- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । एमाले विवाद पेचिलो बन्दै गएपछि पार्टी अध्यक्ष केपी शर्मा ओली लचिलो बन्दै गएका छन् । राज्यका सबै निकायहरुमा भएका नियुक्तिहरु बदर हुने र त्यसको धक्का निकै माथिसम्म पुग्ने भएपछि ओलीले कुनै पनि हालतमा पार्टी मिलाउने भन्दै लचकता अपनाउने भएका हुन् ।
माधवकुमार नेपाल पक्षका नेताहरुलाई पार्टीभित्र ल्याउन र माधव नेपाललाई समेत पार्टीको कार्यकारी अधिकार दिएर विधान संशोधन समेत गर्नेगरी तयारी थालेका छन् । ‘नेपालले सत्तासाझेदार दलसँगको गठबन्धन नटुटाएको र अझैपनि ओलीविरुद्ध आरोप प्रत्यारोप लगाउन नछाडेपछि ओलीले पार्टीको दोस्रो अध्यक्ष विधानमै सुनिश्चित गरेर विवाद मिलाउन लागेका हुन्’, एमाले उच्चस्रोतले भन्यो ।
विवाद निरुपण सम्बन्धी बनेको १० सदस्यीय कार्यदलले तयार पारेको १० बुँदेसहित विधान संशोधन गरेर दोस्रो अध्यक्ष दिने तयारी भएको छ । गत विहिबार नै केन्द्रीय कमिटीको बैठकमा बोल्दै माधवकुमार नेपाल पक्षलाई आममाफी दिएको घोषणा गरेका थिए ।
सोमबारको बैठकबाट स्पष्टिकरण सोधिएको भएपनि बिहीबार ओलीले आममाफी घोषणा गरेपछि दुवै समूहबीच एकता बढ्ने अपेक्षा गरिएको थियो । तर शुक्रबार नेपालले त्यसको जवाफ फर्काउदै महाराजले आममाफी दिएपछि हामी खुशी भैदिनु पर्ने भन्दै जवाफ फर्काएपछि अहिले दुवै नेताबीच छलफल र संवाद हुन सकेको छैन ।
शनिवार दिनभर कार्यदलका सदस्यहरुले नेपाल र ओलीवीच संवाद गराउने प्रयास गरेको भएपनि सफल हुन सकेनन । नेपाल बनेपाको एक कार्यक्रममा गएको र दिनभर उतै बसेका कारण संवाद गराउने प्रयास सफल भएको थिएन । शनिवार दिनभर विरोध खतिवडाले पनि नेपालको साथ छाडेका थिएनन । वनेपाबाट फर्केपछि नेपाल पाँच दलीय गठबन्धनको वालुवाटार बैठकमा भाग लिन पुगेका थिए । नेपाल वालुवाटार पुगेपछि नेपाल र ओली दुवै समूहका नेताहरु झस्किएका छन् ।
ओली सरकारमा रहँदा पटक-पटक संसद विघटन गर्नेदेखि आफु इतरका नेतालाई दमन गर्ने कार्यशैली अवलम्वन गरेपछि उनी विरुद्ध काग्रेस, माओवादी केन्द्र सहितका पार्टीहरुले विपक्षी मोर्चा बनाएका थिए ।
त्यही मोर्चामा नेपाल पनि सहभागी भएपछि मोर्चा बलियो भएर ओली सत्ताबाट बाहिरिनु परेको थियो । पछिल्लो अवस्थामा कांग्रेस, माओवादीले मोर्चावन्दी गर्नु स्वभाविक मानिएपनि त्यही मोर्चामा एमालेकै वरिष्ठ नेता माधव नेपाल समुह पनि सहभागी हुनुलाई नेपाल पक्षका नेताहरुले निको मानेका छैनन ।
देउवा सरकार बन्नुअघिनै भीम रावलले विपक्षी गठवन्धनको नाममा अव कांग्रेस-माओवादी सहितको बैठकमा सहभागी हुन नहुने भन्दै वैठकमै जान छोडिसकेका थिए । त्यसअगाडीसम्म यो गठवन्धनको बैठकमा नेपाल समुहबाट नेपाल र रावल सहभागी हुँदै आईरहेका थिए । रावलले विपक्षी गठबन्धनको बैठकमा जान छाडेपछि नेपालले रावललाई शंकाको दृष्टिले हेर्न थालेका थिए ।
संसद पूर्नस्थापना हुने, देउवालाई प्रधानमन्त्री नियुक्त गर्न अदालतले परमादेश दिने वित्तिकै नेपाल वुढानिलकण्ठको वैठकमै नजाने सन्देश गएपछि माओवादी अध्यक्ष प्रचण्डले नेपाललाई फकाएका थिए । अहिले पनि एमाले कार्यदलको नेताहरु सक्रिय हुन थालेपछि प्रचण्डले नेपाल निवास कोटेश्वर पुगेर भेटघाट गर्ने गरेका छन्।
प्रचण्डको चंगुलमा माधव नेपाल फसेको भन्दै नेपाल पक्षका नेताहरुले दबाब समूहनै बनाएका छन् । त्यसमा ओली पक्षका नेताहरुपनि सहभागी भएका छन् । एमालेको दुवै समूहमा रहेका सांसदहरुको एकता अभियान चलाएका हुन् । अभियानले १० सदस्यीय कार्यदलका नेताहरुसँग आज छलफल गर्दैछन् । एमाले विभाजन हुन नदिन र पार्टीमा सुदृढ एकता कायम गर्न गठित सांसदहरुको अनौपचारिक अभियानले कार्यदललाई सहमतिमा पुग्न दबाब दिने भएका छन् ।
अभियानमा सक्रिय एक सांसदले कार्यदलका नेताहरु नै अन्तिममा केपी शर्मा ओली र माधवकुमार नेपाल समूहमा फर्किएकाले समस्या बताएको बताए । अभियानको नेतृत्व संस्थापनबाट कृष्णप्रसाद दाहाल र नेपाल पक्षबाट यज्ञराज सुनुवारले गरेका छन् । एक सांसदका अनुसार ओली र नेपाल व्यक्तिगत इगोमा अल्झिएकाले तेस्रो व्यक्ति अगाडि सार्नुपर्ने अवस्था आएको बताएका छन् ।
त्यही विकल्पबारे पनि आज छलफल हुने बताइएको छ । तर ओलीले विधान संशोधन गरेर अर्को अध्यक्ष दिने कार्यकारी अधिकार समेत दिने बताइसकेकाले त्यसको बारेमा ओली नेपाल दुवै पक्षका दोस्रो तहका नेताहरुले छलफल गरिरहेका छन् ।
अहिले तेस्रो पुस्ताका नेताहरु कृष्णप्रसाद दाहाल, सूर्य पाठक, पदम गिरी, शान्ति पाख्रिन, यज्ञ बोगटी, यज्ञराज सुनुवार, झपट रावल, जयकुमार राई, दीपकप्रकाश भट्ट लगायतका सांसदले विघटित कार्यदलका भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त सुवास नेम्वाङ, बिष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमालसँग छलफलको तयारी गरेको छन्। नेपाल पक्षका मेटमणी चौधरी, विरोध खतिवडा लगायतका सांसद भने ओली पक्षसँग मिल्न नहुने दबाब दिइरहेका छन् ।