arrow

काठमाडौँमा फेरी थपियो निषेधाज्ञा : सवारी साधन भने खुला

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १० आइतबार
yatayat-kathmandu-basundhar.jpg

काठमाडौँ । उपत्यकामा जारी निषेधाज्ञा १० दिन थप गरिएको छ । तर प्रशासनले लगाएको नाम मात्रैको निषेधाज्ञाका कारण भिडभाड तथा हेलचेक्र्याइँ भने बढ्दो क्रममा छ । यस्तै निषेधाज्ञा खुकुलो हुँदै गर्दा कोरोना संक्रमित पनि बढ्न थालेका छन् । 

आइतबार मात्रै देशभर २ हजार २ सय ३७ संक्रमित थपिएका छन् । शनिवार मात्रै देशभर लामो दूरीका सवारी साधनसमेत सञ्चालन हुन थालिसकेका छन् । लामो दूरीका सवारी सञ्चालन भएसँगै कोरोनाको जोखिम झनै बढ्ने देखिएको छ । 

आइतबार बसेको काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले उपत्यकामा १६ वैशाखबाट जारी निषेधाज्ञालाई पुनः १० दिन थपेको हो । यो निर्णयपछि २० साउनसम्म निषेधाज्ञा कायम हुने छ । तर सबैजसो क्षेत्र खुला हुँदा निषेधाज्ञाको प्रभावकारिता भने न्यून छ । 

जिल्ला प्रशासन कार्यालय काठमाडौंद्धारा आइतबार जारी आदेश अनुसार थप गरिएको निषेधाज्ञामा सबै प्रकारका सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्स बार, दोहोरी नाचघर, क्लब, स्विमिङ पुल, मनोरञ्जन स्थल तथा रङ्गशाला सञ्चालनमा लगाइएको बन्देज कायम छ । 

यस्तै यसअघि देखि नै खुल्ला स्थानमा मानिसहरू भेला तथा जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस गर्न तथा भोजभतेर गर्न लगाइएको बन्देज पनि यथावत् राखिएको छ ।  

यसै गरी नित्य पूजाबाहेक धार्मिक तथा सांस्कृतिक गतिविधि गर्न पनि लगाइँदै आइएको रोक यथावत् राखिएको छ । यसै गरी विद्यालय तथा शैक्षिक संस्थाहरू पनि खुला गरिएको छैन । 

यसबाहेक परीक्षा तथा सार्वजनिक यातायात स्वास्थ्य मापदण्ड पालना गरेर मात्रै सञ्चालन गर्न पाइने, लामो दुरीका यातायात सञ्चालन हुन दिने, पसल व्यवसाय साँझ ७ बजेसम्म सञ्चालन गर्न दिनेलगायतका निर्णय भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीद्वारा जारी आदेशमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ