arrow

महासेठको चुनौती : राष्ट्रपतिमाथि महाभियोग लगाएर त हेर, छोएर त हेर, त्यसपछि के हुन्छ ?

बरु आकाश खस्ला माधव नेपाललाई बराबरी अध्यक्ष दिईँदैन्

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ११ सोमबार
raghubir-mahaset-ncp.jpg

काठमाडौँ। नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाभियोग लगाउने हल्ला पनि चलेको उल्लेख गर्दै यस्तो सपना नदेख्न चेतावनी दिएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता महासेठले भने,‘राष्ट्रपतिमाथि महाभियोग लगाउने हल्ला यो त प्रोपोगाण्डामात्रै हो । यो सम्भव छैन । महाभियोग लगाउन त्यति सजिलो छैन । त्यति सजिलो भएको भए महाभियोग पहिल्यै आउँथ्यो ।’ 

उनले काँग्रेस, माओवादी केन्द्रलगायतका दलका नेताहरूलाई राष्ट्रपतिमाथि महाभियोग लगाएर मात्रै हेर्न चुनौती दिए । उनले भने,‘महाभियोग लगाएर मात्रै हेर्नुहोस्, त्यसपछिको स्थिति के हुन्छ ? हुन त उहाँहरूसँग सङ्ख्या पनि पुग्दैन । महाभियोग लगाएर मात्रै के गर्नु ? त्यो पारित हुन संख्या पनि पुग्नुपर्‍यो नि । पास हुँदैन ।’ तर, सभामुखमाथि महाभियोग लगाइए अवस्था के हुन्छ ? भन्दै उनले भने,‘धेरै साथीभाईहरु माथि पनि महाभियोग लाग्न सक्छ ? छोएर त हेर, लगाएर त हेर ? म चुनौती दिन चाहन्छु ।’ 

उनले माधव नेपाललाई अध्यक्ष केपी शर्मा ओलीसरहको जिम्मेवारी दिने सम्भावना शून्य रहेको दाबी गरे। उनले भने,‘कुनै पनि हालतमा माधव कमरेडलाई इक्वेल अध्यक्ष दिईँदैन् । यो सम्भावना शून्य छ । बरु आकाश खस्ला तर पार्टीमा बराबरको दुई अध्यक्ष हुन सक्दैन । हाम्रो पार्टीको विधानले पनि त्यो मिल्दैन ।’  

उनले अहिले माधव नेपाललाई अध्यक्ष दिने गरि पावर सेयरिङमा छलफल भइरहेको भनेर बाहिर चर्चा भए पनि त्यस्तो कुनै सम्भावना नभएको जिकिर गरे । उनले भने,‘बाहिर चर्चा भएजस्तो अहिले एमालेमा पावर सेयरिङबारे पनि कुनै छलफल भएको छैन । अर्को अध्यक्ष वा सह-अध्यक्ष दिनको लागि पनि हाम्रो पार्टीको विधान अधिवेशन हुनुपर्छ । माधव नेपाललाई केपी ओलीसरहको अध्यक्ष दिन सकिँदैन् । यो असम्भव कुरा हो ।’

उनले माधव नेपाललाई आम कार्यकर्ताले जस्तो मिडिया पेस गर्नुभन्दापनि लो-प्रोफाईलमा बस्न सुझाव दिए । उनले भने,‘एमालेमा मैले सबैभन्दा बढी सम्मान र माया गर्नै नेतामा माधव कमरेड नै हो । अहिले पनि गर्छु । एकताको लागि गम्भीर बन्नुहोस् । एकताको विकल्प छैन ।’  

नेता महासेठले एमालेको एकताको विकल्प नभएको भन्दै ढिलो-चाँडो एकता भई छाड्ने पनि दाबी गरे । उनले नेकपा (एमाले) बनाउनको लागि माधव नेपालको ठुलो भूमिका रहेको भन्दै आफ्नो पार्टीलाई कमजोर बनाउने गतिविधिमा नलाग्न पनि आग्रह गरे । उनले भने,‘एमाले बनाउन तपाईँको ठुलो भूमिका छ । अब अर्काको घरमा पेन्ट गर्न नजानुहोस् । आफ्नै घरलाई बलियो बनाउनतर्फ लाग्नुहोस् ।’ उनले अहिले देशी तथा विदेशी र प्रतिक्रियावादी शक्तिहरू एमालेको एकता नहोस् भनेर हात धोएर लागिपरेको भन्दै यसप्रति सबै नेता तथा कार्यकर्ताहरू सचेत हुनुपर्ने धारणा राखे । 

उनले एमालेमा फर्किँदा कतै नेता तथा कार्यकर्ताले अपमान गर्छन् कि भन्ने चिन्ता नलिन पनि आग्रह गरेका छन् । उनले भने,‘तपाईँहरूलाई पार्टीमा हामी उत्तिकै सम्मान गर्छौँ । यसमा कुनै द्विविधा नहोस् ।’ उनले एमाले कुनै पनि हालतमा विभाजन नहुने जिकिर गरे । उनले भने,‘नेपाली जनता, एमालेका समर्थक, शुभेच्छुक, कार्यकर्ता कसैले पनि एमाले विभाजन होस भन्ने चाहँदैनन् । यसप्रति सबै सचेत हुनुपर्छ ।’ अहिले एमालेको तल्ला तहदेखि माथिल्लो तहसम्मले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाललाई एकताको लागि दबाब दिएको पनि स्मरण गराए । नेता महासेठले अहिले पार्टी एकताको लागि अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल दुवै जना आन्तरिक छलफलमा रहेको पनि सुनाए । 

उनले पार्टीभित्र अहिलेको परिस्थिति सिर्जनामा हुनुमा २०७७ पुस ५ गतेतर्फ फर्कनुपर्ने सुनाए । उनले भने,‘जति बेला हामी पार्टीको स्थायी कमिटीको बैठक बसिरहेका थियौँ, यति वेला केही सांसदहरू संसद्को विशेष अधिवेशन बोलाउनको लागि राष्ट्रपतिकहाँ जानुभएको थियो, जुन कुरा बैठकमा थाहा भयो, त्यसबारे पनि व्यापक छलफल भएको थियो । साथीहरूले तत्कालीन प्रधानमन्त्रीमाथि अविश्वासको प्रस्ताव हाल्नेसरि संसद्को विशेष अधिवेशन बोलाउन माग गर्नुभयो, त्यही कारणले संसद् भङ्ग भएको हो । यो तितो यर्थाथ हो । अहिले बाग्मतीमा धेरै पानी बगिसेको छ ।’ देशी-विदेशी शक्तिहरूले पार्टी विभाजन गर्न चाहेको र पार्टीका बहुसङ्ख्यक नेता तथा कार्यकर्ताहरू फुटको विरोधमा उभिएकै परिस्थितिमा दोस्रो पटक संसद् विघटन भएको उनले शृङ्खला सुनाए । 

नेता महासेठले एमाले वरिष्ठ नेता माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसद् बचाउनको लागि आफूहरूले यो कदम उठाएको भनेर काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइएकोबारे टिप्पणी गर्नुमा पनि कुनै सत्यता नभएको दाबी गरे । उनले भने,‘यदि यो कुरामा सत्यता भएको भए एमालेको सांसदले आफ्नै पार्टीको सरकारलाई विश्वासको मत दिई हाल्थे नि । माधव नेपाल एमालेको सांसद हुनुहुन्छ। तर, उहाँको गतिविधि भने अरूले एमाले फुटाउन चाहेकोमा सहयोग पुर्‍याउने खालको देखियो । जुन अत्यन्तै विडम्बनापूर्ण छ । एमालेको सांसदले त एमालेको सरकारलाई विश्वासको मत दिनुपर्दथ्यो नि । तर, उहाँहरूले संसद् बचाउनको लागि अदालत गयौँ भन्नुभयो । यसमा कुनै सत्यता छैन । यो संसदीय राजनीतिक अभ्यासमा एउटा फोहोरी खेलबाहेक केही पनि होइन ।’ 

उनले एमाले एकताको विकल्प नभएको भन्दै यसको लागि सबै जिम्मेवारी हुनुपर्ने धारणा राखे । उनले माधव नेपाल पक्षको एक्सन नेपाली जनता र पार्टी पङ्क्तिले बाच गरेको पनि सुनाए । उनले पार्टी एकताको प्रयास भइरहेको बेला एकले अर्को समूहमाथि गालीगलौज गर्ने र शक्ति प्रदर्शन गर्ने काम गर्दा बनिरहेको वातावरण र विश्वासमा सङ्कट पैदा हुने भन्दै त्यसतर्फ सबै सचेत र गम्भीर बन्नुपर्ने पनि तर्क गरे । 


उनले युवा सङ्घ र युथफोर्स पार्टीकै जन वर्गीय सङ्गठन भए पनि अहिले प्रभु साहको नेतृत्वमा गठन गरिएको आइटी आर्मीको औचित्य नै नभएको र पार्टीले नचिन्ने टिप्पणी गरे । उनले भने,‘यसमा हाम्रो पार्टी एमालेको टाढा टाढाको पनि सम्बन्ध छैन ।’ उनले पार्टीमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालको विकल्प नभएको पनि जिकिर गरे । र, दोस्रो पुस्ताले हस्तक्षेप गर्ने कुरा पनि असम्भव भएको उनको टिप्पणी छ । 

उनले प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतको संवैधानिक इजलासले हालै दिएको फैसलाप्रति आफूहरूको रिजर्भेसन रहेको भए पनि आत्मसात् गरिएको सुनाए । उनले भने,‘तर, सर्वोच्च अदालतको इजलासले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्म र भावनाअनुसार फैसला गरेन भनेर जनताले टिप्पणी गरेका छन् । हुन पनि जनताले यो अपेक्षा गरेका थिएनन् ।’ उनले परमादेशबाट काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने भनेर फैसला आउनुभन्दा अघि नै कुरा चुहाइएको पनि उल्लेख  गरे । 

उनले भने,‘यो कुरा किन चुहाइएको थियो भने वातावरण बनाउन रहेछ, एमाले सर्वोच्च अदालतको फैसलाको विरुद्धमा छैन । र, जाँदैन पनि । हामीले त यो निर्णयलाई आत्मसात् गरिसकेका छौँ । तर, हाम्रो यसमा रिजर्भेसन छ । व्यक्तिगत रूपमा मेरो पनि कुनै कमेन्ट छैन । तर, जनताले प्रश्न उठाएका छन् ।’ उनले सर्वोच्च अदालतको फैसलामा प्रत्येक वाक्यमा राजनीतिक भाषा राखिएको पनि टिप्पणी गरे । उनले भने,‘त्यो भाषा पनि उहाँहरूको हो कि होइन ? त्यो पनि आँपै लेखेको हो वा अरूले लेखेर ल्याएको पढेर सुनाइयो ? संसारमा कुनै पनि अदालतमा राजनीतिक निर्णय हुँदैन । तर, सर्वोच्च अदालतको यो फैसलाले व्यवस्थापिका र कार्यपालिकामाथि आक्रमण गरेको छ ।’ उनले सर्वोच्चले संसद पूनःस्थापनामात्रै गरिदिएको भए जनताले पनि यसमा कुनै आपत्ति जनाउने थिएनन् भन्ने धारणा राखे । तर, रेफ्रीले खेल हेर्ने र अनुशासन हेर्नुपर्नेमा आँपै गोल गर्ने काम गर्नु गलत भएजस्तै सर्वोच्च अदालतले पनि व्यक्तिको नाम नै तोकेर प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिनु कतिको जायज हो ? भन्दै प्रश्न उठाए । 

नेता महासेठले काँग्रेस सभापति देउवा प्रधानमन्त्री बनेको आज दुई हप्ता बितिसक्दापनि अझैसम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेकोमा प्रधानमन्त्रीको आलोचना गरे । उनले भने,‘देउवाजी अदालतको परमादेशले प्रधानमन्त्री हुनुभयो । तर, सरकार गठन गर्न अझै सक्नुभएको छैन । कि मन्त्रिपरिषद् विस्तार गर्न पनि अदालतको फैसला आउनुपर्ने हो र ?’ उनले काँग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव, एमालेको माधव नेपाल समूह र जनमोर्चाको गठबन्धन धेरै लामो समय नजाने ठोकुवा गरे । उनले भने,‘उहाँहरूको यो गठबन्धन क्षणिक हो । उहाँहरूबिच विचारधारा नै मिल्दैन । हिजो काँग्रेस र माओवादीको पनि गठबन्धन हामीले हेरेकै हो । एमाले र माओवादीको गठबन्धन पनि धेरै लामो समय गएन । यो गठबन्धन त पद र प्रतिष्ठाको लागि मात्रै हो । यो लामो समय जाँदैन ।’

उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले गरेका कामको लोकप्रियता देखेर विपक्षी दल आत्तिएको पनि उनले विगत स्मरण गराए । उनले भने,‘त्यही भएर उहाँहरू हाम्रो सरकार ढाल्ने षड्यन्त्रमा लाग्नुभयो । उनले अहिले सत्तारुढ गठबन्धनमा मन्त्री बन्ने आकाङ्क्षीहरू धेरै रहेको पनि सुनाए । उनले भागबन्डाको विवादको कारण पनि वर्तमान सरकार धेरै लामो समय नजाने दाबी गरे । उनले भने,‘अब मन्त्री बन्नकै लागि त्यहाँ विद्रोह सुरु हुन्छ । यो गठबन्धन टुट्न धेरै समय लाग्दैन ।’ यद्धपी उनले आफूहरूले देउवा सरकारले संसद्को बाँकी कार्यकाल नै चलाओस् भन्ने चाहना राखेको भन्दै शुभकामना पनि दिए । उनले भने,‘देउवाजीले पूरा अवधि चलाउनुहोस् भन्ने हाम्रो शुभकामना हो । तर, उहाँले चलाउन सक्नुहुन्न ।’

नेता महासेठले आगामी चुनावसम्म ओली, माधव नेपाल र प्रचण्ड एकै ठाउँमा उभिने पनि खुलासा गरे । उनले भने,‘उहाँहरू मिल्नुको विकल्प छैन । कम्युनिस्टहरू मिल्नुपर्छ । हेर्नुहोस्, हिजो माओवादी केन्द्रलाई त हामीले जीवनदान दिएका हौँ । त्यो कुरा उहाँहरूलाई राम्रोसँग थाहा छ । त्यसैले हामी सबै कम्युनिस्ट एक ठाउँमा उभिनुको विकल्प छैन । हामी चाहन्छौँ कि सबै कम्युनिस्टहरू एक हौँ ।’ 

उनले निवर्तमान प्रधानमन्त्री ओलीले साँढे तीन वर्षको अवधिमा धेरै राम्रो काम गरेको दाबी गरे । उनले ८०-९० प्रतिशत राम्रो काम गरेको दाबी गरे । तर, काम गर्दै जाँदा दुई-चार वटा गल्ती भएको होला भन्ने उनको भनाई थियो । उनले ओली सरकारले नै कोभिड-१९ विरुद्धको खोपको व्यवस्था गरेकोले वर्तमान सरकारले यसमा उचित तवरले वितरण गरोस् र सबै जनताले भ्याक्सिन लगाउन पाउने वातावरण बनाउनुपर्ने पनि धारणा राखे । तर, भ्याक्सिनमा पोलिटिक् गरिए राम्रो नहुने उनको भनाई छ । 

उनले वर्तमान प्रधानमन्त्री जनादेशबाट नभई परमादेशबाट आएकोले लक्षण राम्रो नदेखाएको टिप्पणी गरे । उनले भने,‘उहाँ जनादेशबाट नभई परमादेशबाट आउनुभएको हो । अहिले उहाँ जनतामा जान पनि अप्ठ्यारो मानिरहनुभएको छ । देउवाले जनतालाई फेस गर्न सकिरहनुभएको छैन ।’
 



नयाँ