arrow

माधव नेपालको 'जनै खटिरा' र प्रचण्डको दौडधुप

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ असार २६ शनिबार
madhav-kumar-nepal-media-brief.jpg
फाइल तस्बिर

काठमाडौँ। सत्तारुढ दल एमालेको आन्तरिक विवाद मिलाउन दोस्रो तहका नेताहरू सक्रिय रहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) भने शनिवार दिनभर दौडधुपमा लागेका छन् । माधवकुमार नेपाललाई जनै खटिरा आएको र उहाँको स्वास्थ्य लाभको कामना गर्ने बहाना बाजीमा शनिवार बिहान नेपाल निवास पुगेका अध्यक्ष प्रचण्डले दिउसो शेरबहादुर देउवा र अपराह्न आफू निकटका माओवादी नेतासँग भेटघाट गरेका छन् । 

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको मुद्दामा सोमबार (२८ असार)मा निर्णय दिन लागेको र एमालेभित्र आन्तरिक विवाद मिल्न लागेको भन्दै दोस्रो तहका नेताहरू छलफलमा सहभागी हुँदा प्रचण्डको राजनीतिक दौडधुपलाई राजनीतिक वृत्तमा अर्थपूर्ण मानिएको छ । 
एमाले विवाद मिलाउने कार्यदलमा रहेका नेताहरूले शुक्रवार धेरै जसो विषयमा सहमति जुटिसकेको र नेता नेपाल स्वयंले पनि अदालतको फैसलालाई असर पर्ने बाहेकका विषयमा सहमति हुनसक्ने सङ्केत गरेपछि प्रचण्ड स्वास्थ्य लाभको कामना गर्ने बहानामा कोटेश्वर पुगेका हुन् । स्रोतका अनुसार एमाले नेता निवास पुगेर प्रचण्डले ओलीसँग मिल्न लागेको हो भनेर जानकारी लिएका थिए भने देउवासँग अहिलेको गठबन्धन धरापमा परेको भन्दै चिन्ता व्यक्त गरेका थिए । करिब डेढ घण्टा नेपालसँग बिताएका प्रचण्डले एमालेभित्रको आन्तरिक एकता, काँग्रेस, माओवादी केन्द्र लगायत विपक्षी दलको गठबन्धनको मोर्चा वन्दी लगायतका विषयमा केन्द्रित रहेर छलफल गरेको स्रोतको दाबी छ ।

नेता नेपालको सचिवालयले भने प्रचण्ड स्वास्थ्य लाभको कामना गर्न आएको दाबी गरेको छ । ‘पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल विगत केही दिन यता स्वास्थ्यमा समस्या (जनै खटिरा) आई चिकित्सकको सल्लाह अनुसार घरमै आराम गरिरहनुभएको छ । आज नेकपा माओवादी केन्द्रका अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोटेश्वर निवासमा पुगी उहाँको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुका साथै स्वास्थ्य लाभको कामना गर्नुभएको छ । उहाँको स्वास्थ्य समस्याका कारण आज संक्षिप्त भेट भएको र अन्य विषयमा कुरा नभएको स्पष्ट पार्दछु’, स्वकीय सचिव मोहन गौतम जारी गरेको प्रेस नोटमा उल्लेख छ । नेता नेपालले प्रचण्डसँगको भेटघाटमा आफूले सर्वोच्च अदालतको हस्ताक्षर फिर्ता लिने या त्यसको निर्णय प्रभावित हुने गरी अन्यत्र थप कुनै कदम नचाल्ने वचनबद्धता दिएका थिए । 

शुक्रवार एमालेको मस्यौदामा पनि नेता नेपालले भने बमोजिमको सहमति भएको थियो । नेपालको बलियो बचनबद्धताको खोजीमा नेपाल निवास पुगेरै छलफल गरेका प्रचण्डले नेपालसँगको छलफलका बारेमा देउवालाई जानकारी दिने क्रममा गठबन्धन धरापमा पर्न सक्ने सङ्केत गरेको स्रोतको दाबी छ । 

प्रधानमन्त्री केपी ओलीले विपक्षी गठबन्धनमै रहेका नेपाल र सो समूहका नेताहरूलाई त्यहाँबाट बाहिर निकाल्ने प्रयास गरिरहेका छन् । अहिले विवाद मिलाउने कोसिस पनि विपक्षी गठबन्धनलाई कमजोर पार्ने र एमाले एक ढिक्का रहेको सन्देश दिने उद्देश्यका साथ भइरहेको छ । एमालेको किचलो मिलाउन केही दिन यता विवाद समाधान लागि बनेको कार्यदलमा वार्ता भइरहेको छ । शुक्रवारको वार्ता पछि मस्यौदामा भएको सहमतिलाई अन्तिम रूप दिई पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता नेपाललाई बुझाउने तयारी भएको छ । एमालेको वार्ता निष्कर्षमा पुग्न लागेका बेला प्रचण्ड–नेपालबिचको भेटघाटले ओली पक्षका र नेपाल पक्षका नेताहरूलाई संशय उत्पन्न गराएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ