- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई बाहिर राख्ने नियतका साथ स्थायी कमिटी बैठक र संसदीय दलको बैठक एकै दिन बोलाएका छन्। शुक्रवार बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाएका ओलीले दिउसो ३ बजेलाई संसदीय दलको बैठक बोलाएका छन्। शुक्रवार बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान ग्वार्कोमा बैठक बोलाइएको भए पनि नेपाल पक्ष सहभागी हुने नहुने अहिलेसम्म अन्योल रहेको छ।
सरकारबाट बाहिरिएपछि पहिलो पटक बस्न लागेको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सदस्यहरूलाई पनि खबर गरिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताएका छन् यद्यपि यो विषयमा नेपाल पक्षले आफ्नो औपचारिक धारण सार्वजनिक गरेको छैन। विरोध खतिवडा, मेटमणि चौधरीले संसदीय दलको बैठकमा नजाने बताइसकेका छन् भने स्थायी कमिटी बैठकको बारेमा सुरेन्द्र पाण्डे लगायतका नेताहरूले केही बोलेका छैनन्।
आफ्नै पार्टी २३ सांसदको निर्णायक भूमिकाले सरकारबाट बाहिरिएका अध्यक्ष ओलीले त्यसको नेतृत्व गरेका नेपाललाई पार्टीभित्र कुनै पनि स्थान नभएको बताइसकेका छन्। बुधवार आफ्नो निजी निवास बालकोटबाट ओलीको यस्तो उद्घोषले एकताका लागि भएको १० बुँदे सहमति कार्यान्वयन नहुने सम्भावना देखिएकै बेला शुक्रवार बस्ने स्थायी कमिटी बैठकमा नेपाल पक्ष नेताहरू कसरी सहभागी होलान् भन्ने कौतुहलता उत्पन्न भएको छ।
यद्यपि कार्यदलमा रहेका नेपाल पक्षका नेताहरूले तत्काल पार्टी कमिटी र संसदीय दलको बैठक रोकेर अनौपचारिक छलफल अगाडि बढाउन संस्थापन पक्षलाई सुझाव दिएका छन्। तर, उनीहरूको सुझावलाई बेवास्ता गर्दै ओलीसँगको परामर्शमा महासचिव ईश्वर पोखरेलले स्थायी कमिटी बैठक बोलाएका हुन्।
बिहीवार नेपाल पक्षका नेताहरूले संसदीय दलको बैठक रोकेर आपसी सहमतिमा बैठक बोलाउन माग गरेका थिए। बिहीबार दिउसो भीम रावलले सुवास नेम्वाङलाई फोन गरेर संसदीय दलको बैठक रोक्न आग्रह गरेका थिए। ‘हाम्रो तर्फबाट संसदीय दलको बैठक रोकियोस् भन्ने प्रस्ताव छ। तयारी पूरा भएपछि मात्रै बैठक बसौँ भन्ने हाम्रो प्रस्ताव रहेको छ’, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले भने।
तर ओलीले संसदीय दलको बैठक रोक्नुको साटो स्थायी कमिटीको बैठक बोलाएर नेपाल पक्षलाई थप तनाव दिएका छन्। उनले अबको बैठक नरोकिने सङ्केत गरेको बालकोट निकट स्रोतले जनाएको छ। उता नेपाल पक्षका नेताहरूले सशक्त हस्तक्षेप गर्नुपर्ने र दोस्रो तहका नेताहरूलाई कार्यदलमा थप्दै लगेर पार्टी एकतालाई दबाब दिनुपर्ने निष्कर्षमा पुगेको स्रोतले जनाएको छ।
बिहीवार बालुवाटारबाट बालकोटस्थित निजी निवासमा सर्दा ओलीले नेपाललाई लक्षित गरेर दिएको अभिव्यक्तिले वातावरण बिगारेपछि नेपाल पक्षका नेताहरूले कार्यदलमा स्थायी कमिटीका सदस्यहरूलाई थप्दै लगेर दुवै नेतालाई प्रेसर गर्नुपर्ने तहमा पुगेका हुन्। नेपाल पक्षका नेताहरूले अन्तिम अवस्थामा नेपाललाई मनाउने कोसिस गरिरहेका छन्।