arrow

एमाले विवाद

ओली र नेपालको वार्ता हस्ताक्षरमा अड्कियो, पावर शेयरिङमा कुरा मिलेन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २३ बुधबार
oli-nepal-meet-second.jpg

काठमाडौँ। एमालेभित्र आन्तरिक विद्रोहको तयारीमा रहेका माधव नेपाललाई फकाउने कसरतमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली बुधवार असफल भएका छन्।एक घण्टा एक्ला एक्लै भेटघाटमा रहेका ओली नेपालबीच पावर सेयरिङमा कुरा नमिलेपछि ओली बुधवारका लागि असफल भएका हुन्।

खास गरी ओलीले दोस्रो अध्यक्ष वा महाधिवेशनपछिको अध्यक्ष मध्ये एक रोज्न भने पनि नेपालले अहिलेलाई नेता कार्यकर्ताहरूको सम्मानजनक एकता र दोस्रो अध्यक्ष हुँदा निर्वाचन आयोग लगायतका स्थानमा दुवै जनाको हस्ताक्षर चल्ने गरी शक्तिको बाँडफाँड गरौँ भनेपछि ओलीले त्यो विषयमा सहमति जनाउन सकेनन्।

‘उहाँहरूबीच खास शक्ति बाँडफाँडमा कुराकानी मिलेन, साङ्गठनिक र विधान संशोधन लगायतका विषयमा कार्यदलले सहमति गरिसकेको छ’, एमाले स्रोतले भन्यो । करिब ५५ दिनपछि उनीहरूबीच कुराकानी हुँदा पनि ओली सकारात्मक नबनेको नेपाल पक्षको दाबी छ भने ओली पक्षले नेपाल आफै रिजिट भएर प्रस्तुत भएको दाबी गरेका छन् । 

७ बजेदेखि म्यारियट होटेलमा सुरु भएको अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको एकल कुराकानी सम्मानजनक आपसी सहकार्यको बिन्दुमा सहमति नभई टुङ्गिएको हो । प्रधानमन्त्री ओलीले अहिले आफूलाई निशर्त सघाउनुपर्ने प्रस्ताव राखेका थिए । जवाफमा वरिष्ठ नेताले तलदेखि माथिसम्म विना भेदभाव सबै नेता, कार्यकर्ताको व्यवस्थापन हुनुपर्ने पुरानो अडान राखेको तथा ओलीले राखेको दोस्रो अध्यक्षको प्रस्तावको बारेमा पनि नेपालले निर्वाचन आयोगमा हस्ताक्षर हुनुपर्ने सर्त राखेको स्रोतको दाबी छ । दुवै नेताहरूबीच भेट हुनुअघि विष्णु पौडेलले माधव नेपाललाई दुई नेता भेटेपछि सबै कुरा मिल्छ भन्ने प्रस्ताव राखेपछि ओलीलाई भेट्न नेपाल तयार भएका थिए । 

एमालेको विवाद सुल्झाउन गठित कार्यदल बैठक तीन दिनदेखि निरन्तर जारी रहँदा विवाद सुल्झने दिशामा रहेको कार्यदलका सदस्यहरूले जनाएका थिए । कतिपय सन्दर्भमा बुधवारको छलफलबाट सहमति पनि गरिसकेको बताएका छन्। तर पनि ओली नेपालबीचको भेटघाटमा सहमति भने हुन सकेन । पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलको सोमबार, मङ्गलवार र बुधवारको बैठक सकारात्मक दिशामा उन्मुख भएको कार्यदलमा सहभागी नेताहरूले बताउँदै आएका छन् । वरिष्ठ नेता नेपाल पक्षबाट कार्यदलको संयोजन गरिरहेका पार्टी उपाध्यक्ष भीम रावलले आइतबार पार्टी अध्यक्ष ओलीसँग भेटघाट गरेपछि सोमबार कार्यदल ब्युँताएर काम थालिएको थियो । रावल सकारात्मक बनेपछि नेता नेपाल पनि सकारात्मक हुने ओली पक्षको बुझाई रहेको थियो।

पार्टीको सबै तहलाई मिलाउने गरी प्याकेजमै सहमति गर्ने गरी तयार पारिएको मस्यौदामा छलफल भएको नेताहरूले जनाएका थिए । मङ्गलवार र बुधवार कार्यदलको बैठकमा बुँदागत छलफल भएको थियो । अनौपचारिक संवादमा रहेका विषयहरूलाई औपचारिकता दिँदै बैठकले अधिकांश विषयलाई टुङ्ग्याएको थियो । मूल विषयमा बुधवार छलफल गरेर टुङ्गो लगाएपछि उनीहरूले दुई नेताहरूलाई भेट गराउने प्रयासमा लागेका थिए । कार्यदलमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल र शङ्कर पोखरेल छन् । यस्तै वरिष्ठ नेता माधव नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त र सुरेन्द्र पाण्डे छन् । 

नेपाल पक्षले विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर सर्वोच्च अदालतसम्म पुगेको र त्यो हस्ताक्षर फिर्ता लिनुपर्ने केपी ओलीको सर्तलाई अस्वीकार गरेपछि पार्टी विभाजनको डिलमा पुगेको थियो । तर दोस्रो पुस्ताका नेताहरूको निरन्तर प्रयासपछि निष्क्रिय रहेको कार्यदल  ब्युँताएर अहिले विवाद निरूपणका लागि काम सुरु गरिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ