा हरेक स्थानीय तहका साधन श्रोत देखी सडक विभागका साधनश्रोत परिचालन गर्ने गरी तयारी अवस्थामा रहेको बताइएको छ । मनसुन अझै सक्रिय हुने र यसबाट जनधनको क्षति सकेसम्म नहोस् भन्ने हेतुले जिल्ला प्रशासन कार्यालय स्याङ्जा, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, ११ ओटै स्थानीय तहका जनप्रतिनिधिहरू उच्च सतर्कता साथ लाग्ने गरी कार्य योजना बनाएर अगाडी बढेको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ