arrow

लिम्बु र भट्टराई बेलबारी नगर सभापतिका आकाङ्क्षी

logo
विवेक मिश्र,
प्रकाशित २०७८ असार २४ बिहिबार
belbari.jpg

मोरङ । नेपाली काँग्रेसको १४औँ महाधिवेशन नजिकिँदै गर्दा देशैभर नेपाली काँग्रेसको चहलपहल बढ्न थालेको छ । त्यही क्रममा मोरङको बेलबारीमा पनि उम्मेदवारका आकाङ्क्षीहरू बढ्न थालेका छन् ।

महाधिवेशनको मिति नजिकिँदै गर्दा नेपाली काँग्रेस बेलबारीको भावी नेतृत्वका लागि कसरत सुरु भएको छ । जेठ २५ को तथ्याङ्क अनुसार जम्मा २ हजार ४ सय २४ क्रियाशील सदस्यहरू रहेको बेलबारीमा हाल सम्म नगर सभापतिमा दुई जना उम्मेदवारका आकाङ्क्षीहरूको नाम चर्चामा छ ।

जसमा हालका नगर सभापति शम्भु भट्टराई र नेपाल तरुण दलका क्षेत्रीय अध्यक्ष छत्र लिम्बु रहेका छन् । भट्टराईले आफू कुनै त्यस्तो लाइन विशेष नभएको र सबैको साझा उम्मेदवार भएको बताएता पनि भट्टराईलाई देउवा खेमाको साथ र समर्थन प्रस्ट देखिएको छ भने नगरका सबै नेता र कार्यकर्ताको दर्बिलो साथ र समर्थन रहेको बताउने छत्र लिम्बुलाई कोइराला पक्षधरले उम्मेदवारको रूपमा अघि सारेको छ ।  

 दर्जनौँ सङ्घ संस्थाको नेतृत्व तहमा बसेर कुशलतापूर्वक काम गरिरहेका लिम्बु आफू शक्तिशाली उम्मेदवार रहेको दाबी गर्छन् भने भट्टराई पार्टीमा अनुभव र नगरका सबै नेताहरूको साथ भएकोले आफू शक्तिशाली उम्मेदवार रहेको दाबी गर्छन् । तर बेलबारीमा १४ अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनमा डा.सुनिल शर्माले जोड दिएका छन् । 

बेलबारीका स्थायी बासिन्दा समेत रहेका डा. शर्मा यसअघिको संसदीय निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ का उम्मेदवार हुन् । पार्टीमा दुई जना नगर सचिव रहने व्यवस्था छ । जसमा चार जनाको नाम चर्चामा रहेको छ । शम्भु भट्टराई लाइनबाट नेपाल तरुण दलका जिल्ला सदस्य समेत रहेका ज्ञानुराज राई र हाल नगर कोषाध्यक्ष रहेका जनक पोख्रेल छन् भने छत्र लिम्बु लाइन बाट कुलप्रसाद बराल र शेषराज घिमिरेको उम्मेदवारी चर्चामा रहेको छ । संशोधित कार्य तालिका अनुसार गाउँ/नगर वडा अधिवेशन आगामी साउन १२ गते, गाउँ-नगरपालिका  अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते हुनेछ ।

 यसै गरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन-एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते तथा प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ