काठमाडौँ । बलिउडका सुपरस्टार दिलीप कुमारको परिवार पुनः शोकमा डुबेको छ । ७ जुलाईको बिहान ट्रेजेडी किंङ दिलीप कुमारको ७.३० बजे निधन भयो । दिलीप कुमार ९८ वर्षका थिए ।
उनको मुम्बईको हिन्दुजा अस्पतालमा उपचार भइरहेको थियो। दिलीप कुमार धेरै पटक अस्पताल गए तर प्रत्येक चोटि मृत्युलाई जितेर फर्किए । तर बुधवार भने उनले हारेका छन् । निरन्तर मृत्युलाई जितेका दिलीप साहबले आज मृत्युलाई चुपचाप अँगालेका छन्।
दिलीप कुमारका दुवै भाइको गत वर्ष मात्रै कोरोना सङ्क्रमणबाट निधन भएको थियो । दिलीप कुमारका भाइ असलम खान र एहसान खानले गत वर्ष ज्यान गुमाएका थिए ।
असलम खानको ८८ वर्षको उमेरमा निधन भएको थियो । भने अर्का भाइ ९२ वर्षिया एहसान खानको मुम्बईको लीलावती अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । संक्रमित एहसान खान हृदय रोग, उच्च रक्तचाप र अल्जाइमरबाट ग्रस्त थिए।
असलम खानलाई पनि मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएको थियो। असलम खानलाई मधुमेह, उच्च रक्तचाप र इस्कीमिक हृदय रोग थियो। उनको कोभिड १९ परीक्षण पोजेटिभ देखिएको थियो।
दिलीप कुमारका दुवै भाइलाई सास फेर्न समस्या भएपछि अस्पतालमा भर्ना गरिएको थियो। जहाँ दुवै कोरोना परीक्षण रिपोर्ट पोजेटिभ देखिएको थियो। असलम खानको मृत्युपछि एहसान खानलाई लीलावती अस्पतालमा भर्ना गरिएको थियो। उनको अवस्था नाजुक रहेको थियो।
श्वास प्रश्वासको समस्या भएपछि दिलीप कुमार १५ दिनदेखि अस्पतालमा राखिएका थिए । उनको प्रोस्टेट क्यान्सर शरीरका अन्य अङ्गमा फैलिएको थियो । मिर्गौलाले काम गर्न छाडेपछि मृत्यु भएको हो ।
मेगास्टार दिलीप कुमारको निधनले भारतीय सिनेमा जगत एक युग समाप्त भएको छ । कलाकार दिलिपकुमार करिब ६ दशक भन्दा बढी समय चलचित्र जीवनमा उनले ६५ भन्दा बढी चलचित्रमा अभिनय गरेका छन् । उनले सन् १९४४ मा ज्वारभाटा नामक चलचित्रबाट अभियन यात्रा सुरु गरेका थिए । उनको लोकप्रियता भने सन् १९४९ मा प्रदर्शनमा आएको चलचित्र अन्दाजबाट बढेको हो । उनले देवदास, नया दौर, मुग्ली ए आजम, गङ्गा जमुना, क्रान्ति र कर्मा जस्ता चर्चित हिन्दी चलचित्रमा अभिनय गरेका थिए ।
उनकी पत्नी साएरा बानु पनि बलिउड अभिनेत्री हुन् । उनहरुका सन्तान भने छैनन । सन् १९२२ को डिसेम्बर महिनामा पाकिस्तानको पेसावरमा जन्मिएका दिलिपकुमारको सुरुको नाम भने युसुफ खान हो । भारतीय र हिन्दी चलचित्र क्षेत्रमा प्रवेश गर्ने क्रममा उनले आफ्नो नाम पनि परिवर्तन गरेर दिलिपकुमार राखेका थिए । यस्तो अभ्यास अन्य कलाकारहरुले पनि गरेकाले उनले पनि त्यही गरेको बताइन्छ ।
उनको निधनप्रति कलाकार तथा राजनीतिज्ञलगायत धेरैले दुःख व्यक्त गरेका छन् । धेरैले उनलाई भारतीय चलचित्रले स्थापित गरेका सर्वश्रेष्ठ अभिनेताको संज्ञा पनि दिएका छन् ।
अटल बिहारीसँग दिलिप कुमारको मित्रता, हप्काए पाकिस्तानी प्रधानमन्त्री
भारतीय पूर्व प्रधानमन्त्री एवं भारत रत्न स्वर्गीय अटल बिहारी वाजपेयी एक त्यस्तो व्यक्ति हुन् जसको जीवन निर्विवाद नै रहेको छ। उनको कार्यकालमा वाजपेयीमाथि कुनै पनि किसिमको व्यक्तिगत आरोप लगाइएको थिएन। राजनीतिमा हुनुको अलावा उनको साहित्य, कविता र चलचित्रहरूसँग पनि विशेष सम्बन्ध छ।
वाजपेयी अनुभवी अभिनेता दिलीप कुमारसँग धेरै नै नजिक थिए। दुबै आपसमा यति नजिक थिए कि दिलीप कुमारले अटल बिहारी वाजपेयीको लागि पाकिस्तानी प्रधानमन्त्रीलाई हप्काए पनि। यो घटना कारगिल युद्धको क्रममा हो।
पाकिस्तानका पूर्व मन्त्री खुर्शीद कसूरीले 'अण्डर हक नोर अ डोभ' पुस्तकमा लेखेका छन् - एक पटक अटल बिहारी वाजपेयीले पाकिस्तानको प्रधानमन्त्री नवाज शरीफलाई युद्ध अन्त्य गर्नको लागि फोन गरेका थिए र त्यसपछि अभिनेता दिलीप कुमारसँग उनको कुरा गराए । दिलीप कुमारको आवाज सुनेर नवाज चकित भएका थिए ।
फोनमा कुराकानीको क्रममा अटल बिहारी वाजपेयीले लाहोर भ्रमणको कुरा गर्दै शरीफको कारगिल युद्धको लागि निन्दा गरे। यसको लगत्तै वाजपेयीले दिलीप कुमारलाई फोन दिएर उनलाई नवाज शरीफसँग कुरा गर्न आग्रह गरे। दिलीप कुमारले नवाज शरीफलाई भने, 'मियां साहेब हामीले तपाईको पक्षबाट त्यस्तो आशा गरेका थिएनौं, किनकि तपाईले सधैं भन्नुभएको छ कि तपाई भारत र पाकिस्तान बीचमा शान्ति चाहनुहुन्छ। '
दिलीप कुमारले अटल बिहारी वाजपेयीको आग्रहमा नवाज शरीफसँग कुरा गर्दै भने, 'म तपाईंलाई एक भारतीय मुसलमानको रूपमा भन्न चाहन्छु कि पाकिस्तान र भारतको बीचमा तनावको स्थितिमा भारतीय मुस्लिमहरू असुरक्षित हुन्छन् र उनीहरूलाई घरबाट बाहिर निस्कन पनि गाह्रो लाग्छ। यसकारण परिस्थितिलाई नियन्त्रणमा राख्न केहि गर्नुहोस्।'
दिलीप कुमार पनि १९९७ मा वाजपेयीसँगै बसमा लाहोर गएका थिए। सोहि वर्ष पाकिस्तानले दिलीपलाई सर्वोच्च सम्मान 'निशान ई इम्तियाज' बाट सम्मानित गरेको थियो। आज पनि पाकिस्तानीहरु दिलीप कुमारको फ्यान छन्। दिलीप कुमार मूल रूपमा पेशावर, पाकिस्तानका हुन्।