- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। केपी ओली नेतृत्व सरकारमा मन्त्री बनेका राज किशोर यादव र राज्यमन्त्री भएकी रेणुका गुरुङ प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन संसद् भवन पुगेका छन्। जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षबाट यी दुवै जना ओली सरकारमा मन्त्री थिए। तर अहिले भने परिस्थिति बदलिएकाले संसद् बचाउन आफूहरू प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने पक्षमा उभिएको उनीहरूले भनेका छन्।
जसपा नेता राज किशोर यादवले हाम्रा कुरासँग भने, ‘मूलतः आफू जसपाको एकताको पक्षमा रहेको भए पनि पछिल्लो परिस्थितिमा आफू सांसदलाई बचाउ प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने पक्षमा उभिएको छु।’ उनले बाँकी कुरा मतदानपछि सञ्चारमाध्यमलाई जानकारी गराउने पनि बताए।
यसअघि यादव पक्षले आइतबार बोलाएको जसपाको संसदीय दलको बैठकमा गुरुङ भने अन्तिम समयमा सहभागी भएकी थिइन्। ठाकुर पक्षका ५ जना सांसद प्रमोद साह, रानी मण्डल, अमृता अग्रहरी, रुही नाथ र नरमाया ढकालले शनिवार नै कित्ता परिवर्तन गरी यादव पक्षमा पुगेका छन्। अब यादवको पक्षमा १९ जना सांसद पुग्ने बताइन्छ।
ठाकुर पक्षकी एक सांसद दुलारी देवी खतवेले पनि कित्ता परिवर्तन गरी यादव पक्षमा जाने आश्वासन दिएको कित्ता परिवर्तन गरेको एक नेताले बताए। ठाकुर पक्षबाट कित्ता परिवर्तन गरी यादव पक्षमा आउनेको सङ्ख्या अन्तिम समयसम्म अझै बढ्ने सम्भावना रहेको प्रमोद साहले जनाए।
ठाकुर पक्ष सरकारमा सहभागी हुँदा ठाकुरसँग २० जना यादवको पक्षमा १२ जना सांसद थिए। अहिले ठाकुर पक्षका सांसदहरू यादव पक्षमा जाने क्रम सुरु भएको छ। योसँगै जसपाको समीकरण उल्टिने भएको हो।
प्रतिनिधि सभामा जसपाका ३४ जना सांसद छन् । जसमध्ये दुई सांसद रेशम चौधरी र हरिनारायण रौनियार निलम्बित अवस्थामा छन्।