arrow

फेवासिटीमा सविनाको मृत्यु प्रकरणः अस्पतालले माग्यो माफी, १५ लाख रुपैयाँ क्षतिपूर्ति दिन सहमत 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ९ शनिबार
fewa-city-hospital8888.jpg

पोखरा । स्याङ्जाकी सविना पोखरेल ढकालको मृत्यु प्रकरणमा पोखरास्थित फेवासिटी अस्पतालले माफी माग्दै दुःख व्यक्त गरेको छ । सविनाको मृत्युलाई अस्पताल प्रशासनले अस्वभाविक पनि भनेको छ ।

‘अप्रेशन गर्ने तयारी गर्दै गर्दा उहाँको अकस्मात मृत्यु भएको हो’, चिकित्सक टुमाया घलेले भनिन्, ‘अप्रेसन थिएटरमा नलगि बेडमै राखिएको भए पनि उहाँको मृत्यु हुने थियो ।’

बेहोस बनाउने सुई दिनु अघि सविनालाई स्लाइन् चढाइएको र त्यही बेला अकस्मात छट्पटाएको र एक मिनेट भित्रै उनको मृत्यु भएको डा। घलेले स्पष्ट पारिन् ।  उनले आफूहरुको कुनै गल्ती नभएको भन्दै कहिं कतैबाट गल्ती पुष्टि हुन्छ भने जस्तोसुकै सजाय भोग्न तयार रहेको बताइन् ।

अस्पतालले माफी मागेपछि र क्षतिपूर्तिमा कुरा मिलेपछि अस्पताल प्रशासन र पीडित पक्षबीच सहमति जुटेको छ । सविनाको मृत्यु भएसंगै पीडित पक्षले बिहीबार रातिदेखि शुक्रबार साँझसम्म अस्पताल प्रांगणमा आन्दोलन गरेको थियो ।

दिनभरको प्रयासपछि शुक्रबार साँझ दुवै पक्षबीच सहमति जुटेको हो । अस्पताल प्रशासनले १३ लाख रुपैयाँ सविनाकी छोरीको अध्ययनका लागि र दुई लाख रुपैयाँ कीरिया खर्च भन्दै १५ लाख रुपैयाँ क्षतिपूर्ति दिन सहमत भएको बताइन्छ ।

यस्तै, सविनाकी छोरीको उपचार निःशुल्क गर्न, उनका पति शालिकराम ढकाललाई योग्यताको आधारमा रोजगारी दिन अस्पताल प्रशासन सहमत भएको बताइएको छ ।

स्याङ्जा आँधीखोला ६ की सविनाको कोखा दुखेर उपचारका लागि पोखरा आएकी थिइन् । उनलाई बिहीबार दिउसो फेवासिटी अस्पतालमा भर्ना गरिएको थियो ।

चेकजाँचका क्रममा सविनाको पिशावनलीमा पत्थरी देखिएपछि चिकित्सकले अप्रेशन गर्न सुझाव दिएका थिए । चिकित्सकको सुझावमा सविनाको अप्रेशन गर्न उनका परिवारजन तयार भएका थिए ।

अप्रेशन थिएटरमा लगिएको केही बेरमै सविनाको मृत्यु भएको थियो । त्यसपछि अस्पतालको लापर्वाहीले सविनाको मृत्यु भएको भन्दै आफन्तजनले आन्दोलन शुरु गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ