arrow

ओली र नेपालको वार्ता सकारात्मक भन्दै बाहिरिए

logo
प्रकाश सिलवाल,
प्रकाशित २०७८ असार २३ बुधबार
oli-nepal.jpg
फाइल तस्बिर

काठमाडौँ। नेकपा (एमाले) को आन्तरिक विवाद समाधानका लागि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आजको भेटवार्ता सकारात्मक भएको छ। नक्सालस्थित होटेल मेरियटमा भएको वार्तामा विवाद समाधान खोज्न गठित कार्यदलका केही सदस्यले हालसम्मको सहमतिको प्रयासबारे ब्रिफिङ गरेका थिए। त्यसपछि उनीहरूबिच अलग–अलग वार्ता भएको थियो। भेटवार्ताबाट बाहिरिएपछि अध्यक्ष ओली र नेता नेपालले पत्रकारहरूलाई कुनै प्रतिक्रिया दिएका थिएनन्।

वार्तामा सहभागी पार्टीका उपाध्यक्ष डा.भीमबहादुर रावलले पार्टीको एकतालाई प्रभावकारी परिणाम लाने सम्बन्धमा गम्भीर रूपमा कुराकानी भएकाले शीर्ष तह र कार्यदलमा निरन्तर छलफल गरेर समाधान निकालिने बताए। वार्ता स्थलमा रावलका साथै एमालेका महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, उपमहासचिव विष्णुप्रसाद पौडेल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे पनि सहभागी भएका थिए।

शीर्ष नेताबिच गत जेठ २ गतेको सहमतिमा १० सदस्यीय कार्यदल गठन भएको थियो। सो कार्यदलको आज सिंहदरबारमा भएको बैठकले प्राप्त परामर्शका आधारमा तयार गरिएको सहमतिको मस्यौदालाई शीर्ष तहमा प्रस्तुत गर्ने समझदारी भएको थियो।

पार्टीका शीर्ष र दोस्रो तहका नेताबिच भएको अनौपचारिक छलफललाई व्यवस्थित रूपमा सहमतिमा परिणत गर्न तीन दिन अघि कार्यदलको बैठक पुनः सुरु भएको हो। पार्टीका अध्यक्ष केपी शर्मा ओली महाधिवेशन आयोजक कमिटी विघटन गराई नेता नेपाललगायत नेतामाथिको कारबाही फुकुवा गराई २०७५ जेठ ३ गते अगाडिको साङ्गठनिक स्थितिका आधारमा सञ्चालन गर्न तयार भएपछि सहमतिको वातावरण बनेको हो।

एमालेको केन्द्रीय कमिटीको १३ औँ बैठकले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका र प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायरमा संलग्न पार्टीका २३ निवर्तमान सांसदबाट गरिएको हस्ताक्षर फिर्ता गर्न आज साँझ ५ बजेसम्म समय दिएको सन्दर्भमा कार्यदल सक्रिय भएको हो।

नयाँ प्रधानमन्त्री चयन प्रक्रिया सफल हुन नसकेपछि गत जेठ ८ गते प्रतिनिधिसभा दोस्रो पटक विघटन भएपछि एमालेको कार्यदल निष्क्रिय भएको थियो। 

कार्यदलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली पक्षबाट नेताहरू नेम्वाङ, पौडेल, प्रदीपकुमार ज्ञवाली, शङ्कर पोखरेल, विष्णु रिमाल छन् भने नेता माधवकुमार नेपाल पक्षबाट डा रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्णराज विष्ट र रघुजी पन्त, छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ