- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रुपन्देही । सुमन सुनार पाल्पाको नुवाकोट वासी हुन् । हाल उनी रुपन्देहीको बुटवल उपमहानगरपालिका १३ मा बस्दै आएका छन् । ३ वर्ष अगाडी वैदेशिक रोजगारीको सिलसिलामा जान आँटेका उनी, भरपर्दो म्यानपावर खोज्दै बुटवल आए । उनले, विदेश मान्छे पठाउने एजेन्ट (दलाल) पाल्पाका विमल कुमार प्रधानलाई भेटाए ।
एजेन्ट प्रधानलाई भेटाएपछि, अव विदेश जाने सपना पूरा हुने आशा लिएका उनको आत्मविश्वासलाई उनै दलाल प्रधानले दिवा सपनामा परिणत मात्रै होइन, विदेश पठाउँछु भनी सुनारसँग ३ लाख रुपैयाँ हात पारे । तर, उनले सुनारलाई विदेश पठाउने भन्दा पनि हिजोआज कर्जा लिएर विदेश जान भनी साहु सँग लिएर दलाललाई दिएको पैसाले थप पीडित बनाएको छ ।
न विदेश जान, न लिएको पैसा फिर्ता पाउन नसकेका सुनारलाई एजेन्ट प्रधानले करिब ४ वर्ष सम्म कुनै निर्णय दिन सकेका छैनन् । बरु, एजेन्ट प्रधानले पैसा फिर्ता माग्दा लाचारसित एवं गैर जिम्मेवार जवाफ दिने गरेको पीडित सुमन सुनारले बताएका छन् । उनी भन्छन्, प्रधानसँग धेरै पटक पैसा मागे, सुन्नुभएन, केही समय सम्पर्क विहीन हुनुभयो, पछि उहाँको श्रमितीले बुटवलको लक्ष्मीनगर गेट नजिक ब्यूटिपार्लर खोलेको भेटेपछि, नम्बर पाएको र सम्पर्क गर्दा, उल्टै थर्काउने गरेको बताए ।
२०७५ साल पुस २३ गते लिखित कागज गरेका प्रधानले हाल सम्म सो रकम फिर्ता गर्न आलटाल गर्दै आएको र ठगी गर्ने नियत देखाएको उनको भनाई छ । साबिक पाल्पाको भैरवस्थान गाविस वडा नं.९, हाल रिब्दीकोट गाउँपालिका वडा नं.४ का ४४ वर्षीय प्रधान कहिले पाल्पा कहिले त, बुटवलको लक्ष्मी नगरमा बस्दै आएको खुलेको छ ।
नागरिकता नं.३९१०४८र१३ पाल्पा वाट जारी भएको पाइएको छ । भाग्दै हिँडेका एजेन्ट प्रधान सम्पर्कमा आउन नमान्ने र पैसाका कुरा गर्दा अहिले आफू सँग नभएको पटक पटक बताउँदै आएको सुनार बताउँछन् । लिखित कागज अनुसार, प्रधानले ३ लाख १० हजार कर्जा स्वरूप लिएको भन्दै दाँयाबाँया गरेको स्पष्ट खुलेको छ । कागजमा कर्जा भनिए पनि, तर वैदेशिक रोजगारीको लागि दिएको पैसा भएको सुनारको दाबी छ ।
यसअघि २०७६ साल भदौ ११, फागुन १८ र सोही महिनाको २० गते नेपाल एक्सप्रेस फाइनान्सको नाममा काटिएको चेकलाई कैलाश विकास बैङ्कमा गाभिए पछि, साट्न खोज्दा नसाटिए पछि, कैलाश विकास बैङ्क पुनः तिनाउ मिसन बैङ्कमा गाभिए सँगै ३ पटक सम्म चेक नसाटिएपछि, बाउन्स गर्न खोजे पनि, असफल भएको प्राप्त कागजातले जनाएको छ ।
पीडित सुनार न्यायका लागि स्थानीय पालिकाको ढोका सम्म पुग्दा अहिले सम्म न्याय पाउन सकेका छैनन् । पाल्पाको तिनाउ गाउँपालिका वडा नं.२ नुवाकोटका उनी, गाउँपालिकामा गठित न्यायिक समितिमा जाँदा ठगी सम्बन्धी उजुरी लिन नमानेको र न्यायिक समिति प्रमुख एवं गाउँपालिका उपप्रमुख दमयन्ती थापाले लेनदेन सम्बन्धी मुद्दा गाउँपालिकाले नहेर्ने भन्दै फर्काएको दुखेसो पोखे । यस्तै उनले, इलाका प्रहरी कार्यालय बुटवलमा पनि जाँदा प्रहरीले पनि प्रशासन वाट सो काम नहुने भन्दै, अदालत जान सुझाएको बताए ।
उता, रिब्दीकोट गाउँपालिकाका प्रमुख नारायण बहादुर जिसीले एजेन्ट विमल कुमार प्रधान आफ्नै गाउँपालिका भित्रको भएको भन्दै, ठगी गरेर भाग्न नपाइने बताउँदै, यद्यपि कसुर गरेर भाग्न खोजे गाउँपालिकाले पीडितलाई न्याय दिने कुरामा सहयोग गर्ने प्रतिबद्धता गरे । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भने, विदेश पठाउने भनी पैसा खाएर सम्पर्क विहीन हुने र पैसा फिर्ता नदिने जो कोहीलाई कानुनी कट्घरामा ल्याएरै छाड्ने बताएको छ ।