arrow

पोखरा विश्वविद्यालय २५औं वर्षमा, शिक्षण अस्पताल संचालनको तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २ शनिबार
pokhara-univarsity.jpg

पोखरा । पोखरा विश्वविद्यालय स्थापना भएको २४ औं वर्ष पूरा भई २५ वर्ष प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा पोखरा विश्वविद्यालयले विश्वविद्यालय हाताभित्र सरसफाई तथा औपचारिक कार्यक्रम गरी मनाइएको छ ।

उक्त अवसरमा उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले २५ वर्षमा विश्वविद्यालयले गरेका उपलब्धिका बारेमा चर्चा गरे । उनले विश्वविश्वद्यालय जन्माउने र हुर्काउने सबै काम महान् भएको बताए । सबैको दुःख र मेहनतले पोखरा विश्वविद्यालय यो स्थानमा आइपुगेको भन्दै उपकुलपति अर्यालले विश्वविद्यालयको विकास र विस्तारमा सबै पक्ष एकढिक्का भएर लाग्नुपर्नेमा जोड दिए ।

विश्वविद्यालयको गरिमा, छवि र दिगोपनका लागि सबै संवाद्, सहमति र सहकार्यका आधारमा अघि बढ्नुपर्ने भन्दै उनले हामीलाई ध्यानाकर्षण, बन्द, तोडफोड होइन, रचनात्मक सहयोग गर्न आग्रह गरे ।

उनले विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको भावना मुखरित गर्दै शैक्षिक गुणस्तर र जनशक्ति उत्पादनमा अनुसन्धान, सामाजिक विकास र उद्यमशीलतालाई जोड दिइने स्पष्ट पारे ।

रजिष्ट्रार डा.दीपक बहादुर भण्डारीले पोखरा विश्वविद्यालयले २५ वर्षमा आइपुग्दा समेत अपेक्षित प्रगति हासिल गर्न नसेकेको बताए । उनले विश्वविद्यालयको लक्ष्य प्राप्तिका लागि अब हिंड्ने होइन दगुर्ने बेला आएको स्पष्ट पारे ।

परिवर्तन आँफैबाट शुरू गर्नुपर्नेमा जोड दिंदै रजिष्ट्रार भण्डारीले विश्वविद्यालयबाट के पायौं भन्दा पनि हामीले के दिन सक्यौंं भनेर सोच्न आग्रह गरे ।

विश्वविद्यालयको भौतिक पूर्वाधार विकास र शिक्षण अस्पताल सञ्चालनका लागि प्रक्रिया अगाडि बढिसेकेको र यसलाई तोकिएको समयभित्रै सम्पन्न गरिने उनले स्पष्ट पारे ।

पोखरा विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा। दिपकचन्द्र वाग्लेले २४ वर्षमा भएका कमी कमजोरीबाट पाठ सिक्दै र छलफल गर्दै अघि बढ्न सुझाव दिए ।

पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका डीन डा.अजय थापाले सबैको साथ र सहयोगले विश्वविद्यालय यो अवस्थामा आएको उल्लेख गर्दै विश्वविद्यालयमा देखिएका चुनौतिलाई अवसरमा परिणत गर्न निश्चित योजना र रणनीति बनाउँदै फरक ढंगले अगाडि बढ्नुपर्ने खोाचो औंल्याए ।

पोखरा विश्वविद्यालय प्राध्यापक संघका सभापति उपप्राध्यापक हेमराज पाण्डेले २५ वर्षको अवधिलाई साक्षी राखेर विश्वविद्यालयलाई परिवर्तन गर्नुपर्नेमा जोड दिए ।

पोखरा विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा. हरिबहादुर खड्काले पोखरा विश्वविद्यालयको विगतलाई हेर्दा धेरै प्रगति भएको भन्दै यो परिवर्तनतर्फ निरन्तर उन्मुख रही विविध कार्यक्रम र नीतिका साथ अगाडि बढ्दै आएको बताए ।

पोखरा विश्वविद्यालय स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल ईञ्जिनियरिङ्गका स्कूल निर्देशक डा। रामप्रसाद अर्यालले सूचना प्रविधिलाई आत्मसाथ गर्दै विश्वविद्यालयलाई विश्वसामू चिनाउन सबैले मेहनत गर्नुपर्नेमा जोड दिए ।

पोखरा महानगरपालिका वडा नं.३० का वडाध्यक्ष श्रीराम पोखरेलले विश्वविद्यालय स्थापनामा स्थानीयको सहयोग र योगदान अतुलनीय रहेको उल्लेख गर्दै यसको विकास र विस्तारमा सबै एकजुट भएर लाग्नुपर्ने बताए ।

उनले विश्वविद्यालयमा बन्द धेरै हुने गरेका र यसले विश्वविद्यालयको उन्नतिमा धेरै हानी पुगेको भन्दै विश्वविद्यालयलाई अगाडि लैजाने विषयमा स्थानीय नागरिकको सँधै साथ, सहयोग र सद्भाव रहने प्रतिवद्धता जनाए ।

पोखरा विश्वविद्यालय कर्मचारी संघका अध्यक्ष उपप्रशासक शिवराज पण्डितले सहमति, सहकार्य र एकताबाट विश्वविद्यालय सञ्चालन हुनुपर्नेमा जोड दिए । उनले विश्वविद्यालयको विकास र विस्तारका लागि सात वटै प्रदेशमा एक(एक वटा आंगिक कलेज सञ्चालन हुनुपर्ने बताए ।

उक्त अवसरमा दुई जना कर्मचारीलाई उत्कृष्ट घोषणा गरी सम्मानपत्र र पुरस्कारको रूमा दुई ग्रेड वृद्धि गरिएको छ । सम्मानीत हुने कर्मचारीमा मानविकी तथा सामाजिकशास्त्र संकायमा कार्यरत कार्यालय सहयोगी चन्द्रा चेम्जोङ्ग, स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल ईञ्जिनियरिङ्गमा कार्यरत मुख्य सहायक पुरूषोत्तम रानाभाट छन् । कार्यक्रमको सञ्चालन सहप्रशासक तारादेवी सापकोटाले गर्नुभएको थियो ।

पोखरा विश्वविद्यालयमा हाल चार वटा आंगिक, चार वटा संयुक्त आंगिक, ५८ वटा सम्बन्धन कलेज र एक वटा विद्यावारिधितहको अध्ययन अध्यापनका लागि काउन्सिल फर डक्टरल स्टडिज रहेका छन् । विश्वविद्यालयमा हाल ६३ वटा कार्यक्रम सञ्चालन र लगभग ३३ हजार विद्यार्थी अध्ययनरत छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ