arrow

गृहका लागि आधा दर्जन बढी सचिवहरुको दौडधुप

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ७ बिहिबार
home-ministry-nepal.jpg

काठमाडौं । सचिवहरुको लागि गृह मन्त्रालय सबैभन्दा आकर्षक कार्यालय हो । त्यसैले गृहमा जान सचिवहरुको सधै दौडधुप हुने गर्छ । यो दौडधुपमा सधै पहुँचवाला सचिवहरुले मात्र बाजी मार्दै आएका छन् । त्यसैले गृह सचिवलाई अन्य सचिवहरुले पनि भाग्यमानी र पहुँचवाला सचिव ठान्ने गर्छन् ।

वर्तमान गृहसचिव महेश्वर न्यौपाने यस्तै भाग्यमानी गृहसचिव हुन् । किनभने उनी झण्डै दुई वर्षसम्म गृहमै बसेका छन् । अहिले सरकार फेरिएको छ । सरकारको नेतृत्व नेपाली कांग्रेसले गरेको छ र गृह मन्त्रालय पनि कांग्रेसको पोल्टामा आएको छ । त्यसैले गृहमा जान अहिले बहालवाला सचिवहरुले दौडधुप शुरु गरेका छन् । यस्तो दौडमा आधा दर्जनभन्दा बढी बहालवाला सचिवहरु छन् । 

वर्तमान गृहसचिव न्यौपानै आफैं पनि यो लाइनमा छन् । उनले गृहमै कायम रहन विभिन्न माध्यमबाट प्रयास जारी राखेका छन् । यसको लागि उनले आफू कांग्रेसी भएको देखाउन विद्यार्थी कालमा रत्नराज्य क्याम्पसमा पढ्दा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्र्थी संघबाट राजनीति गरेको पनि सुनाउने गर्छन् । भक्तपुरका न्यौपानेलाई केपी शर्मा ओली नेतृत्वको निवर्तमान सरकारका पालामा स्थानीय एमाले नेता महेश बस्नेत सहितका भक्तपुरवासीले गृहमा ल्याउन भूमिका निभाएका थिए । 

‘डेमोक्रयाट’ भनेर चिनिएका गोकर्णमणि दुवाडी तथा कृष्णहरी पुस्कर पनि गृहको लाइनमा छन् । सहसचिवबाट सचिवमा बढुवा गर्न बढुवा सिफारिश समितिले पाँच पटकसम्म्म बढुवाको सिफारिश गर्दा पनि दुवाडीको बढुवा गरिएको थिएन । छैटौं पटकको सिफारिशमा मात्र उनी बढुवा भए । बढुवा हुने बित्तिकै उनलाई प्रदेश २ मा पठाइयो । झण्डै एक वर्षदेखि उनी प्रदेश २ मै कार्यरत छन् । सचिवहरु लामोसमयसम्म काठमाडौ बाहिर बस्दैनन् । दुई तीन महिनामै काठमाडौं सरुवा मिलाउने गर्छन । तर दवाडी भने झण्डै एक वर्षदेखि प्रदेश २ मै छन् । प्रदेश २ सरकारी कर्मचारीहरुकोलागि सबैभन्दा कम आकर्षक ठाउँ हो । 

पुस्कर केही दिन अघिमात्र सहसचिवबाट सचिवमा बढुवा भएका छन् । अहिले उनी मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयको अतिरिक्त समूहमा छन् । उनको पदस्थापन हुन बाँँकी छ । पहिलो पदस्पथापन गृहमा गराउन उनले जोडबल गरेका छन् । सहसचिव हुँदा उनी गृह मन्त्रालयको विपद् ब्यवस्थापनमा कार्यरत थिए ।

यसैगरी पर्यटन सचिव यादव कोइराला, श्रम सचिव सूर्य गौतम तथा संघीय मामिला सचिव एकनारायण अर्याल पनि गृहसचिव हुन दौडधुपमा लागेका छन् । गौतम र अर्याल सहसचिवबाट सचिवमा बढुवा भएपछि पहिलो नियुक्ति काठमाडौंमै पाउने भाग्यमानी सचिव हुन् । सहसचिवबाट सचिवमा बढुवा भएपछि पहिलो नियुक्ति काठमाडौं बाहिर गर्ने परम्परा छ । तर पहुँचवाला सचिवहरुले भने आफ्नो पहिलो नियुक्ति काठमाडौंमै गराउने गर्छन् । 

कोइराला, गौतम र अर्यालले केपी ओली नेतृत्व सरकारको पालामा प्रायः  ‘राम्रो ठाउँ’ पाएका थिए । अर्याल काठमाडौं महानगरपालिकाको सचिव पनि भएका थिए । त्यसो त गृह सचिव हुने दौडमा स्वास्थ्य सचिव लक्ष्मण अर्याल पनि लागिपरेका छन् । राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीलाई गृहमा लैजानुपर्ने भन्नेहरुको संख्या पनि ठूलै छ । भण्डारीलाई गृह वा अर्थमा लैजाँदा उनले राम्रो काम गरेर देखाउन सक्ने भन्दै उनको पक्षमा लविङसमेत भइरहेको पाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ